सरस्वती अधिकारी पन्त का केही मुक्तकहरूः

Saraswati, Adhikari, Pant, सरस्वती अधिकारी पन्त, pallawa, पल्लव

सरस्वती अधिकारी पन्त

अलिकति डर खुरापाती हरूसँग छ
अलिकति डर आत्मघाती हरूसँग छ
प्रतिस्पर्धि हरूसँग त कहिलै गलिन म
धेरै डर त मलाई पक्षपातीहरूसँग छ ।

मेरो आफ्नै शहर म सँग बिरानो भएको छ
र युगौँ लगाएको लुगा झैँ पुरानो भएको छ
एकैछिन आएर चोट दिएर जान्छ्न सबैले
अचेल आदत पर्यो दिल अचानो भएको छ ।

 

हो ताकेर तिमीलाई नै तारो हान्छन
सकेसम्म दुखोस भनी सारो हान्छन
कदापी तिमी बिचलित हुँदै नहोउ मित्र
था’छ, फलेको हाँगोमा झटारो हान्छन ।

यात्रा हो जीवन उकालो आरालो आउँछ
कहिले तिरस्कार कहिले अगालो आउँछ
भयो दम्भ नदेखाउ तिम्रो क्षणिक शक्तिको
पृथ्वी गोलो छ मित्र सबैको पालो आउँछ ।

अनुपम यी सिर्जनाहरू मन पराए
एकैछिन यो कृतिम प्रकृतिमा रमाए
कस्तो अदभूत कला पोख्यौ तिमीले
मन्त्रमुग्ध हुँदै हेरे अनि यसैमा हराए ।

भो कहिलेकाहीँ त तिमीले अति नगर
कुरा मात्रै धेरै र काम अलिकति नगर
सबैले चिनिसके अब असली रूप तिम्रो
कुरा आदर्शका र व्यवहार सामन्ती नगर ।

तिमीपनी बेखवर भयौ समय सँगै
बिहे पछिको थर भयौ समय सँगै
जति प्रश्न सोधूँ कुनै जवाफ छैन
किन यति अनुत्तर भयौ समय सँगै?

तिमीसँग मात्रै धन छ म सँग हृदय छ
तिमीसँग त शक्ति छ म सँग बिजय छ
भो छोडिदेउ अब तिम्रा सबै अहंकारहरू
तिमीसँग मात्रै घडी छ म सँग समय छ ।

जिन्दगी हो सुखदुःख जिउन जान्नुपर्छ
च्यातियो कहि भनेपनि सिउन जान्नुपर्छ
कर्म गरि बीउ रोप्दा बीषै यदि फलेपनि
अमृतको स्वाद लिएर पिउन जान्नुपर्छ ।

लगानी भन्दा मुनाफा बढी बकाइदा खोज्छौ
बिर्सन्छौ अरुबेला आफूलाई चाहिदा खोज्छौ
जब सङ्गत भयो अनि मात्रै पो पहिचान भयो
तिमी ब्यापारी हौ सम्बन्धमा फाइदा खोज्छौ ।

केही असर गरेको छैन तिम्रो निसाफले
जीवन चलिरहेछ आज आफ्नै हिसावले
मेरा खुशीहरू सानै कुरामा पनि भेटिन्छ
यही कुरा देखाउँछ अनुहारको कितावले ।।

रोपेपछि पक्कै फल्छ छरे के हो के हो
पर्खेपछि हुन्छ भेट सरे के हो के हो
दुई दिनको जिन्दगानी टुंगो छैन केही
अहिलेसम्म ठिकै छ भरे के हो के हो ।।

थाहा थियो यो मौसम यो समय हर प्रहर वदलिन्छ
तिम्रो उमेरसँगै यो बस्ती अनि तिम्रो शहर वदलिन्छ
यी वदलाब त्यति सहज र द्रुत छैनन होला सायद
जति छिटो मानिसको मन नियत र नजर वदलिन्छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.