आमाको स्मृतिमा’ बनेको ‘सत्यप्रेमी’को आँसुको दह छिचोल्दा….

nandalal, acharya, नन्दलाल आचार्य, pallawa, पल्लव

नन्दलाल आचार्य

Laxmidatta, Bhatta, Satyapremi, लक्ष्मी दत्त भट्ट 'सत्यप्रेमी', pallawa, पल्लव

कृतिकारः लक्ष्मी दत्त भट्ट ‘सत्यप्रेमी

सुदूर पश्चिमाञ्चलको साहित्यको रथका एक सारथी रहँदै गीत, गजल र कविता रचनामा सक्रिय जुझारु स्रष्टा लक्ष्मीदत्त भट्ट ‘सत्यप्रेमी’का ‘हाम्रो कर्तव्य र गन्तव्य’ (खण्डकाव्य, २०६३), ‘चाँदनीको व्यथा’ (गजलसङ्ग्रह, २०६८) र ‘आमाको स्मृतिमा’ (शोककाव्य, २०६९) गरी तीन कृतिहरू प्रकाशित भएका छन् । तीमध्ये यस आलेखमा ‘आमाको स्मृतिमा’ शोककाव्यकृतिको सङ्क्षिप्त मूल्याङ्कन गर्न खोजिएको छ । यसमा आफ्नी ममतामयी आमाको शोकमा मनका व्यथाहरूलाई मार्मिक ढङ्गमा प्रकट गर्न खोजिएको छ ।

 


उनी मनको पीडालाई सम्बोधन गर्न शक्ति चाहिएको महसुस गर्दछन् । आमाको शक्तिबाट साहित्यमा सबैका नेत्र भिजाउने गरी काव्य रचना
गर्ने धोको संगाल्दछन्–
देऊ शक्ति मलाइ यो जनममा साहित्यको क्षेत्रमा ।
थालेँ लेख्न यो वियोग मनको आओस् सधैँ नेत्रमा ।। (पृ. १)
संसार दैवको कठोर लीलामा चलिरहेको महसुस कविको छ । आमाको वियोग सहनु परेपछि दुर्भाग्यका घडी आएको महसुस कविले गरेका छन्
। आमालाई आफूबाट छुटाई लग्ने रिपुलाई उनी सजिलै नछाड्ने मनस्थितिमा थिए । तर, कसरी र कुन बाटो भएर त्यो आयो र लग्यो भन्ने
कुरामा द्विविधामा परेका छन्–
के आयो कुन खै यता रिपु सरी आमा छुटाई लग्यो ।
सारा यी सपना टुटे जनमका, दुर्भाग्य मेरो भयो ।। (पृ.४)
शव घाट लग्ने बेलामा मात्र आमा गुमाउनु परेको सबै वास्तविकता खुलेको अनभूतिले काव्यमा स्थान पाएको छ । आमाको माया, धन–दौलत, यश–कीर्ति सबै घरमा अर्थात् सांसारिक जगत्मै रह्यो, उहाँसँगै केही गएन सबै सन्ततीकै लागि रह्यो भन्दै कवि जीवनको वास्तविकता ओकल्न पुगेका छन्–
सारा व्यस्त थिए सिँगार्न शव नै लैजान घाटै महाँ ।
माया मोह सबै छुटेछ घरमै जाँदैन रे साथमा ।। (पृ.७)
सधैँ आमाकै माया–ममतामा भुलेर रहने कविको भित्री इच्छा प्रकृतिको विधानलाई अमान्य थियो । संसारमा हामी पाहुना भएर आएका र यी हातमा रहेका सम्पूर्ण धन–दौलत नासोका रूपमा रहेका कुराको ख्याल कविलाई हुन गएको छ । उनी प्रकृतिको विधानलाई सहर्ष स्वीकार गर्न वाध्य छन् । हामी रेलका यात्रीजस्तो र यात्राका लागि प्रतीक्षारत् भएजस्तो मात्र हुन पुगेको जीवनको शाश्वत रहस्यको पर्दाफास गर्न समेत कवि पछि छैनन्–
सारा यो मत आज यो पहरले पर्खाइ मात्रै दियो ।
मायाका बसमा सधैँ बसीर’ने यो सोच मात्रै थियो ।। (पृ.१२)
आमाको ममता र आशीर्वचनलाई उनी बरोबर सम्झन्छन् । ती मृदुल वाणीहरूबाट अलग हुनुको पीडाले पनि उनी सताइएका छन् । उनी मुटु भक्कानो पार्दै आमाको वियोगलाई जीवनको कठोर पीडाको उपमा दिन रुचाउँछन्–
‘शौर्यै शान्त नवे वलं हलधरे’ प्यारा ति वाणीहरू ।
छुटे यी सब आज आशिष दिने मातृत्व भाकाहरू ।। (पृ.१९)
परिवारजनको ओठमा भएको मुस्कानलाई मातृवियोगले लुछेर लगेको आभाष गर्दै नियतिको दण्ड भोग्न असहज भएको अनुभूति संगालेका छन्–
काखै शीतलकुञ्जका सरि यहाँ कारुण्य भाका सदा ।
साराको मुखमा थियो किरणझैँ उल्लास लाली सदा ।। (पृ.२४)
संसारलाई जन्माउने, पालन गर्ने र भरणपोषण गर्ने जस्तो पुण्यात्म कार्यमा जननीकै अग्रणी भूमिका रहने विचार सम्प्रेषण गर्दै घर–वन उज्यालो पार्दिने आमाका कार्यकलापहरूको अभाव खट्किएको अनुभव गर्न पुगेका छन्–
तिमी दीपकारै घर वन मनै ज्योति छरने ।
ति माता यो सारा मनुज भरको प्राण भरने ।। (पृ.२८)
उनी संसारको रीत बाहिर जान पाउने भए आमाकै काखमा बसेर संसारको तमासा हेर्न चाहन्थे । पुर्खाको इतिवृत्ति कोट्याउन रुचाउँथे ।
दुर्भाग्य, हामीलाई त्यो सौभाग्य प्राप्त नभएको हुँदा पाहुनाको जीवन स्वीकार्नुको विकल्प नरहेको वोध समेत कविलाई हुन गएको छ–
निर्दिष्टै पथमा सदा समयमा काखै बसी हेर्न दे ।
पुर्खाको इतिहास यो गति हुने उल्लेख क्यै गर्न दे । (पृ.३५)
शोकमा परेको घडीमा ‘आउनु र जानु’ धर्तीको चलन रहेको वा नरहेको वोध गर्न नसक्ने क्षणमा समेत कवि पुगेका छन् । कि आफूबाट यस धर्तीमा जघन्य अपराध भएकोले दण्डस्वरूप मातृवियोग दिइएको हो भनी प्रश्न तेर्साउन समेत कवि अग्रसर भएको देखिन्छ । उनी मनका व्यथालाई समेट्ने क्रममा सुन्दर संसार क्षणभरमै कुरूप भएको महसुस गर्न पुग्दछन् । अर्कातिर उनी मातृवियोगपूर्वकै महसुस गरिएको सुन्दर हराभरा संसारको खोजी गर्दछन् । विडम्बना ! मनमा सन्तोष छैन् । आफ्नो प्यारो अङ्ग गुमाएको महसुस गर्दछन् । यस प्रकार मनको
तन्द्रावस्थालाई सम्वोधन गर्दै जीवनको विडम्वनाप्रति खेद प्रकट गर्दछन्–
धर्तीको चलनै थियो कि भवमा कामै बिगारे यहाँ ।
कस्तो सुन्दर कुञ्ज यो जगतको ऐले गयो त्यो कहाँ । (पृ.३८)
संसारमा आफ्नो केही नभएको महसुस कविलाई हुन गएको छ । धर्तीमा जति श्रमका अजस्र पसिना चुहाए पनि वा रातोदिन मेहनतले सगरमाथा निर्माण गरे पनि आखिर उभिने ठाउँ त एउटै रहेछ, पुग्ने गन्तव्य त निर्धारित रहेछ अनि विधिको विधानलाई स्वीकार्नै पर्ने रहेछ भन्दै कवि आमाकै चरणमा आफ्नो सर्वस्व सुम्पेको घोषणा गर्दछन्–
मेरो छैन कुनै यहाँ जगतमा, मात्रै छ पुर्खा भर ।
सारा की जननी धरा हजुरमा, सन्तान को यो कर । (पृ.४१)
ममताले मनलाई गाँज्न थालेपछि उनी आमालाई सम्बोधन गर्दै विनयको गीत गाउँछन् । आफ्नो विनयभावले आमाको मन पगाल्न खोज्छन् । यत्तिखेर आमाको मन त के पग्लन्थ्यो र ! पाठकको आँखा रसिलो पार्ने तागत भने उनको पौरखी कलममा रहेको महसुस हुन्छ–
विधाता को सीमा अतित पर आमा तनयको ।
यही मैले गाएँ विनय जननी नेकि जसको ।। (पृ.४५)
कवि सांस्कृतिकप्रेमीका रूपमा समेत देखिएका छन् । गङ्गाको जल पवित्र हुन्छ, गङ्गाजल छर्कंदा अशुद्धता हट्छ र पवित्रता छाउँछ भन्ने आमधारणा छ । अझ हिन्दू विधानमा गङ्गामा गई अस्तु सेलाउने गरिएको पनि पाइन्छ । त्यसो गर्दा मृत मानिस सरासर स्वर्ग पुग्छ, वैतरणी नदी तर्नलाई कुनै विघ्नवाधा झेल्नुपर्दैन भन्ने जनविश्वासले जरा गाडेको छ । यी कुराहरूमा कुनै वैज्ञानिक तर्क नभए पनि कवि विश्वासमा परेका छन् र परोक्षरूपमा त्यस्तै अभिमत पोखेका छन्–
यही श्यामा गङ्गा गइकन नुहाइ जल भरु ।
यसैका पानीले जनम जननी तर्पण गरु ।। (पृ.५१)
लोभको कली युगले मानिसको मति बिग्रेको छ भन्दै छलछाम गर्ने व्यक्ति नै मालामाल भएको अनुभवले समेत यहाँ स्थान पाएको छ ।
जीवनमा दामका पछि नलाग्न र काम गरी नामको पछि लाग्ने चेत समेत कविमा आएको प्रकाश पारिएको छ–
साँचो ज्ञान सबै पराद्धतिर नै लागे सबै काममा ।
कर्मैको अनुसार मानवहरू भागे सबै दाममा ।। (पृ.५५)
धर्तीबाट एउटा जानसाथ अर्को आउने शास्त्रीय विश्वास कविलाई पनि हुन गएको छ । जानेलाई रोक्न सकिन्न साथै आउनेलाई छेक्न सकिन्न । यो धरती रित्तो रहन्न । सधैँ भरिभराउ रहन्छ । रहन पनि पर्छ । सफल–असफल हुनु स्वभाविक हो । एउटा दोश्रो बन्दिनाले नै अर्को पहिलो बन्छ । यिनै सत्य तथ्यलाई डोटेली कवितात्मक लयमा कविले स्थान दिन चुकेका छैनन्–
आयो एक गयो अर्को आउन्या जान्या भया ।
रितो छौन घर कसैको जान्या आउन्या भया । (पृ.५८)
दिनभरि काम गरी पसिना ओभाउन नपाइकनै सन्तानका लागि भोजन तयार पारी दिने आमा अब म कहिले पाउँछु भनी कवि आफ्नै मनलाई प्रश्न सोध्छन् । मातृवियोगकै सेरोफेरोका गन्थनमा कवि मार्मिक भाव प्रस्तुत गर्छन्–
ओभाई पसिना सधैँ बदनको कामै गरी यो सदा ।
मीठो मानि पकाई घरमा खाना पसोरी सदा ।। (पृ.६२)
सत्यको रङ्ग बेग्लै हुन्छ, उज्यालो हुन्छ । असत्यको रङ्ग कालो हुन्छ, अँध्यारो हुन्छ । कवि सूर्यलाई बादलले छोपोस् भन्ने चाहँदैनन् ।
बादललाई सूर्यले छिन्नभिन्न पारोस् भन्ठान्छन् । असत्यको सिँढी चढेर भूलको महाजालमा नफँसू भन्ठान्छन् । जीवनलाई अँध्यारो युगतिर धकेली दिने प्रति आक्रोशित छन्–
अघि गफ गर्छौ नियम बनायो ।
जनम अँध्यारो भुइँ किन खन्यौ ।। (पृ.६५)
आफ्नो हितलाई पर राखेर सदैव सन्तती सुख र भलाइमा समर्पित पुर्खाको गुनगान गाउन पनि कवि पछि सरेका छैनन् । यी आवाज मनको लहड नभएर मनका क्रन्दन भएको स्पष्ट हुलिया पेस गर्न समेत उनी अग्रसर छन््–
पुर्खाहरू हुन् इतिहास पात्र ।
छाडेर आफ्नो हितलाइ मात्र ।। (पृ.६७)
आमाको ममता सम्झेर कवि हृदयमा विछट्टैको तरङ्ग पैदा भएको आभाष पाइन्छ । उनी सांसारिक काम धन्दाबाट क्षणभरका लागि भए पनि मुक्ति मिल्ना साथ उनकै सेरोफेरोमा विचरण गर्न पुग्ने गरेको सुनाउँछन्–
भुल्न सक्ने कसरी ममता ती बितेका पलैको ।
मेरा सारा मृदुल सपना काखमै गाँजिएको ।। (पृ.६९)
दुःखको बज्र कठोर हुने अनुभूति सुनाउँदै कवि आमासँग विताएका सुखद क्षणमा हराउन पुगेका छन् । उनी आमाको न्यानो छहारीमा सर्वस्व भेटेको तर त्यसको अभावमा संसारै उजाड बन्न पुगेको विचारलाई काव्यात्मक ऊर्जाका साथ प्रस्तुत गर्दछन्–
सम्झन्छु अघिका कुरा मनमनै ताजा छ त्यो सम्झना ।
दूखै पर्दछ माथिबाट गतिले हुने छ सम्भावना ।। (पृ.७१)
जन्मेपछि एक दिन न एक दिन यो धर्ती छाडेर जानु नै पर्छ । प्राकृतिको नियमलाई हाँक दिन विज्ञानले सक्छ तर जित्न सक्दैन । प्रकृति जसरी सन्तुलित अवस्थामा रहेर साराका सारा सजीव एवं निर्जीव दुवैको अस्तित्वलाई सुरक्षित राखेको छ, त्यसरी नै मानिसले पनि प्रकृतिको झैँ भूमिका निर्वाह गर्न सक्छ तर आजको मान्छेले आफूमा भएको शक्तिलाई पहिचान गर्न सकेको छैन । आफूभित्र अन्तर्निहित ९५ प्रतिशत उर्जालाई क्रियाशिल पार्न सकेको छैन । आजको मान्छे पैसाको पछि लागेको छ र भन्न थालेको छ–पैसा भए सब थोक साथमा, नभए सब
थोक पाखामा । पद र पैसाकै पछि लागेर मान्छेले धर्म छाडेको छ, बाटो विराएको छ । कवि जीवनका सम्पूर्ण रहस्य खोतलखातल पार्न जानिफकार छन् । उनी बाहिर शान्ति नभएको र शान्ति पाउन आफूभित्र नै खोज्नुपर्ने विचार राख्दछन् । हामी आफ्नै सामथ्र्य पर्गेल्न नसकेर अरूका पछि दगुर्नाले छकिएका कुरा समेत अघि सार्दछन्–
खोज्छौ बाहिर शान्ति भूमितलमा आत्मा दुखाउने गरी
आफैभित्र लुकाई नाभि थलमा खोज्दै बिना कस्तुरी ।। (पृ.७३)
सम्पूर्ण मानव एकै भएको विचार कविको छ । उनी कलीयुगमा मानिसको विवेकको ढोका बन्द हुँदै गएकामा चिन्तित छन् । जातिय भेदभावको चंगुलमा नपस्न र सबै मानवलाई एकै लहरमा राखेर बरोबरी मूल्याङ्कन गर्न कवि आह्वान गर्दछन्–
यस कलिको मा नगर बिषौदै ।
सब नरनारी हुन एक जातै ।। (पृ.७७)
आमाको काखमा संसारको सबै खुशी मिलेको अनुभव बाड्दै उनले दिने भन्दा अर्को ठूलो सुख कसैले दिन नसक्ने जिकिर समेत गर्दछन्–
त्यो प्रेम काख जननी तन चाल सार ।
आलाप यो सकलको मन यो अपार ।। (पृ.८०)
हरपल सन्तानको सुख र समुन्नतिमा चित्त लगाइरहने आमाबाट पाएको ममता र सेवाको ऋण चुक्ता गर्न नसकेकोमा कविमनलाई कृतघ्न गरेको महसुस भएको छ–
मामै खान्छु कि वा न खान्छु जननी, को जान्न सक्ने यहाँ ।
चाँडो पुग्छु कि वा म खस्छु जननी तिम्रै त आशा यहाँ ।। (पृ.८४)
पुराणमा वर्णित महामुनि दत्तात्रयले ब्रह्माण्डका अनगिन्ती वस्तु तथा जीवहरुमध्ये पृथ्वी, जल, वायु, आकाश, चन्द्रमा, सूर्य, परेवा, अजिङ्गर, समुद्र, पुतली, भँबरा, मौरी, हात्ती, मृग, माछा, बेश्या, चिल, बालक, कन्याकेटी, वाण बनाउने मानिस, सर्प, माकुरो, कुमालकोटी गरी चौबीस वटालाई गुरु थापेका थिए । यिनीहरूबाट उनले सकारात्मक शिक्षामात्र लिएनन्, नकारात्मक शिक्षाको पनि लिए । जस्तो– सुन्दरता
र प्रकाशको पछाडि अति मोहित भएर झुम्मिदा बत्तीमा डडेर मरेको पुतलीबाट, स्वादको आशक्तिले बल्छीमा उनिएको माछाबाट, अति संचयको कारणले मान्छेको मशालबाट झोसिएको मौरीबाट, श्रवण इन्द्रिय कानको आनन्दको निम्ति घण्टीको आवाजमा एकोहोरिँदा शिकारी र शिकारी कुकुरको फन्दामा परेको मृगबाट । त्यस्तै धर्मको आशक्ति, पार्टी, समूह र पन्थको अन्धो अनुयायी आदिका कारण वैचारिक स्खलन हुनबाट बच्नुपर्ने आवश्यकता छ । यस परिप्रेक्ष्यमा उनी जन्मभूमिप्रति पनि आमाजत्तिकै श्रद्धाको वर्षा गराउँछन् । जन्म दिने आमा र टेकेको धर्ती मानिसका लागि अनमोल रत्न हुन् भन्ने आभाष दिलाएका छन्–
माता रूप शिला वनस्पति लता यो देह की सौरभ ।
जन्मैभूमि र सत्य जन्म ममता सन्तान की गौरव ।। (पृ.८७)
माउ मर्दा बचेराको पीडादायी हाल भएझैं आमाको साथ गुमेपछि आफ्नो भएको इतिवृत्ति कोट्याउन पनि कवि अग्रसर देखिन्छन्–
साथै थियो आज अभाव यो भयो ।
माऊँ मरी साथ अनाथ यो भयो ।। (पृ.९०)
संसारको रीतिथितिलाई निरन्तरता दिने जननी–लीला रहस्यमय भएको आभाष दिँदै कविले आमाको गुणदायी भूमिकाको वोध गरेका छन्–
मनमा जननी जब भाव भयो ।
तब जन्म भयो जगमा जनको ।। (पृ.९२)
धन दिने लक्ष्मी हुन् या शक्ति दिने काली हुन् वा विद्याले भरिपूर्ण पारिदिने सरस्वती नै किन नहून् सबै आमा नै भएको महसुस कविले गराएका छन् । प्राणीको लागि जगत्को आफ्नो भन्ने पहिलो व्यक्ति आमा भएको बोध गर्दै सकल ज्ञानकी प्रतिमूर्तिका रूपमा आमालाई नै चिनाएका छन्–
कति सबै सतको निधि नै यहाँ ।
जनम को पहिलो धन नै यहाँ ।। (पृ.९५)
आमा चाहिँ सन्तानको मन बुझेर काम गर्ने तर सन्तानले चाहिँ आमाको मन बुझेर काम गर्न नसकेकोमा कविमन पछुतोमा छ । यस चिन्ताको महाजालबाट बचाउन अनुरोध गर्दै आमालाई आफ्नो आँचलमा लुकाएर राख्न प्रार्थना गरेका छन्–
तिमीले मलाई मनैमा सजाई
कहाँ बुझ्न सक्ने म तिम्रो बढाई ।। (पृ.९९)
मुलतः कवि ‘सत्यप्रेमी’ले आमाको यादमा मुर्छित हुँदाका विचारलाई काव्यात्मक रूप दिएका छन् । उनी विचार र व्यवहारको सम्यक मिलन खोज्दै सुन्दर भविष्यको परिकल्पनामा उद्दत छन् । उनको वैयक्तिक पक्षलाई नियाल्दा व्यवहारमा लचकता, विचारमा दृढता, बोलाइमा शिष्टता, प्रस्तुतिमा नम्रता पाइएको थियो तर ‘आमाको स्मृतिमा’ (शोक काव्य, २०६९)को अध्ययनबाट उनमा काव्यात्मक चिन्तन र कलाको बेजोड दक्षता समेत रहेको आभाष भयो । यस काव्यमा उनले आफ्ना जीवनभोगाइहरूलाई सजीव रूपमा उतार्ने, स्थानीय रङ्ग, भूगोल र प्रकृतिलाई विचारसित घोलेर मानवीकरण गरी नवीन विम्ब र प्रतीकमार्फत् नवीन आदर्शको उद्बोधन गर्ने जस्ता खुबी देखाएका छन् । यस ‘आमाको स्मृतिमा’ शोक काव्य शार्दूलविक्रीडित छन्द, शिखरिणी छन्द, कुसुमविचित्रा छन्द, वसन्ततिलका छन्द, इन्द्रवंशा छन्द, तोटक छन्द, द्रुतविलम्बित छन्द र भुजङ्गप्रयात छन्द गरी जम्मा आठ ओटा छन्दमा आधारित रही तयार पारिएको देखिन्छ । यसका अतिरिक्त डोटेली कवितात्मक लयमा आधारित ‘परानीको गाथा’ शीर्षकमा काव्यात्मक हरफहरू पनि समाविष्ट छन् ।
उनका कविता सरल छन्, सहज छन्, हृदयस्पर्शी छन्, रसिला र कमला छन् । ती गीतझैँ लयात्मक छन्, विचारमा इस्पातिला छन् । तापनि कतिपय स्थानमा आएका शब्दहरू र प्रकट विचारहरू दुर्बोध्य छन् । प्रचलित व्याकरणिक नियम प्रतिकूल गएका कारणले पनि पढिरहँदा कतिपय ठाउँमा कोक्याउँछ । यो काव्यात्मक क्षेत्र भएको कारणले पनि आख्यानात्मक विधामा जस्तो सरलता र सहजता भने अवश्य पाइन्न । अर्कातिर कठोर शास्त्रीय विधानमा बाँधिएर हृदयका शब्दहरू संयोजन गर्दा यस्तो अवस्था आएको हुनुपर्छ । प्र्रियजनका लागि उनका काव्यात्मक हरफहरू आँखा हुन्, औषधी हुन् । उनले साहित्यसंसारको धरोहर निर्माणमा ईंटा थप्ने साहस गरे, पाठकलाई करुण रस पिलाएर अहोभाग्य हुने सौभाग्य दिलाए र आमाप्रति सच्चा पुत्रको कर्तव्य पूरा गरे । यस करुण रस प्रधान काव्य पछि दुश्मनहरूका लागि छातीभित्रसम्म भेदन गर्ने छुरी सावित हुने वीर रस प्रधान काव्य सिर्जना हुन सकोस् भनी हार्दिक चाहना र शुभकामना व्यक्त गर्दै पाठकीय मतबाट विश्राम लिन्छु । धन्यवाद !!!

– तपेश्वरी–१, गल्फडिया, उदयपुर सम्पर्क ९८४२८२९२०६
nandalalacharya@gmail.com
हालः वर्ड्भिजन उच्च मा.वि.कलेज, राजविराज–४, सप्तरी
२०६९।०६।०१ विश्वकर्मा पूजा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.