सारा साउन पार्वतीमय बनी बालाहरू झुल्दछन्,
धर्ती प्रीतिकरा बनेर हरिया वृक्षावली रच्दछिन् ।
जम्मै शैव जटाटवी वसुमती गङ्गाहरू ल्याउने,
शोभा विस्तृत हुन्छ यो भुवनको लोकेश लोभ्याउने ।
यी जम्मै हरिया मुना तरु लता पाखा तथा टारका,
साक्षात् शैलसुता समान जगका हुन् औषधी रूपका ।
धर्ती हुन् जगदम्बिका भगवती आधार यो विश्वको,
छायाँ शीतलता दिने मनुजमा रक्षा गरी जीवको ।
