प्रेमको बकपत्र

Birkhe, Anjaan,बिर्खे अञ्जान, pallawa , पल्लव

बिर्खे अञ्जान

तिम्रो बिचारको बीर्यमा
स्खलन भएको छ – प्रेमको भ्रुण
र , बिश्वास बिरूद्ध अस्तित्वको फैसला हुनु पूर्व
बलात्कृत भएछ — नैतिकताको कौमार्य ।

न्यायाधीश बस्छन् या जल्लाद
थाहा छैन अदालतमा
अन्तर्मूल्याङ्कनको पूरातन पद्धति
हो हिजो जस्तै आज पनि कायमै छ।

 

निषेधित अत्यासहरूको तूफान
प्रायः प्रेम माथि नै हमला गर्छ
र , संस्कार नामको पूरातन अहम्
उध्रेका बिचारहरूको हुण्डरी बोकेर
प्रेमको बस्ती उजाड बनाउँछ।

खोला बग्छ निरन्तर
किनार चाहेर पनि हिड्न सक्दैन
हो जूनलाई घामसँग जिस्कन मन छ
र, पनि रात बाहेक अरू उसको हुनै सक्दैन
जति जोडे पनि कहिल्यै मिल्दैन
अचम्मको छ प्रेमको गणित ।

माया फुल्ने फूलबारी
माटो हुनै सक्दैन
छातिभरि रोपेर स्पर्शको बिरुवा
उमार्न खोजेपनि मुटुमा प्रेमको गुँरास
अझेपनि असफल छन् — मुनामदनको जोडी
अचेल ओठहरूले ममता होइन आक्रोश ओकल्छ
मानक सभ्यतामा हुर्किरहेछ — घमण्डको बीउ
साच्चिकै कहाँ पाइन्छ यतिखेर
बिदूर जस्तै बिश्वासको हिमाल ।

च्यातेर फ्याकेको प्रेम पत्र
साक्षी राखेर भगवानलाई खाएका मायाको कसम
फेल भएको शैक्षिक प्रमाणपत्र
अथवा बासी भएको अखबारका पानाहरू
हो सबै सबै आदिम भएका छन् इतिहासहरूमा।

बिचारको उत्तेजना
भो ! नबर्साउ समयको कालो कठघरामा
घाम अझै मलिनो छ
आगो तात्न सकेको छैन अघेनूमा
खिया लागेको भुत्ते मष्तिकमा
आरनमा नअर्जावेसम्म सँस्कृतिको हतियार
फूलमाया !
तिम्रो र मेरो प्रेम
आकाश र धर्ती जस्तै हुन्छ।

तिम्रो बिचारको बीर्यमा
स्खलन भएको छ – प्रेमको भ्रुण
र बिश्वास बिरूद्ध अस्तित्वको फैसला हुनु पूर्व
बलात्कृत भएको छ — नैतिकताको कौमार्य।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.