वार्द्धक्य र विवशता

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

मातापिता बितिसके अब आउँदैनन्
हुर्के-बढे शिशुहरू घरमा हुँदैनन्
फर्क्यो यता अनि उता घर लाग्छ बेग्लै
यो वृद्ध जीवन थचारिन थाल्छ एक्लै ।१।

बास्छन् चिरिर्र चिडिया गुँडमा सबेरै
बोले कि पुत्र नजिकैसरि लाग्छ मेरै
त्यो नीडको स्वर शनैः जब बन्द हुन्छ
हर्षानुभूति मनमा द्रुत मन्द हुन्छ ।२।

 

खेल्दै समीप पुतली जब नाच्न थाल्छ
छोरी बसिन् कि नजिकै-सरि लाग्न थाल्छ
भागेर जान्छ पुतली अलि दूरतामा
पोखिन्छ तिक्त विष सुन्दर कल्पनामा ।३।

यो काखका चुलबुले पुतली हराए
आभासका झिलिमिली बिजुली हराए
छन् रिक्त आँगन पिँढी घर रिक्तजस्तो
संसार शून्य ग्रह अम्बर रिक्तजस्तो ।४।

सद्दे छ देह तर सासविहीन लाग्ने
सद्दे छ गेह तर बासविहीन लाग्ने
यो वृद्धता विरहको तह पो रहेछ
एक्लोपना, सकसको दह पो रहेछ ।५।

आवासमा बसिरहे पनि शून्य लाग्ने
यात्रा गरी हिँडिरहे पद शीघ्र थाक्ने
फर्क्यो जतातिर उतैतिर रिक्तता छ
ठेगान छैन हरि जीवन नै कता छ ।६।

सन्तान दूर थलमा दलिएर बाँच्छन्
मातापिता स्वघरमै थलिएर बाँच्छन्
छन् टन्न अन्न रुपियाँ चिज भिन्न भिन्न
ती व्यर्थका जिनिसले ममता किनिन्न ।७।

यो शून्यको सकस के कसरी हटाऊँ ?
के मार्गबाट वय यो सजिलै कटाऊँ ?
घोकूँ कि शास्त्र, गुरुको उपदेश मागूँ ?
या शून्य यो समयकै पछि लाग्न थालूँ ।८।

खेलूँ कसैसित भने वयले दिँदैन
थालूँ नयाँ लग भने पनि शक्ति छैन
बोलूँ सखा मरिसके कति छन् बिरामी
वार्द्धक्य जञ्जिर छडी कि त हो सुनामी ? ।९।

सौन्दर्यको पछि हिँडे पनि तोष छैन
पाण्डित्य भाषण दिऊँ त्यति होस छैन
के देवता भजिरहूँ फल अर्पिएर ?
रुन्छन् महेश मनभित्र निसासिएर ।१०।

ए चन्द्रमा सगरमा किन एक्लिएकी ?
एक्लै बसी सुखखुसी कसरी लिएकी ?
आऊ बसौं सँगसँगै सुखदुःख साटौं
यो अन्धकारमय रात मिलेर काटौं ।११।

निद्रा परी ! बस मिठो सपना दिएर
आऊन् त्यहीँ झलल सन्तति झुल्किएर
छोरीहरू मधुर कण्ठ लिएर आऊन्
छोरा सुरम्य मुरली थपडी बजाऊन् ।१२।

वार्द्धक्य सुन्दर बितोस् मन हर्ष पाओस्
एक्लोपना हृदयमा कहिल्यै नआओस्
सन्तुष्टि दीपक बलोस् मन झल्ल पारी
ज्योत्स्ना सदा थपिरहून् कविता पियारी ।१३।

छन्दः वसन्ततिलका

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.