चेली

Narayan, Nirasi, नारायण निरासी, pallawa, पल्लव

नारायण निरासी,

अर्काको वशमा परे दिनदिनै जम्दैन त्यो आसन
हे नारी नसहे कुनै पुरुषको अन्यायको शासन
के बस्छौ दिनरात चोट सहँदै भान्सा पँधेरा कुरी ?
आऊ निस्क चिराग बाल्न पथमा बन्दै तिमी हुन्डरी ।

बढ्दै छन् घटना हरेक पलमा हिंसा बलात्कारका
सारा मौन भई त्यसै बसिरहे संयन्त्र यो राज्यका
मोल्दै छन् खतरा सदैव महिला छैनन् सुरक्षा दिने
निर्दोषी परिबन्दमा परिरहे दोषीहरू उम्किए ।

 

छोराका कति आसमा रुमलिए छोरीहरू जन्मिए
धेरै ल्याइन दाइजो गरिबका छोरीहरू मारिए
कैयौँ गर्भ तुहाइए नवमुना छोरी नजन्मून् भनी
छोरीकै वटवृक्ष मासिन गए चल्दैन धर्ती पनि ।

के हाल्थी धुन कोइली शिशिरमा रेटेर आफ्नै गला
छोरी जन्जिरभित्र बाँधिइरहे सिक्लान् र बाँच्ने कला ?
फड्के राख्नुहुँदैन भास नपरी व्याधा कहाँ चेत्छ र ?
चेलीको घर बिग्रिए पुरुषको सौभाग्य चम्किन्छ र ?

के जान्छौ र युरोपमा अरबमा बाधाहरू तेर्सिए
कैयौँका करकापमा महलमा चेलीहरू बेचिए ।
हामीले किन काँध हाल्नु घटिया कोही कसैले बने
मिच्छन् कानुनका दफाउपदफा हेरेर बस्दै गरे ।

माग्दा न्याय नपाउँदा सडकमा बल्दै छ आगो यता
बुझ्दैनन् किन क्रूर शासकहरू चेलीहरूको व्यथा ?
खेलौना नबनून् परेर वशमा नारी कुनै ठाउँमा
हे नारी बस गाउँमा सहरमा स्वाधीन संस्कारमा ।

पस्दै छन् घरका सँघार सुरमा चिल्था पतेरा घुन
हामीले अब ल्याउने प्रण गरौँ फाँसी दिने कानुन
झुक्याई मुख गाडिहाल्छ दुदको भान्से बिरालो हुँदा
के हेर्छस् सरकार आज कलिला नानीहरू मारिँदा ?

– नारायण निरासी, Narayan Nirasi
हरिवन ७, सर्लाही

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.