‘रसमय कवितामा मेल होस् फूलजस्तो’

Savita, Bhattarai, सविता भट्टराई, pallawa, पल्लव

सविता भट्टराई

सरल सरस भाषा लेखनी सिद्धहस्त
नरम नरम पारा बोल होस् नम्रसुस्त
अविरल झरना झैँ शैलको मूल जस्तो
रसमय कवितामा मेल होस् फूल जस्तो ।।

मगमग मग बास्ना फैलियोस् कन्दरामा
मृदुल मृदुल आशा झल्मलाओस् धरामा
पवन सरि बहेको चालमा चल्मलाओस्
रसमय कविता नै वाणीमा बस्न आओस् ।।

 

कलकल सरिता झैँ कण्ठले गुन्गुनाओस्
कलरव ध्वनि गर्दै ओठमा बग्न थालोस्
विरह सब भुलाई भावले मुग्ध पारोस्
रसमय कविताले जिन्दगी नै सजाओस् ।।

अलि अलि सुख जस्तो दु:ख नै हुन्छ धेरै
अनवरत छ सेवा जिन्दगी जान्न खेरै
समय अभर बन्दा हुन्छ लौ भूल कस्तो
रसमय कवितामा मेल होस् फूल जस्तो ।।

सरसर गिरि चढ्दै टाकुरा पुग्न पाओस्
झलमल गरिमाले चाँदनी चुम्न थालोस्
सललल सल बग्ने तीव्र होस् वेग यस्तो
रसमय कवितामा मेल होस् फूल जस्तो ।।

छन्दः मालिनी
– सविता भट्टराई
व्यास नगरपालिका, तनहूँ
हालः म्हेपी , काठमाडौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.