बाँसका खुट्टा . . . . .

Bhabkeshor, baral, भावकेशर बराल, pallawa, पल्लव

भावकेशर बराल

बाँसका खुट्टा
म सानो छँदा
गाउँका दाइहरू
बाँसका टुप्पा काट्थे
आँख्ला राख्थे
र, तिनै आँख्लामा टेकेर
हिँड्थे, टुकुटुकु ।

कयौँ पटक
तिनै बाँसका खुट्टाहरू चोरेर
हिँड्न खोजेको छु- म पनि
र, कयौँ पटक
लडेको छु- बासँका खुट्टामा नअडिएर ।

 

देख्दा रमाइलो हुँदोरहेछ
बासँका खुट्टामा हिँड्न
सुन्दा अनौठो हुँदोरहेछ
बासँका खुट्टा टेकेर हिँड्नु ।

सर्कसमा बाँसका खुट्टा टेकेर हिँडेको
देखेको छु- मैले
सर्कसमै दर्शकले रमाई रमाई हेरेको
देखेको छु- मैले
बाँसे खुट्टामा बानी पर्नेहरू
कति सजिलै अड्दारहेछन्- टेकोमा
बाँसे खुट्टामा भर पर्नेहरू
कति सजिलै चड्दारहेछन्- टेकोमा ।

बाँसका खुट्टा टेकेर हिँड्नेहरू
सक्दारहेनछन्- भुइँमा खुट्टा टेक्न ।

आज बुझ्दै छु-
आधार नभए पनि
मक्किए पनि
र, लडे पनि
बाँसको खुट्टामा हिँड्न बानी परेकाहरू
कति सजिलै उभिँदारहेछन्-
बाँसे खुट्टामा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.