‘वास्तविकता मेरो देशको’

Saraswoti, Gajurel, सरस्वती गजुरेल , pallawa, पल्लव

सरस्वती गजुरेल

वयस्क छोरोले खाडीमा पैसाको विरुवा कुरिरहँदा
वृद्ध बा–आमा मर्नुअघि हिरनको आशले छटपटिरहेछन्
स्याहार–सुसार त कहाँ हो कहाँ? एकादेशको कथा !
आफ्नै सुन्दरतालाई अभिशाप मान्दै
एसिडै एसिडको उपहार बोकीरहेछिन छोरी,
लेखिएका ती कानूनहरू सेता कागजमा
काला र चम्किला टल्किरहने अक्षरहरूले गिज्याई रहेछन् ।

ती स्वतन्त्रता अपहरित
अन्याय भोग्न विवश ती निर्दोष मनहरूले
हट्दै गएको केही रुढीवादी तर पनि
देखेर वाक्क छिन् मेरी नेपाल आमा,
भड्किलो परम्परा रीतिरिवाज अनि–

 

देखावटी आधुनिकताको खोक्रो नमुना
धमिराको देवलले खोक्रिएको काठजस्तै
भ्रष्टाचारी, घुसखोरी र अन्यायको मुस्लोले
ढाकिएको घुर्मैलो बादल छ मेरो देशमा
जस्ले शान्ति र न्यायको उज्जर प्रकाश छेकिरहेछ ।

जबर्जस्ती हटाए पनि बालविवाह
सामाजिक सञ्जालले भित्राएको विकृति
हाईफाई र शैक्षिक अन्धाहरूको बडापन
दाइजो र आडम्बरिताको विशाल त्यो माला
वृद्ध विधवा आमाले भिर्न विवश बोक्सीको पगरी
वृद्धाश्रमको त्यो बिलौनामय रोदनका आँशु ढिका
कठै! ती कलिला कर्णधार दिनदहाडै बलात्कृत हुँदा
अपराधीले उन्मुक्ति, पीडितले अन्याय पाएको देख्दा
बरु अन्धो अनि बहिरो बनाइदेऊ न भगवान् मलाई
कि त एक असल सपूत जन्माइदेऊ न देशलाई ।

विदेशीले दिनहुँ सिमाना मिचिरहँदा,
नेपाल आमाको छातीमा कुल्चिरहँदा
खाडीमा साठी डिग्रीको तापले जलेको मुटु
ढुकढुकी स्वास लिएर पर्खिरहेछ देश फर्कन भनी
रोहिरहेछिन हाम्री आमा भाक्कानिदै
आफ्नो कोख किन बाँझो भएन भनी
लुछाचुँडी गरी कुल्चिरहँदा आफ्नी आमालाई
टुलुटुलु हेरिमात्र रहने सन्तान किन जन्मे भनी ।

रोल्पाली मानेदाइले जब आन्नदले भुँडी भर्छन
तब तिमी खुशीले बेस्सरी हास्नेछ्यौ नि आमा!
पी.आर. धारी सन्ततिले जब निसङ्कोच चुम्नेछन्
आमाका फुटेका हात र बाबाका कोतरिएका खुट्टाहरु,
तव
डिग्री पासका सट्टिफिकेट सजावटी सामान बन्ने छैनन्
पी. एच. डी. धारीहरूले बहुविवाह, छोराको आश गर्दैनन्
विधवा आमा बोक्सी र बालिका बलात्कृत हुने छैनन्
मास्टरकी छोरीले निर्धक्क प्रेमीसँग बिहे गर्नेछिन्
फोहोर र प्रदूषण उडाएर लैजाने छ विकास लहरहरूले
अनि बल्ल मुसुक्क मुस्कुराउँदै हाँस्नेछ मेरो देश
सुन्दर फूलहरूले जस्तैगरी मगमगी बास्ना दिएर
हिमाल झैँ सेता हँसिला ती दन्तलहर देखाएर
हाँसी रहने छ मेरो देश, म त्यहि प्रतिक्षामा छु ।

Saraswoti Gajurel, सरस्वती गजुरेल
बेलकोटगढी–१०, नुवाकोट
(विज्ञान विषयको शिक्षिका कल्याणीदेवी माध्यमिक विद्यालय जिलिङ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.