विष्णु तिमिल्सिना का तीन गजल

Bishnu, Timilsina, विष्णु तिमिल्सिना, pallawa, पल्लव

विष्णु तिमिल्सिना

गजल– १,
खोज्दिन भो लाखौंलाख सय भित्रै रमाउँला
संघर्षमा ज्युँन सकूँ भय भित्रै रमाउँला ।

हाँस्न खोज्ने ओठहरू कर्म गर्ने निधारमा
चाहिदैन अबीर जात्रा जय भित्रै रमाउँला ।

मादल झै निरन्तर मुटु हुन्छ ढुकढुक
गाऊ गीत पिरतीका लय भित्रै रमाउँला ।

 

दु:ख संग जुध्नुपर्छ बाधालाई झेल्नुपर्छ
रसदार भोजन हैन पय भित्रै रमाउँला ।

स्वाभिमानी बन्नुपर्छ सत्यलाई अङ्गालेर
पसिनाले भिजोस शरीर क्षय भित्रै रमाउँला ।

गजल– २,
आज औधीं रमाकी छ्यौ खुलेको छ अनुहार
गर्भभित्र बच्चा सरी भुलेको छ अनुहार।

बिस्मातको दाग छैन पूर्णिमाको जून जस्तो
धानको बाला नुहे सरी झुलेको छ अनुहार।

प्रकृतिले रङ्ग भरी उमङ्गको वास्ना छरी
यतचित्त अमृतले घुलेको छ अनुहार ।

दङ्ग भई पुतलीका पखेटाले फूलहरू
हल्लाउदा फकृएझै फुलेको छ अनुहार।

बिहानीको उषा किरण छरिएर शरीरमा
धप्प धप्प उज्यालोमा डुलेको छ अनुहार।

यस्तो लाग्छ जन्मदिन मनाउन लागेकी छ्यौ
दिब्य कान्ति आई स्वयम् हुलेको छ अनुहार ।

गजल– ३,
सरल छ मिठास छ बानी झनै राम्रो लाग्यो
यतै हेर्ने नयनका नानी झनै राम्रो लाग्यो ।

मधुवाणी स्वर लय शितल छ ब्यबहार
अमूल्य त्यो ममताको खानी झनै राम्रो लाग्यो।

छैन खोट कहि कतै आदर्शको मूल धार
सभ्य सौम्य आह कूलको पानी झनै राम्रो लाग्यो।

हिम्मत छ साहस छ जोश अझै कम्ती छैन
दूरदर्शी बिचारको मानी झनै राम्रो लाग्यो ।

भाग्यमानी पर्वतकी गिरिसुता दिब्याङ्गना
सदाचारी हृदयकि रानी झनै राम्रो लाग्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.