म र आजको परिवेश

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

पराइ भो समाज झन् बिरानु देश भो घर-
सुखान्तका कथाहरू हुँदै गए निकै पर ,
म भित्रका व्यथाहरू अकाशिएर झ्याड्’गिए-
कसो गरूँ ?स्वबान्धवादि इष्ट-मित्र बाड्’गिए ।

जताततै घृणा, स्पृहा र राग, द्वेष छन् बडा-
अनेक लोभ – मोहका बनेलु वृक्ष छन् खड़ा,
कतै छ सेप छिप्छिपे, हिलो छ गज्गजी कतै-
कतै छ उच्च टाकुरो, अनेक भीर छन् कतै ।

 


यहाँ न सूर्यको प्रभा प्रभातमा छ मुस्किंदो
न जून-दीप्ति रात्रिको प्रकाशमा छ फुस्किंदो
यहाँ छ शक्तिमान त्यो चुसेर रक्त प्यूँछ जो
सुतेर कुम्भकर्ण झैं उठेर पेट भर्छ जो ।

यहाँ छ व्यक्ति – व्याघ्रको स्वरूप साथ गर्जिने
र शब्द सुन्छु सिंहको समाजसम्म थर्किने
लुकेर वा अगाडि नै छ घात गर्न व्याकुल
अनेक हिंस्रकादिको छ त्रासदी उँभो-तल ।
४.
यहाँ छ शक्तिवान त्यो लुटेर खान सक्छ जो-
गरेर नग्न नृत्य त्यो असभ्य र अनर्थको ,
पराइका विपत्तिमा मज़ा लिएर हाँस्छ जो
कुनै मरे मरी रहोस् भनेर कान ढाल्छ जो ।
५.
लछारिंदै पछारिंदै बटारिंदै झटारिंदै
लछारिंदै मठारिंदै छु हेपिदै र चेपिंदै
खँगारिदै लगारिंदै लखेटिंदै छु झन् यहाँ
लिएर रंग गोरुको म जोतिदो छु झन् यहाँ
६.
स्वबन्धु मूक- मौन छन्,समाजमा छ शून्यता
र राष्ट्रवाद-व्योममा छ मेघ व्याप्त कृष्णता
परम्परा र प्रीतिको प्रमादले पिरोलियो
अनार डाल मै गलेर राष्ट्र-अस्मिता झर्‍यो
७.
अनेक जाल-झेलका अचेल खेल छन् नयाँ
अनेक छद्म-कर्म छन् रहेन व्यक्तिमा दया
प्रत्येक व्यक्तिमा ‘अहम्’अकाशिएर फैलियो-
प्रथा समाज भित्रको धुँवा समान फैलियो ।
८.
टका म खोट दाग रे ! गनाउने म घाउ रे !
पलाँसको म पुष्प रे मसानको म भस्म रे
र धानको म भूस रे ! अपाड्’ग दीनहीन रे !
समाजको कलंक रे ! म राष्ट्रघातकी अरे !
९.
ठिकै छ चन्द्र नै तिमी ! समाजको प्रभाकर !
बलिष्ठ-स्तम्भ राष्ट्रको अमोल हार सुन्दर !
र जाम्बवानको मणी ! प्रभातको प्रभा तिमी-
र राष्ट्को ध्वजा बनी युगौं-युगौं रहे तिमी ।
१०.
म भित्र के छ शक्ति त्यो न जाल-झेल या कुनै-
न लूटमार या ठगी न स्वार्थ, भेद-छेद नै ,
असत्यता, अधर्मता,अचूक छद्म, कूट नै –
समाजले पत्याउने प्रमाण-पत्र त्यो कुनै ।
११.
तराजु भै म जोखिएँ , बजारमा म बेचिएँ
भ-याड’ नेतृ-वर्गको भएर चट्ट तेर्सिएँ
लिलाममा म राखिएँ प्रदर्शनी बनें जुगै
म होमिदै छु अग्निमा र संस्कृति प्रथासँगै ।
१२.
न ब्रह्मवादका कुरा, न स्तोत्र पाठ आदि भो
न तीर्थ पुण्यक्षेत्रको पवित्र दर्शनादि भो
न ज्ञानका कुरा भए, न भौतिकादिका कुरा
न द्रव्य-प्राप्ति कर्म भो त हर्षका भए कुरा ।
१३.
न कृष्ण गण्डकी बनेर शालग्राम बोक्दछु
न वाग्मती बनी कतै अशुद्ता पखाल्दछु ?
न व्यासको पुराणको म कृष्ण बन्न सक्दछु-
न बुद्धको ऋतम्भरा बनेर जाग्न सक्दछु ।
१४.
न तन्त्र-मन्त्र-यन्त्रको टुना मुनादि जान्दछु
खगोलका म गोल-गोल तारकादि टिप्दछु
सितार वा गितारको न तार बज्न सक्दछु !
न पारिजातको सुवासिलो समीर बन्दछु ।
१५.
न संस्कृति- प्रभा छरी समाज स्वच्छ पार्दछु
परार्थ निम्ति कालक्षेप मात्र गर्न सक्दछु
न धर्म कर्म,पापपुण्य दानयज्ञ जान्दछु
न भस्म त्यो निधारमा गलेर घुम्न सक्दछु ।
१६.
धरा सरी सहिष्णु भै जुरुक्क उठ्न सक्दछु
न व्योम झैं म फैलिंएर विश्व ढाक्न सक्दछु
अघोर मध्यरातमा झस्याड्’ग हुन्छु उठ्दछु
वितृष्णता पिएर आँसु रात-रात काट्दछु ।
१७.
न वृष्टि भै धरा हरा गरेर छोड्न सक्दछु–
वसन्त भै म रम्यता न सृष्टि गर्न सक्दछु,
न मौनता र शान्तिमा म पेट भर्न सक्दछु –
पिएर वेदनाहरून प्यास मेट्न सक्दछु ।।

छन्द: पंचचामर
केशवराज आमोदी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.