नारायण प्रसाद पौडेल का तीन कविता

Narayan, Prasad, Paudel, नारायण प्रसाद पौडेल, pallawa, पल्लव

नारायण प्रसाद पौडेल

१) वैराग्य
वैराग्य आध्यात्मिक चेतना हो
वैराग्य हो बौद्धिक धारणा हो
वैराग्य यो चिन्मय चिन्तना हो
वैराग्य सान्सारिक सान्त्वना हो ।।१।।

वैराग्य खानी खन सिर्जनाको
वैराग्य पानी बन तिर्सनाको
वैराग्य दानी मन भावनाको
वैराग्य ज्ञानी गुण साधनाको ।।२।।

 

वैराग्य ऊर्जा बन धर्यताको
वैराग्य दर्जा बन उच्चताको
वैराग्य चर्चा बन शुद्धताको
वैराग्य चर्खा चर सभ्यताको ।।३।।

वैराग्य ब्रम्हा भवको सिरान
वैराग्य आभा सुन झैँ विहान
वैराग्य मीठो जलको मुहान
वराग्य हो जीवनको उठान ।।४।।

वैराग्य ढोका मनको उघार
वैराग्यले चेतन यो सुधार
वैराग्य हो श्लील सफा विचार
वैराग्य हो भूषणमा जुहार ।।५।।
छन्द- इन्द्रवज्रा

२) जीन्दगीको विहानी
वर्षा हो यो जल सगरको वर्षिनेँ जिन्दगानी
माछो हो यो सुक बगरको तड्पिनेँ जिन्दगानी
तेरो मेरो हर समरको जिन्दगी हो कहानी
सम्झी रुन्छे दिन विगतका आज मेरी विहानी ।।१।।

सोच्दासोच्दै कतिपय कुरा सम्झिएँ अल्प अल्प
रोज्दारोज्दै दिन बितिगयो जिन्दगीको विकल्प
डुब्दाडुब्दै रस विविधमा पल्किएको मिठास
ढल्की जाँदा वय समयको हार भै गो हताश ।।२।।

संख्या आए अगणित बनी शून्यतामा हराए
खोज्दाखोज्दै लय विलय भै शून्यतामै बिलाए
थाप्दै मैले सुख अलिकता हात केही उठाएँ
पाएँ मैले अनुभव नयाँ चित्त केही बुझाएँ ।।३।।

मर्दापर्दा भर अभरमा साथ नौला बनाएँ
हर्ताकर्ता प्रभुचरणमा माथ राखेँ चढाएँ
पाएँ होला कति सुजनका साथ व्यर्थै गुमाएँ
गाएँ होला अति कठिनका गीत साथी बनाएँ ।।४।।

आए केही रहर लहडी खित्त हाँसे हँसाए
कैले झारे तलतल झरेँ फेरि फुत्तै उठाए
बग्दाबग्दै तरल गतिमा जिन्दगीको कहानी
सम्झी रुन्छे दिन विगतका आज मेरी विहानी ।।५।।
छन्दः मन्दाक्रान्ता

३) साझा मझेरी
फर्की आऊ उजेली चिर्न कालो अँधेरी
फर्की आऊ विहानी भर्न पानी पँधेरी
अग्ला होचा हिमाली शैल पाखा पखेरी
न्यानो लाग्ने तराई फाँट साझा मझेरी ।।१।।

धाँजा फाट्यो मझेरी भाग लाग्यो पखेरी
रेखा कोर्दै गुलेली हान्न थाल्यो सिकारी
पुर्खा गर्छन् गुनासो वीरगाथा हरायो
पुर्खा गर्छन् गुनासो वीर छोरो डरायो ।।२।।

बिर्ता होला कसैको अंश बण्डा लगाऊ
नाफाखोरी दलाली देश खोक्रो बनाऊ
चोक्टा चोक्टा बनाऊ टन्न खाऊ अघाऊ
बाँकी कर्जा लगाऊ ब्याज चर्को उठाऊ ।।३।।

धोती टोपी विराना मित्र वैरी बनाऊ
चुच्चे थेप्चे लडाऊ नाक वैरी बनाऊ
भाषा भाषी स्वदेशी गैर भाषी बनाऊ
माटो सीमा लुटाऊ देश दासी बनाऊ ।।४।।

कोही आऊ बचाऊ काँध लाऊ उठाऊ
टुक्रा टुक्रा पगाली एक ढिक्का बनाऊ
हातेमालो लगाऊ प्रेम धारा बगाऊ
मेचीकाली जुटाऊ साँध बेरा लगाऊ ।।५।।
छन्दः उग्रवासन्ती

रचना- नारायण प्रसाद पौडेल
ठेगानाः सुन्दरहरैँचा-४ मोरङ्ग ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.