मिना चौलागाईं का केही मुक्तकहरूः

Mina, Chaulagain, मुना चौलागाईं, pallawa, पल्लव

मुना चौलागाईं

जिन्दगी जिवीत राख्न झस्काउनेहरू पनि भेटिन्छन्
दिक्क पार्न विनाकाम जिस्काउनेहरु पनि भेटिन्छन्
भेटिन्छन् यहाँ अनेक प्रकारका मान्छेहरू पाइलैपिच्छे,
रुख चढाएर फेद काट्न उक्साउनेहरू पनि भेटिन्छन् ।

सकारात्मक सोचको बास छ मनमा
त्यसैले होला सधै उल्लास छ मनमा
शिशिर या ग्रीष्म जेसुकै होस् बाहिर,
आफ्नो त सधै मधुमास छ मनमा !

 

हामी सबैको यो साझा धरामा
श्रम रोपेर फलाऔँ गरागरामा
रमाऔँ सदाझैँ हामी यो वर्ष पनि,
हाँस्दै खेल्दै हराऔँ हरा भरामा !

यो मन मुटु कसैलाई दिएर पो गल्ती भयो
बैगुनीको झुटो माया लिएर पो गल्ती भयो
मुखले ठिक्क मनमा अर्कै बास बसाउनेको,
सम्झनामा आँसु मात्रै पिएर पो गल्ती भयो !

दुख्दा तिमीलाई आँसु झर्छ मेरो
हाँसिदिँदा तिमीले भोक टर्छ मेरो
म सक्दिनँ तिमीलाई दु:खमा हेर्न,
तिमीलाई पीडा हुँदा देह मर्छ मेरो !

पोल्दछ बिरही धूनका कुराले
हुँदैन शितल जूनका कुराले
के जादु छ त्यो मीठो बोलीमा,
हराउँछ व्यथा उनका कुराले !

दिउँसै तारा झारिदिने बातले पो मार्यो
तिम्रो मन्द मुस्कानको मातले पो मार्यो
सँगै जिउने मर्ने कसम कसले सुन्नु यहाँ,
समाजको ठूलो सानो जातले पो मार्यो !

मनको कुहिरो हटाएर क्षितिज देख्नु परेकै छ
असत्यको राज्य माथि सत्य लेख्नु परेकै छ
मनका कति कुराहरू आफैँ भित्र दबाए पनि,
झिनो आशा जगाएर पीडा सेक्नु परेकै छ !

घाउ दिनेहरूको कमी छैन यहाँ खाटोको साथ छ सधै मलाई
लरखराउँदै जहाँ जहाँ पुगूँ म बाटोको साथ छ सधै मलाई
झुटो दुनियाँमा भर र विश्वास त मान्छेको लाग्दै लाग्दैन अचेल,
जीवन या मृत्यु जे होस् काख दिने माटोको साथ छ सधैँ मलाई!

जूनले जस्तै शितलता तिमीमा छर्न मन छ
तिम्रो मनमा इन्द्रेणीको झैँ रङ्ग भर्न मन छ
मेरो जीवन मेरो खुशी भन्नु सबै तिमी नै हौ ,
तिम्रै ओठको मुस्कान हेरी दङ्ग पर्न मन छ !

निस्वार्थ भावना त मोह त्यागेको कुनै सन्तमा पनि भेटिदैन
आफ्नोपन पराइमा के खोज्नु नजिकका आफन्तमा पनि भेटिदैन
आजभोलि मान्छे पशु बनेको त सजिलै देख्न सकिन्छ जताततै,
सायद पशुलाई मान्छे बनाउने उपाय कुनै ग्रन्थमा पनि भेटिदैन !

तिमीले यो कस्तो घात दियौ
ढल्दै नढल्ने लामो रात दियौ
आँखामा टिलपिल ताल अनि,
यादको अबिरल वर्षात् दियौ !

उसले अझै केही झुट सपनाहरू साँचिरहेछ
गहिरो चोट दिएर खुशी मनाउँदै बाँचिरहेछ
वचनवाणद्वारा मन मरेको पनि धेरै भैसक्यो,
अझै मनको चिहानमाथि निर्धक्क नाचिरहेछ !

सारै दु:खको बेला थियो एउटा हिरा भेटियो
शितल जल सम्झेर पिएँ त्यसमा मदिरा भेटियो
बारबार प्रहार भैरह्यो म छाती छामी नै रहेँ,
छाम्दाछाम्दै छातीभित्र मुटु चिराचिरा भेटियो !

किन टाढा हुन खोज्छौ रिसायौ कि कसो
मनको भारी अन्त कतै बिसायौ कि कसो
यो जुनी त तिम्रै भरमा कटाउँछु भन्थ्यौ,
आजभोलि अन्तै माया मिसायौ कि कसो !

शब्दहरूमा तिमी भरेर गीत लेख्ने मन छ
मुटुभरी तिमी नै अटाइ प्रीत लेख्ने मन छ
जताततै तिम्रै नाम गुन्जिएको सुन्न पाऊँ,
यी हातले सधै तिम्रो जीत लेख्ने मन छ !

तिम्रो बोलीसँग मैले लोली मिलाई दिनु पर्ने किन
फाटे फाटोस् तिम्रो खुशी सिलाई दिनु पर्ने किन
मेरोचाहिँ खुशी के हो महसुस गर्न सक्दैनौ भने,
तिम्रो निर्जीव मनमा प्राण दिलाई दिनु पर्ने किन !

मनमा डरको बास छ भने जताततै खतरा लाग्नेछ
वसन्तरूपी नजरमा यो संसार सधै हरा भरा लाग्नेछ
मनमा विश्वास र प्यार भरेर हेरे भने सबै पुरुषहरूले,
परस्त्री भन्दा आफ्नै घरकी श्रीमती अप्सरा लाग्नेछ !

निन्द्रामा पनि बर्बराउँदै उनकै तस्वीर छुन्छु अचेल
उनकै यादमा कहिले मुस्कुराउँछु कहिले रुन्छु अचेल
उनले त मेरो नाम बिर्सिसकेको पनि थाहा छ मलाई,
तर म जता जान्छु उनैले बोलाएको मात्र सुन्छु अचेल !

पाप थुपारेर मनभित्र मुजा गरिन्छ
फूल चुँडेर पत्थरलाई पूजा गरिन्छ
दुखाउन तोड्न खुशी मान्नेहरूबाट नै
अरुको कोमल मन नै धुजा गरिन्छ !

तिम्रो नाममा नालिस दिएँ दिलको अदालतमा
आजैबाट लिएँ तिमीलाई दिलकै हिरासतमा
दिल चोरेको आरोपमा मुद्दा चलिसकेको छ,
छुट्न पाउने छैनौ कुनै सर्त या जमानतमा !

Mina Chaulagain, मुना चौलागाईं

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.