उधिँनढुंगा

Radha, Pandey, राधा पाण्डे, pallawa,पल्लव

राधा पाण्डे

मेरो वालापन
गोठ छेउमा राखिएको
त्यो ढुंगाको कथा सुनेर बित्यो
सायद त्यही करेसामा
दुई पुस्ता छिचोल्यो
त्यो उधिँन ढुंगाले !

हजुर आमा भन्नू हुन्थ्यो –
यस्लाई पखालि रहनुपर्छ
धुलो मैलो जम्न दिनु हुदैन
अनि बल्ल धार लाग्छ
कर्मका हतियार चम्काउँछ – यस्ले
यो उधिँन ढुंगा हो ।

 

समय सापेक्ष
विकाशको गतिसंगै
डोजरले घुचटिएर
साँईलाबाको बारीमा
अलि तल
पिपलको फेदमुनि पुग्यो
त्यो उधिँन ढुंगा !

हुनसक्छ !
पिपल पूजामा गएकी कुनै गृहेणीले
त्यो ढुंगामा अविर छर्किएकी
त्यही क्रमले सायद
पूजिदै गयो त्यो उधिँन ढुंगा !

आज ,
यही समाजका मान्छेहआ
फूल अक्षता लिएर
मनोकांक्षा पुराहुने आसमा
त्यही ढुंगा पुजिरहेछन्

यथार्थ बुझ्नेहरू
हतियार उधाँउँछन् -त्यो ढुंगामा
नबुझ्नेहरू फूल प्रसाद चढाउँछन् – त्यो ढुंगामा

हिजो आज यो समाजमा
ढुंगा विषयमा मत बाझिन थाल्यो

यही गाउँका
यही समाजका मान्छेहरू
विभाजन हुन थाले
कुनै निकायबाट
मध्यस्थता हुन सकेन
दुई पक्ष खडा भए
ढुंगा पुज्ने र ,
धार लगाउने विच
झन् झन् बढ्यो हिंसा
अन्ततः
धर्म विरोधी भनी
गिरफ्तार गरियो मलाई

मेरो विरुद्धमा
सरकारी बर्दि मनोमानी मच्चियो
गर्जिएपछि शक्तिवाला बर्दि
अनि मैले भनें –
हजुर !
पुर्खाको मायले
मैले त्यो ढुंगा छोएर
जीवन उधाँउँथें
जहान केटाकेटीलाई पनि
ममताको पाइन भर्न लान्थें
त्यही ढुंगाको आधारले
मैले जीवन घुचटिरहेको थिएँ
मेरो गल्ती यत्ति हो – हजुर !

बर्दिको उन्मादले हुँकार छोड्दा
फेरि म बोल्थें –
ए हजुर !
मेरो हजुर आमा भन्नू हुन्थ्यो –
यस्मा धुलो मैलो जम्न दिनु हुँदैन
त्यसैले ,
बेलाबेलामा म पखाल्छु-त्यो उधिँन ढुंगा र,
मेरो जिन्दगीमा खुसीको धार लाउने गर्छु
मेरो गल्ती भयो र हजुर !
मेरो गल्ती यही हो हजुर !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.