भवानी खतिवडाका केही टुक्राहरूः

bhawani, khatiwada, भवानी खतिवडा, pallawa, पल्लव

भवानी खतिवडा

१)
जहाँ पोलियो चम्किने झन् सुवर्ण
तपस्वीहरूको कहाँ जात वर्ण
बने बुद्ध नामी खपी घाम-पानी
विना त्याग सङ्घर्ष के जिन्दगानी !!
२)
चाणक्यनीति केही पद्य भावानुवाद
अँध्यारो निल्छ बत्तीले र गाजल निकाल्दछ ।
जस्तो आहार भो उस्तै हाम्रो सन्तान बन्दछ ।।

उखुले गुण छोड्दैन टुक्र्याऔँ जत्ति तैपनि ।
सुन झन् चम्किलो हुन्छ आगोमा पोलिए पनि ।।

फूलले छर्दछन् बास्ना गरौँ जत्ति किचीमिची ।
गुणी गुण बदल्दैनन् जस्तै आओस् परिस्थिति ।।

 

सर्प दुर्जनमा श्रेष्ठ सर्प हो हैन दुर्जन ।
सर्प एकपला डस्छ, दुष्ट डस्छ प्रतिक्षण ।।

हो कामधेनु झैँ विद्या,दिने फल अकालमा
यो गुप्त धन मानिन्छ,आमातुल्य प्रवासमा ।।
३)
सानो सानो लक्ष्य बोकी पुग्ने कहाँ होला
त्यसैमाथि गह्रुङ्गो छ अज्ञानको झोला
बगेका छन् जताततै चेतनाका खोला
खोला तर्न नजानेरै जाने हो कि चोला !!

पाउजु लाउने पाउ हाम्रा चुरा लाउने हात
जन्मले नै ठगिएका नारीको हो जात
यस्तो सम्झी बसे कहाँ मिल्ला सफलता
हिम्मतैले पासाङ दिदी चढिन् सगरमाथा !!

४) चक्रव्यूहहरू तोडौँ
जात एकै छ नारीको वरको परको नभै
उत्पीडन सबैको हो तेरो मेरो नभै कतै
हिंसाका बल्दछन् लप्का हामीमाथि अझै पनि
सबैका दुःखमा दुख्छौँ जसलाई परे पनि ।।

नखोजी फूलको बाटो काँडा टेकी हिँडेपछि
हामी हौँ अबला भन्ने भाव त्यागी बढेपछि
हामी ज्वालामुखी बन्दै विस्फोट हुन सक्तछौं
न्याय-अन्यायका खाल्डा सजिलै पुर्न सक्तछौँ ।।

सुख,शान्ति र आशाका नौला दीप जलाउँदै
प्रभाती रविको ऊर्जा बटुली जुर्मुराउँदै
छाउका घरलार्इ नै पाठशाला बनाउँला
चेतनाको छरी बीज अँध्यारो चिर्न जाउँला ।।

शिलालाई खियाएर जलले मार्ग खोल्दछ
वीरले भाग्यको रेखा आफूले नै बदल्दछ
बोकी विचारका अस्त्र साहसी बन्नुपर्दछ
समस्या जति नै आउन् धैर्यले जित्नुपर्दछ ।।

न्यायको आसमा बस्दा निराशा मिल्न सक्तछ
आत्मविश्वास बोकेर हिडे जीत अवश्य छ
चक्रव्यूहहरू तोडी बनी सङ्कल्पमा स्थिर
उत्साही पाइला हाम्रा लम्काऔँ चुचुरातिर ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.