तिम्रो त्यो रसमाधुरी मिलनमा डाके मलाई पनि,
तिम्रो वाम किनारमा हृदयको राखे मलाई पनि।
तिम्रा निम्ति हुनेभएँ म दुलही लाली दली सुन्दर,
पोते विन्दु चुरा र गाजल टिका तिम्रै भरी सिन्दुर।
तिम्रा आनन-पद्मले वदनमा मायाँ लगाईकन,
देऊ चुम्बन अङ्कमाल दिलले आफ्नी बनाईकन।
वामाङ्गी हृदयेश्वरी शयनकी साथी बनाऊ तिमी,
तिम्रा त्यो थर गोत्रकी हुनसकूँ बाटो फुकाऊ तिमी।