सृजना सरोवर का केही टुक्रा रचनाहरूः

, Shreejana, Sarovar, सृजना सरोवर , pallawa, पल्लव

सृजना सरोवर

१) टिलपिल टिलपिल नयन भरिन्छ ।।

वरपर सब तिर रहर छरिन्छ ।
मनसँग मन जब चुलबुल हुन्छ ।।
मगमग मगमग पवन वहन्छ ।
सरगम सुमधुर अधर झुमिन्छ ।।

प्रिय मन विगत पनि गर न याद ।
किन अझतक पर पर पर साथ ।।
अलमल अलमल अलमल हुन्छु ।
अधिर अधिर अधिर अधिक बन्छु ।।

 

प्रिय मन जब जब अति पर हुन्छ ।
हरपल पलपल हृदय चुडिन्छ ।।
नजिक नजिक तब कहर बढेर ।
सुख जति सब पर पर पुगिदिन्छ ।।

अघिअघि कति कति वचन गरिए ।
वचन सँगसँगै त कसम दरिए ।।
जब जब जब मन अनुनय गर्छ ।
वचन फगत फगत कुटिल बन्छ ।।

अब बुझ जन सब झुट छ अबनी ।
सब सब सब झुट छ पृथक जननी । ।
सकस सकस सकस भइ दिन्छ ।
टिलपिल टिलपिल नयन भरिन्छ ।।
छन्द: मृदुला

२) नारी
नारी शक्ति तिमी तिमी मनुजकी संस्कारकी दामिनी ।
भार्या हौ युगकी तिमी सुरसिली हौ प्रेम संजीवनी ।।
तिम्रा कोमल हातबाट युगको गाथा नयाँ लेख्दछ्यौ।
न्यानो आँचलले सबै किसिमका पीडाहरू छेक्दछ्यौ।।

तिम्रो साहसको बयान कसरी गर्लान् र ब्रह्मा पनि ।
धर्ती हौ नभ हौ हिमाल छहरा यो सृष्टि मान्छु तिमी ।।
साक्षात् ईश्वरको सुरम्य रचना लालित्यकी मूल हौ ।
सारा विश्व सिँगार्न सक्षम तिमी सौन्दर्यकी फूल हौ ।।

३) मुक्तक
तिम्रो खुसीलाई नै मैले आफ्नो लक्ष ठानेकी छु ।
जहाँ तिमी रमाउँछौ आफ्नो खुसी पाएकी छु ।
जित जति संसारकै कदम तिम्रा चुमिरहुन् ,,
तिम्ले जित्दा लाग्दैन कि मैले कहिल्यै हारेकी छु ।।

४) पराकाष्ठा भयो आखिर
आयो शान्ति भनी यहाँ मुलुकले निश्वास फेर्दै थियो ।
भित्री द्वन्दहरू समाप्त बनिए मस्तिष्क ठान्दै थियो ।।
के हुन्थ्यो र यहाँ समाप्त रण यो संग्राम भो सिर्जना ।
पड्कन्छन् बम बारुदी सुरु भयो फुत्केर जाऊँ कहाँ ।।

काला ती जनयुद्धका दिनहरू आलो बनाई दियो ।
कस्तो काल यहाँ उपस्थित भयो यो राष्ट्र मास्ने भयो ।।
सम्झौता त अनेक नै मनुजले सक्दो गरेकै थियो ।
नाङ्गो पूर्ण भएर यो समरमा चुर्लुम्म डुब्ने भयो ।।

एकैरत्ति रहेन है सहजता अत्यासमा छन् मन ।
राजाको प्रतिविम्बमा प्रकट छन् नेतृत्वदायी जन ।।
काटे कष्ट सदैब यो मुलुकको रक्षार्थका खातिर ।
भोग्दा धेर अनिष्ट लौ अब पराकाष्ठा भयो आखिर ।।
छन्द:- शार्दूल्विक्रीडित

५) गजल
यदाकदा गल्ती भएछ महान सम्झिएर।
खुराफाती लाई बिल्कुल अन्जान सम्झिएर।।

बुझिंदैन रै’छ भाषा चिल्ला कुरा गर्नेहरूको ,
चिप्ल्याएको थाहै हुन्न रै’छ गुणगान सम्झिएर ।।

सहानुभूति दिलाउँछन् समवेदना व्यक्त गर्दै,
मुटु भित्रै भाला रोप्दारै’छन् नादान सम्झिएर ।।

अविरल बर्सिएर गह बग्दै नाइल बन्छ तर,,,
धोइँदैन गुमाएको आत्मपहिचान सम्झिएर ।।

मनमन्दिरमा सजिएको ढुंगाको ईश्वर तिमी ,,
खाली गर्देऊ यो मस्तिष्क रछान सम्झिएर ।।

६)
रहेन धर्म कर्म नै जताततै दलाल भो ।
गरीब पिल्सिए सधैं र न्यायको हलाल भो ।।
डुबे गरीब पीपमा सडे सधैं गुलाम भै ।
रुँदै छ शान्ति देशमा अधर्मको लगाम भै ।।

सधैं अँधेर भो यहाँ हुँदैन आश शुभ्रको ।
र आश के रहन्छ खै पुच्छर बनेर छुद्रको ।।
तमाम लामबद्ध छन् भएर मूकदर्शक ।
अवाक छन् सबै यहाँ छ जिन्दगी निरर्थक ।।

छ नाम पत्रपत्रमा गरीबका उत्थानमा ।
र राष्ट्रको बजेट चैं छ माफिया उद्यानमा ।।
गरेर पान रक्त औ गरीब मांस भक्षण ।
सुधार भो कता कता रचेर मात्र दर्शन ।।

भएन लागु ऐनका कुरा कतै यथार्थमा ।
छ व्यर्थ भन्नु ऐन नै कहाँ छ खै र देशमा ।।
लुछिन्छ त्यै गरीब नै चुसिन्छ त्यै गरीब नै ।
लुटिन्छ त्यै गरीब नै चुटिन्छ त्यै गरीब नै ।।

सहाय देवता भनी उँभो उठाइ टाउको ।
गरेर आश ईशको खपेर पीर दुष्टको ।।
बिते कयौं गुलाम भै अनेक कालचक्रमा ।
भएन देवता प्रत्येक्ष ती रुवाइको पुकारमा ।।

उठौं सबै बिरोधका लिऔं चिराग हातमा ।
उनेर एक सुत्रमा बनाउँ हार साथमा ।।
खुलाइ व्योम देशको उदाउँ एक शुभ्र त्यो ।
उठाउँ देशको ध्वजा घसेर मृत्तिका अहो ।।

सृजना सरोवर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.