निकुञ्ज अभ्यासमाला: ३६५

निकुञ्ज अभ्यासमाला: , pallawa, पल्लव३६५

निकुञ्ज अभ्यासमाला

विषय :- श्रुत्यनुप्रासमा स्वतन्त्र लेखन
छन्द:- स्वेच्छिक
सङ्कलन: पारसनाथ आचार्य
यता फर्कने छन् उता फर्कने छन्
जता हेर कर्तव्यमा तर्कने छन्
विना वृष्टिकाे गर्जने व्याेम जस्ताे
कुनै चर्कने छन् कुनै झर्कने छन् ।।
-हाेम सुवेदी

हेरेर कविता लेखूँ केरेर कवि ता हुने।
घेरेर भाव के लेखूँ फेरेर भाव के हुने।।
सुनेका कविता हुन्छन् चुनेका सविता बनून्।
बुनेका कविता माला उनेका कविता भनून्।।

 

कविता कविका लागि साधना दिव्य है बनोस्।
कविका कविता स्रष्टा भावना भव्य भै रमोस्।।
चाहिन्छ रस निस्कन्छ खाइए कस बिग्रिने।
हुन्छ नीरस है मान्छे खाइए सस सप्रिने।।

वृत्यनुप्रास हो वृत्त छेकानुप्रास छेक हो।
लाटानुप्रास हो लाट अन्त्यानुप्रास एक हो।।
श्रुत्यानुप्रास सुन्ने हो छन् अनुप्रास पञ्चम।
च्यवनप्रास चुन्ने हो प्रास को गर्छ सक्षम।।
-रामचन्द्र घिमिरे

स्रग्विणी ।
कामना भावना साधना सव्य हून्
कल्पना तिर्सना चेतनामा मिलून् ।
वेदना वन्दना सम्झनाभित्र छन्
वासना फूलका तुष्टिका मूल हुन् ।।१।।
-गोपालप्रसाद भण्डारी

अभय भै यहाँ कीर्ति छर्नु छ,
समयमा सबै कर्म गर्नु छ ।
सरम छाेड भाे शुद्ध भावमा ,
नरम भै बसाैं वुद्ध भावमा।।
(इन्दिरा छन्द)
-हरिप्रसाद न्याैपाने

उपजाति -छन्द
अगाधअास्था मनमा अनास्था
देखावटी चिन्तन छैन अास्था
ढ्याङ्ग्रो बज्यो ड्याङ छ टोक्न अाज
लुला लुलाको अब राज्य काज।।१

जान्ने नजान्ने सब दम्भ गर्छन्
भन्ने नभन्ने न विचार गर्छन्
विशेषमा शेष छ यो अनिन्द्य
म मात्र जान्ने भनिए छ निद्य।।२
– हरिप्रसाद रिमाल, झापा।

यहाँ स्वर्ण थाली सधैंको छ खाली
हरे हात थाप्दै अझैँ पिट्छ ताली।
गरौँ कर्म सच्चा जुटौं बृद्ध बच्चा
भनी आँट गर्ने न ता भेट्छु माली।
– जगदीशप्रसाद पाण्डेय

छन्द उपेन्द्रवज्रा
स्वदेश हाम्रो मन मित्र फुल्छ ।
विदेश तिम्रो धनभित्र भुल्छ ।
तिमी र हामी तन पात्र भिन्न ।
छ चित्त याैटै मन मात्र खिन्न ।
-नमराज लामिछाने

छन्द:पञ्चचामर
विचित्रको छ जिन्दगी अनेक चित्र साथ छन्
विदीर्णकाे छ जिन्दगी हरेक पात्र शान्त छन्
अधीर जाे छ जाेसिने निखार जाेश चाहियाे
शरीर याे छ नासिने विचार खास चाहियाे।।

छ देशभक्त रापिलाे तथापि डग्मगाउँछ
छ गीत स्वाभिमानकाे तथापि बर्बराउँछ
विचार बाँच्छ हाँस्छ जाे किताब उच्च लेखियाेस्
झरेर जान्छ फूल याे हिसाब चुस्त राखियाेस्।।

हिमाल हेर्छ फाँटमा पहाड खित्त हाँस्दछ
सभाल भन्छ रातमा बिहान फुत्त भाग्दछ
कठाेरकाे छ जिन्दगी न हाँस्छ देख्छ वेदना
अठोट बाेक्छ जिन्दगी र भेट्छ चुम्छ चाहना।।
-यादव दुलाल गाउँले

ऊ जान्छ भट्टी अनि खान्छ झट्टी
हानेर कट्टी अनि बाँध्छ पट्टी ।
झर्नेछ पर्दा जब थप्छ कर्जा
मर्नेछु आफै तब छक्क पर्दा ।।
-हिमालय पौड्याल

यतै छैन हाम्राे खुसी जिन्दगानी
उतै छैन हाम्राे सुखी जिन्दगानी
छ हिंसा र हत्या बलात्कार जालाे
सकूँ भेट्न पापीहरूकाे कठालाे
-टीका आत्रेय

सुने सुने झैँ मनकाे पुकार
पुगे पुगे झैँ छु नदी किनार
संसारकाे सार बुझेर भित्र
लाग्दैछ संसार बडाे विचित्र ।।
-भवानी खतिवडा

चिरबिर छ चराको कानको फुट्छ जाली।
ठमठमठम हिँड्छन् टिम्टिमे ज्यान ढाली।
जतिजति जनता छन् त्यत्तिकै बज्छ ताली।।
पर पर पर मान्छे भाग्दछन् फाल हाली।
-दिनेश पाण्डेय

न जन्मेर कोही यहाँ निम्न हुन्छ
न जन्मेर कोही कहाँ भिन्न हुन्छ
सबैका सबैमा छ उस्तै स्वरूप
यहाँ सोच मात्रै भयो भिन्न रूप ।
दुष्यन्त भट्टराई

भोको भन्छ र गम्छ अाज किन हो नाङ्गा र बाङ्गा अरू
सोझो भन्छ विधान ध्यान गरिए पर्दैन चिन्ता अरू ।
बाठो देश विरुद्ध बोल्दछ भने सम्मान त्यै पाउँछ
लाटो लाग्दछ खट्छ राष्ट्र हितमा गाली त्यही पाउँछ ।।

जाली जाल बुनेर यो मुलुकमा सञ्जाल बुन्ने भए
कालो कर्तुतले सुधा सुजनका आस्था बिगार्ने भए
बाँच्ने छैन विचारमा विषयले खिल्ली उडायो भने
मान्छे हुन्न समान निन्दित हुने बिल्ला भिरायो भने।।
-पारसनाथ आचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.