चाँदनी अर्यालका केही मुक्तकहरूः

Chandani, Aryal, चाँदनी अर्याल, pallawa, पल्लव

चाँदनी अर्याल

मुक्तक– १,
नीति नियम कानून सबै लत्याएर गए
मनपरीतन्त्र चल्दा ढुकुटी बत्याएर गए
जुनैयोगी आएपनि कानै चिरेका भने झैं
आमाको चोक्टा लुछी हड्डी मिल्काएर गए ।

मुक्तक– २,
ग्याँस पाइप पानी जहाज चाहिएन सरकार
पुरा नहुँदै भत्किने सडक चाहिएन सरकार
दिएर सपना छुने चन्द्रमा हामी जनतालाई
गरिवीले त नून समेत पाइएन सरकार ।

 

मुक्तक– ३,
दिन दुईगुणा रात चारगुणा बजार महँगीदै गए
गणतन्त्रको उपहार आफ्नै दूनो सोझ्याउँदै रहे
तिम्रो कहाली लाग्दो सरकारी नीति के हो यस्तो
धनी अझै धनी हुँदै गए अनि गरीव मर्ने भए ।

मुक्तक– ४,
आमाको मन छियाछिया पार्दैछौ किन
एउटै घरको छानो चुल्हो बार्दैछौ किन
भाइ फुटे गवार लुटे उखान बिर्सिएर
आफ्ना पर पराई नजिक सार्दैछौ किन ?

मुक्तक– ५,
देशलाई केही गर्नेहरूको खुट्टा तानिए यहाँ
चोरलाई चौतारी साधु जति बानिए यहाँ
राजतन्त्र भन्दा खतम भयो गणतन्त्र आज
देश द्रोहीहरू नै सच्चा देशभक्त ठानिए यहाँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.