वसन्त पराग

Dhundi, Raj, Aryal, ढुण्डीराज अर्याल, pallawa, पल्लव

ढुण्डीराज अर्याल

(नयाँ वर्षको शुभकामना सहित वसन्तोपहार)
कविका कविता दमदार खुले
नवयौवनका मधुमास फुले ।
रसराग पराग पिए जसरी
मधुमास मनाउँछ दिव्य चरी ।।१

वनका लतिका नव-कोकिलका
अधुरा निमुखा अब लेख्छु कथा ।
कति छन् दिलमा अनमोल खरी
सरिता नव निर्मल नाद परी ।।२

 

अनुहार जुहार चुमेर सधैं
म त फिर्छु सिधा वनकुञ्ज अझै ।
अभियान कतै पहिचान कतै
छु हिमाल पहाड र खोँच सधैं ।।३

छहरा पहरा वनका लहरा
लय कोकिलका कलिला मुजुरा ।
सुरिलो लयमा जब गाउँछ रे
वनकुञ्ज वसन्त उदाउँछ रे ।।४

हिमताल चिमाल गुराँस मुनि
घर आँगन फुल्छ हजार जुनी ।
सुषमा र सुगन्ध सुटुक्क जुटा
रतिराग र माद जुरुक्क उठा ।।५

अझ कोमल बैँस सुधा वसुधा
मधुराग अहो ! दिल छुन्छ उषा ।
मनमा वनमा नवपल्लवमा
वय थप्छ चरी नवजोश ममा ।।६

छन्दः तोटक
ढुण्डीराज अर्याल
२०७५/१२/३०

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.