हिरा भट्ट का चार कविताः

Hira, Bhatta,हिरा भट्ट ', pallawa, पल्लव

हिरा भट्ट

१) होली नआओस् अब
सम्झी बादल लाग्न खोज्छ गहमा काँप्छन् परेलीहरू
फुल्दैनन् किन खै बगान बिचका कैयौं चमेलीहरू
खुल्दो आगतले व्यथा विगतको घोली नआओस् अब
मेरो आँगनमा बगी रगतको होली नआओस् अब
।१।
कैयौं जीवन टल्किने जल बनी छन् कर्कलो-पातमा
आँखामा सपना,खुसी अधरमा,छैनन् चुरा हातमा
भो सिन्दूर चुरा बगाउन कुनै खोली नआओस् अब
मेरो आँगनमा बगी रगतको होली नआओस् अब
।२।

 


जल्दैछन् कति अग्निमा कहरका निर्दोष डोलीहरू
ढल्दैछन् कति कोपिला सरहका आक्रान्त चोलीहरू
ज्यादै दुर्बल उध्रिने समयको चोली नआओस् अब
मेरो आँगनमा बगी रगतको होली नआओस् अब
।३।
प्यारो देश चिथोर्दछन् लुकिलुकी निर्लज्ज बोलीहरू
हान्दैछन् कति देशको वदनमा लोला र लोलीहरू
नेपालीपन झस्किने नियतको लोली नआओस् अब
मेरो आँगनमा बगी रगतको होली नआओस् अब
।४।
एकैसाथ मिली बसून् हृदयमा रारा र फेवाहरू
डाकोस् आगतका सफा गगनले सेता परेवाहरू
बोकी बन्दुक बुद्धको अवनिमा गोली नआओस् अब
मेरो आँगनमा बगी रगतको होली नआओस् अब
।५।
छन्द: शार्दूलविक्रीडित

२) भर्ना मलाई गर
ढुङ्गा हान्न सिपालु हूँ सडकमा, मानिन्न केही भय
उफ्री टायर बाल्न सक्छु सजिलै,भो जान्न विद्यालय
ताली ठोक्छु सुनेर भाषणहरू,जम्मा गरी चाकर
नेताज्यू यति योग्यता छ, दलमा “भर्ना मलाई गर”
।१।
पट्टी बाध्दछु नेत्रमा गफ दिँदै आकाश झारेँ भनी
पार्टीको जयकार मात्र गरुँला जुम्रा नमारे पनि
टाढा नैतिकता लुकाउँछु सबै,के धर्म के को डर?
नेताज्यू यति योग्यता छ दलमा “भर्ना मलाई गर”
।२।
खोलामा नदमा सयौं पुलहरू बन्ने जनाई दिने
खोला छैन भने छुमन्तर गरी खोला बनाई दिने
तातो भाषण गर्छु वीररसमा जम्मा गरी जाँगर
नेताज्यू अब योग्यता पुगिसक्यो “भर्ना मलाई गर”
।३।
काला काग सरी समस्त जनता आशा गरून् बेलको
विद्यावारिधि योग्यता सरह भो मौका मिले जेलको
खाली बस्नु छ रोजगार नभई लक्ष्मी छ तिम्रै भर
नेताज्यू अब योग्यता पुगिसक्यो, “भर्ना मलाई गर”
।४।
गर्ने गर्छ दिसा बसी नजिकमै, देख्दा भने लाज छ
जस्तो अस्ति,हिजो व्यथा मुलुकको उस्तै व्यथा आज छ
नेताज्यू अब दीप भै मुलुकमा आलोक नौलो छर
ए साथी अबदेखि भन्नू नपरोस् “भर्ना मलाई गर”
।५।
छन्द: शार्दूलविक्रीडित

३) ‎पार्टी प्रवेश परीक्षा
ढुङ्गा हान्न सिपालु हूँ सडकमा, मानिन्न केही भय
उफ्री टायर बाल्न सक्छु सजिलै,भो जान्न विद्यालय
ताली ठोक्न म सक्छु भाषण सुनी,जम्मा गरी लस्कर
नेताज्यू यति योग्यता छ, दलमा “भर्ना मलाई गर”
।१।
पट्टी बाध्दछु नेत्रमा गफ दिँदै आकाश झारेँ भनी
पार्टीको जयकार मात्र गरुँला जुम्रा नमारे पनि
झोला बोक्छु सँगै रही हजुरको,निर्धक्क यात्राभर
नेताज्यू यति योग्यता छ दलमा “भर्ना मलाई गर”
।२।
खोलामा नदमा सयौं पुलहरू बन्ने जनाई दिने
खोला छैन भने छुमन्तर गरी खोला बनाई दिने
तातो भाषण गर्छु वीररसमा जम्मा गरी जाँगर
नेताज्यू अब योग्यता पुगिसक्यो “भर्ना मलाई गर”
।३।
काला काग सरी समस्त जनता आशा गरून् बेलको
विद्यावारिधि योग्यता सरह भो मौका मिले जेलको
खाली बस्दछु रोजगार नभई लक्ष्मी छ तिम्रै भर
नेताज्यू अब योग्यता पुगिसक्यो, “भर्ना मलाई गर”
।४।
गर्ने गर्छ दिसा बसी नजिकमै, देख्दा भने लाज छ
जस्तो अस्ति,हिजो व्यथा मुलुकको उस्तै व्यथा आज छ
नेताज्यू अब दीप भै मुलुकमा आलोक नौलो छर
जिब्रोले अबदेखि भन्नु नपरोस् “भर्ना मलाई गर”
।५।
छन्द: शार्दूलविक्रीडित

४) विश्वबन्दको आव्ह्वान
सानो स्वर्ग समान स्वर्णनगरी सानो छ नेपाल यो
लाग्यो धार ठुलो ठुलै छ खुकुरी सानो अचानो भयो
छैनन् राम बने विभीषण सयौं खल्लो छ रामायण
राखी हिम्मत विश्वबन्द गरियोस् बिन्ती छ नेतागण
।१।
देख्दा द्वन्द समाजमा दिनदिनै छन् बुद्ध नै घाइते
मात्रै सीमित देशको परिधिमा गर्जेर बर्षौ बिते
सारा विश्व चिमोट्नुपर्छ अब लौ चर्को छरी भाषण
राखी हिम्मत विश्व बन्द गरियोस् बिन्ती छ नेतागण
।२।
नाङ्गो बस्दछ छेउको सिमल पो सुम्पेर जम्मै भुँवा
मात्रै आँसु नियाल्दछन् बगरका गिट्टी तथा बालुवा
“जिन्दावाद”मसालका सँगसँगै होस् शब्द उच्चारण
राखी हिम्मत विश्व बन्द गरियोस् बिन्ती छ नेतागण
।३।
हावा बन्द रहोस् सधैं जलसँगै आकाश झन् बन्द होस्
पृथ्वी बन्द र तेज बन्द गरियोस् पन्चत्व नै बन्द होस्
यो मेरो अधिकार बन्छ भनियोस् सोध्दा कतै कारण
राखी हिम्मत विश्व बन्द गरियोस् बिन्ती छ नेतागण
।४।
खुर्पाको बिँड हो कि उच्च तहको श्रीखण्ड आफै चिन
पग्लेको छ मसी धरातल पसी सन्देश सानो दिन
ओभानो गह रोज्दछन् नयनमा पग्ली बसेका कण
भैगो लौ अब बन्द बन्द गरियोस् बिन्ती छ नेतागण
।५।
छन्द: शार्दूलविक्रीडित
रचनाकार: हिरा भट्ट
जन्मस्थल: पञ्चेश्वर- ६, बिजुल, बैतडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.