रेवतीरमण खनालका जोर कविताः

Khanal, Rewatiraman, खनाल रेवती रमण, pallawa, पल्लव

खनाल रेवती रमण

१) पि.एमलाई चिठ्ठी
सम्बोधन
थो

मा
श्रध्देय
समादरणीय
सम्माननीय प्रधान मन्त्रीज्यू !

तपाइँ आँखाभरि सपना सजाउनुहोस्
सौदागर बनेर सपना नभजाउनुहोस्
तपाइँका हुक्के
चिलिमे
बैठकेहरूले
तपाइँलाई नै सिध्याउन खोज्दैछन्
तपाइँकै नाकमा ….. लाउन खोज्दैछन् –

 


पत्याए पत्याउनुहोस्
नपत्याए नपत्याउनुहोस्
म तपाइँको शुभचिन्तक हुँ
मलाई तपाइँको जागिरको लोभ पनि छैन
मलाई तपाइँको आर्थिक सहायता वा चन्दाको लोभ पनि छैन
देखेको कुरा भन्दैछु
तपाइँका निकटस्थहरू
बाहिर-बाहिर लोकाचार
भित्र-भित्र पोकापार गर्दैछन्

तपाइँ भने
उखान टुक्काको खेतीमै व्यस्त हुनुहुन्छ
उखान टुक्काको खेतीले मात्र
देश समृद्ध हुँदैन क्यारे
देश समृद्ध हुन त
सर्वत्र ज्ञानको शिखा बल्नु पर्छ
झरिझुत्त विकास फल्नु पर्छ

तपाइँलाई कस्तो गीत मन पर्छ ?
तपाइँ कस्तो गीत गाउनु हुन्छ ?
तपाइँको सुसेलीबाटै थाहा हुन्छ
तपाइँ
बारी न बिरुवा
नौ मुरी तोरी नखोज्नुहोस्
मधेसीहरू आफ्नै भाइ हुन्
तिनीहरूलाई पनि मिलाएर जानुहोस्
जोरी नखोज्नुहोस्

‘द भ्वाइस अफ द पिपुल
इज द भ्वाइस अफ गड़’

जनताले कालोलाई कालो
सेतोलाई सेतो भन्न पाउनु पर्छ
जनताहरूको आवाज़ बन्द गर्न
मुखमा भोटे ताल्चा लाउन खोज्ने
तपाइँका गुरिल्लाहरूलाई
सदाचारको पाठ पढ्न
पाठशाला पठाउनु होस्
दुई तिहाईको उन्मादले फेरि
आकाशतिर फर्केर नथुक्नुहोस्
थुक तपाइँको आफ्नै अनुहारमा पर्नेछ

हज्जारौ शहीदहरूको
बलिदानबाट प्राप्त गणतन्त्र
तपाइँकै हनुमानहरूको कारण
भड्खारोमा नपरोस्
‘भैँसी लड्यो है माया भीरबाट हेर
नौ सय साठी है माया गै गयो लौ खेर’ नहोस्

समृद्धि नारामा मात्र सिमित नहोस्
बिरुवा नरोपी अनाज फल्दैन
तपाइँलाई भलीभाँति ‘थाहा’छ
त्यसैले
समृद्धिको बिरुवा त रोप्नुहोस्
समृद्धिको फल फल्न समय लाग्छ
तपाइँको पालामा फलेनछ

अर्कैको पालामा फलेछ भने पनि
कमसेकम बिरुवा त तपाइँले रोपेको हो
भनेर भन्नेछन् जनताले
तपाइँलाई राम्ररी थाहा छ
‘समय आउँछ पर्खँदैन
बगेको खोला फर्कँदैन’
समय खुत्किए पछि
हिस्स बुढी खिस्स दाँत नहोस्
दुलो बाहिर माछा
दुलो भित्र हात नहोस् ।

२) मुसा
ए निशाचर !
अन्धकारको हिमायती
परजीवि मुसा !!
तँ कति घिनौना हर्कत गर्छस्?
तँ कति अर्काको पसिनामा
रजाइँ गर्छस् ?

तँ मेहनतकश किसानहरूले
बर्षभरि मेहनत गरेर
खून-पसिना एक गरी
आर्जेको अनाज चोरी गरेर
प्वाल-प्वालमा लुकाएर
सात पुस्ताको लागि थुपार्छस्
भित्ता कोतर्छस् हाम्रो घरको
कति भ्वाँड़् प्वाल मात्रै बनाउँछस् ?
कानका कीरा मर्ने गरी कराएर
कति निँद हराम गर्छस् हाम्रो ?

उछलकूद गरेर
करिडर / मझेरी
भुइँ तला र माथिल्लो तलामा समेत उफ्रेर
कति भत्कोस् मात्र लगाउँछस् ?
मुसीहरूलाई खुसी पार्न अब
सुनका डल्ला लुकाउँन थालिस्
हन्तकाले !
निर्मलाको प्यान्टी र ब्रा काटेर गुँड बनाइस्
खान पनि कति सकेको ? अगस्ति !
लाउडा खाइस्
धमिजा खाइस्
त्यतिले नपुगेर फेरि अहिले
वाइडबडी कतरिस्
एनसेलभित्र छिरेर
भदालोको तर र कुरौनी घिचिस्

तेरो ओखति नगरी भएन अब पख् तँलाई
जनता जनार्दन सबै मिली एक दिन
अनुभवी पाइड पाइपर बोलाएर ह्यामलिनबाट
पाइप बजाउँदै तातो पानीको दहमा लगेर
डुबाउनेछन्
हैन भने
कारखानाहरूमा उत्पादन भई बजारमा आएको
अहिलेसम्मकै सबैभन्दा कडा लिसो मगाएर
तँलाई त्यसैमा टाँसी
भाटा कारबाही गर्नेछन्

तँ पाखण्डी मुसाको
दोहोलो काड्ने छन् ।

भरतपुर, चितवन ।

One thought on “रेवतीरमण खनालका जोर कविताः


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.