रामराजा तिमिल्सिनाका केही मिक्स रचनाहरूः

Ramraja, Timilsina, Belkot, रामराजा तिमिल्सिना‎ , pallawa, पल्लव

रामराजा तिमिल्सिना‎

१) काव्य
’नेपाल सुन्दर सफा हुनुपर्छ भन्ने’
को को छ हात त उठाउनु है भनेर
नेपाल साथ नटुटाउनु है भनेर
धोको छ है मुलुकको सरकार बन्ने
नेपाल सुन्दर सफा हुनुपर्छ भन्ने

साना किसान महिला जनजाति हेर्ने
यो देशमा दलितले पनि सास फेर्ने
पात्रै बनून् जनक झैँ हलिया निखन्ने
नेपाल सुन्दर सफा हुनुपर्छ भन्ने ।

 

हाम्रो हिमाल चुचुरो शिरमा छ ताज
नेपालको गगनमा कति मुस्कुरा छ
हाँसो त्यही अधरमा छुनुपर्छ भन्ने
नेपाल सुन्दर सफा हुनुपर्छ भन्ने

सीता र वुद्ध महिमा छ अपार हाम्रो
पुर्खा सयौं अरनिको बल वाहु राम्रो
दाता थिईन् त भृकुटी गतिरोध खन्ने
नेपाल सुन्दर सफा हुनु पर्छ भन्ने

राजा थिए प्रवल ती दरवार वाला
साथी लिए समरमा तलवार भाला
यौटै बन्योमुलुक यो अविछिन्न बन्ने
नेपाल सुन्दर सफा हुनुपर्छ भन्ने

अैले त दुश्मन पसे जनता फुटाए
नेपालको सुखद–जीवनता लुटाए
टुक्रा प्रदेश र लुलो छ विभिन्न गन्ने
क्वै छैन सुन्दर सफा हुनुपर्छ भन्न्ने

होली पिलाउन दिए अनि त्यै पिएर
संस्कार सुन्दर कला अनित्यै लिएर
हे वेद पावन ऋचा मत भेद बन्ने
लाग्दै छ लौ ग्रहण चा-हनु पर्छ भन्ने

२) गजल
न लुट्ने भए काम नै छैन तेरो
नखोसी यहाँ माम नै छैन तेरो

अरे दुष्ट सङ्घीयता लुट्नलाई
लुटेरा तँ आराम नै छैन तेरो

गरिस् के गरिस् निर्मला न्याय माग्छिन्
कुनै न्यायको नाम नै छैन तेरो

लगिस् धर्म सापेक्ष बेचेर खाईस्
कला पुण्यको धाम नै छैन तेरो ।।

३) कविता
तिमी नदी सागर हूँ म प्रेमिका
र मिस्सिनै पर्छ तिमी त बेलुका
भन्दै उनीले कविता सुनाउँदा
खै कुन्नि के भो मदिरा लगाउँदा

ती ओठमा गन्ध थिए फसाउने
प्रभाव आनन्द थिए रसाउने
घुलेछ पानीसित नूनका ढिका
उस्तै छ है अस्थिर कृष्ण राधिका

समुन्द्रले नै पसिना चुहाउँदै
आनन्दको सागरमा नुहाउँदै
सँधै सँगै मिल्दछ लाज छोपिने
फुल्दै छ त्यो फूल त साँझ रोपिने

उपजाति छन्दः वंशस्थ+इन्द्रवंशा-
ज, त, ज, र / त, त, ज, र,

४) गजल
मुजास अबतर २२१२ २१२२ २२

जब फूलमा फूल छर्छन् द्यौता
बाटो सँधै त्यो बदल्छन् द्यौता

लाखौं खुशी जिन्दगीमा हुन्न
यौटै खुशी मात्र धर्छन् द्यौता

जुन जिन्दगी भित्र काँडै काँडा
हो चोटमा चोट भर्छन् द्यौता

मागेर मिल्ने कहाँ हो मायाँ
आफ्नै विराना ठहर्छन् द्यौता

नातो भनेको दुवै दिन मात्र
रहीदिन्छ जो अन्त सर्छन् द्यौता

५) गजल
दैव तैँले गरिस् के मलाई ठुँगिस्
मात्र खाँडो समाएर आई पुगिस्

छैन आफ्नो विरानो सबै लाग्दछन्
चोटको रिक्त खाल्डो भरिस् या पुरिस्

भन्नु नै छैन मायाँ झुठो लाइयो
घाम छायाँ बन्यो यो निमोठिस् थुतिस्

दूर नै बस्छु तेरो भनेकै थिएँ
यो निमन्त्रणा पो पठाइस् कुरिस्

सामु आएँ म तेरै खुनी वाहुमा
खा तँ खाजा भनिस् बेसरी पो कुटिस् ।

६) कविता
बुने माकुराले सँधै जाल जालो
रह्यो माहुरीमा त बेहाल पालो
कि झर्दै छ ओइलेर ती फूल थुङ्गा
रसै छैन संसार बन्दै छ ढुङ्गा

उडी जान्छ पन्छी धुँवाँ वायुसेना
सँधै दुष्ट सन्देह बोक्दै छ ऐना
न पानी परेको छ हावा हलुङ्गा
रसै छैन संसार बन्दै छ ढुङ्गा

छ ढुङ्गा त माटो र पानी भए पो
र फुल्ने छ मायाँ जवानी भए पो
विना छालमा हाल चल्दैन डुङ्गा
रसै छैन संसार बन्दै छ ढुङ्गा ।।

७) गजल
जिन्दगीले कस्यो आज डोरी छिन्यो
छैन आफन्त मान्छे कसोरी छिन्यो

लाज लाग्दैन ए पापिनी लोकको
घात गर्छ्यौ कठालो चिथोरी छिन्यो

रामराजा भयो है त एक्लै यहाँ
सत्य छोपेर गाएर लोरी छिन्यो

ढाँट्न ढाँट्यौ र छोडी गयौ निष्ठुरी
त्यो कलाले गला नै निचोरी छिन्यौ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.