संगी अधिकारी पोखरेल का केही मुक्तक:

Sangee, Sangi, Adhikari, Pokharel, संगी अधिकारी पोखरेल, pallawa, पल्लव

संगी अधिकारी पोखरेल

घर याद आउँछ आमा, आफ्नै शहर याद आउँछ !
भाग्य टिप्न आतुर फगत, त्यो रहर याद आउँछ !
जब-जब धड्किन्छ दूर जगत् मा देश सँगै परिवार;
तब हुटहुटीमा हेलिएको, छली पहर याद आउँछ !

यादहरूको गाँठो बढ्छ मुटु बिझाउँछ !
चिमोट्छ तिम्रै झझल्कोले गह भिजाउँछ !
शुन्य छ घर, मौन छन् बा र बहिनी यहाँ ;
आँखा सधैं अनिदो छन् छोरा रात निदाउँछ !

 

हुन्न सधैं रोदन, न हुन्छ अनवरत हाँसो जिन्दगीमा !
तिम्रा मेरा र उसका, उति हुन्छ गुनासो जिन्दगीमा !
जे जसो छ त्यसैमा रम्न झुम्न मुस्कुराउन जान्नुपर्छ ;
नभुल, यो सास पनि मात्र हो कसैको नासो जिन्दगीमा !

सँघारमै पनि त लाग्छ ठेस, बुझ्नु तिमीलाई लडेर उठ्न सिकाउन हो !
जब भत्किन्छ हिँड्दै गरेको बाटो, सोँच्नु पक्कै नयाँ दिशा देखाउन हो !
जीवन संघर्षको मैदान हो छोरी हार र जीतको खेल चलिरहन्छ यहाँ ,
नथरथराई पाइला दृढराख्नु मनोबल, जुझ्नु पनि त आफैँलाई जीताउन हो !

पलाउँछन् मायाका आँकुरा, उदाउँछन् बिहान जति-जति
बहलाउँछन् भावनाका टाकुरा, निरन्तर मलाई कति-कति
चस्किन्छु, छट्पटीन्छु बहकाउने बिचार सँग जब
सम्झाउँछन् मनका माकुरा, म’ नै, घाउ तिम्रो म’ नै, ओखती !

ती भिरपाखा सम्झिएर आँसु धारा झारिन्
आफ्नो ब्यथा सुनाउदै दुखी मलाई पारिन्
बेचिएको थाहा उनले कोठी भित्रै पाइन
पैसासँग प्रेमगर्ने थियो प्रेमी तेसैले हारिन ।।

लालीत्य तिमी नै मिर्मीरे, बिहान तिमी मेरो ।
जिन्दगीमा मैले पाएको, सम्मान तिमी मेरो ।
सारा खुशी सोह्र श्रृङ्गार रंगीन सिँउदो, साथै
यी अधरहरूमा उदाउने, मुस्कान तिमी मेरो ।।

पिउन सम्म पिए प्यारी तिम्रो सम्झाना धेरै आयो
हामी बिचको गहिरो माया आज उस्ले नै पायो
जागीर पाउने आसमा तिमी शहर तिर पसेउ
जागीर दिने बाहानामा उस्ले तिम्रो जवानी नै खायो

कान्छी अब बाउ आमाको आँखा छली भागौँ
सधै भरि मान्छे लगाई कति तिमिलाई मागौँ
गरीब र धनी बिचको यो गहिरो खाडललाई
समानताको ज्योति बाल्दै हामी दुवै जागौँ ।।

बेसीतिर झर्दै प्रिय मकै भटमास खाउँला
गाई भैंसी चराउँदै माया प्रिती लाउँला
देउरालीको चौतारीमा कुरि बस सानू
आमा बाउको आँखा छली भेटन आउँला ।।

संगी अधिकारी पोखरेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.