बिर्खे अन्जानका केही मुक्तकहरूः

Birkhe, Anjaan,बिर्खे अञ्जान, pallawa , पल्लव

बिर्खे अञ्जान,

अन्याय त गर्न हुन्न रगतको आहाल होला
बाँच्ने रहर अधुरो भै जिन्दगीको काल होला
बारूदसँग खेल्छु अचेल बन्दुक मेरो साथी भाछ
नजिस्क्याउ आगो हुँ म खरानीको हाल होला ।

समयको आगो भित्र खुर्सानीको खार सहेँ
कयौंपटक अचानो भै खुकुरीको मार सहेँ ।
पहाड हुँ म ढल्नेछैन नजिस्क्याउ आँधी तूफान
रगतको होली खेल्दै हतियारको धार सहेँ ।

 

बिधाताले लेखिदेको भाग्य आफ्नो मेटौँ जस्तो
किन लाग्छ बोली रहुँ सधैं उस्लाई भेटौँ जस्तो ।
निको कैले हुन्न होला पिरतीको गहिरो रोग
भएको छु तस्बिर पनि चुम्वनले रेटौँ जस्तो ।

वादविवाद पर्छ सधैं हुदैछ कि युद्ध जस्तो
अरूलाई नानाभाँती आफूचाहिँ शुद्ध जस्तो ।
विर्सिएर रक्त रञ्जित इतिहासका पानाहरू
अरूलाई हिटलर भन्छ साच्चैआफू बुद्ध जस्तो ।

खुसी लाग्छ हिलो मैँलो आफ्नै बिश्वास आँटतिर
मखमली बिझाउँछ निन्द्रा छैन खाट तिर
मुर्खहरू धन्कै लागि गर्छन् सधैं हानाहान
धनी पनि रित्तै जान्छ एक दिन घाट तिर ।

दुःख पर्दा हात दिने छैन कुनै भर मेरो
काँ होलान् बा आमा, के होला थर मेरो ।
भोक लाग्दा खाना छैन,लगाउँने नाना खै
आकाश नै छानो अनि खुल्ला धर्ती घर मेरो ।

जाऊ फ्वाँक लगाऊ आजै तिम्रो सातु देश त हो नि-
तिमीले दिने हाम्रा लागि बैंसको ढुङ्गो ठेस त हो नि,
म त हुँ राजा मनको मेरो देश बचाऊ या फाल कतै-
तिम्रो लीला दन्त्य कथामा रहने भोलि शेष त हो नि ।

कर्कलाको पानी पनि झरेपछि सक्की हाल्छ
खुशी पनि बिधाताले हरेपछि सक्की हाल्छ ।
ब्यर्थ हुन्छ धन दौलत अभिमान गर्नु पनि
जिन्दगानी केही हैन मरेपछि सक्की हाल्छ ।

अमृत घडा गर्भभित्रै पिलाएर ल्याको जस्तो
ध्रुवसत्य कुरा समेत मिलाएर ल्याको जस्तो
आफ्नो अर्को नभनेर मरिमेट्छन् धनकै लागि
कात्रोभित्र बगली नै सिलाएर ल्याको जस्तो ।

प्रगति त त्यही मात्र सबै सामु बिक्नु रैछ
तलमाथि हैन केही अडिक भै टिक्नु रैछ।
इमानको मूल्य कैले तराजुमा जोखिदैन
जिन्दगी त प्रयोगशाला सधैंभरि सिक्नु रैछ।

सोह्र दुने आठ पढ्छन् ठुलाबडा जान्नेहरू
आफूलाई शक्तिशाली बाहुबली ठान्नेहरू ।
निर्दोषको घाटीमाथि पर्छ तिनको हात सधैं
स्वयंलाई शान्ति दुत न्यायाधीश मान्नेहरू ।।

छातीभित्र दुश्मनको नाम भरू जस्तो लाग्छ
भत्काउँछ मेरो बाटो ,फूल छरू जस्तो लाग्छ।
मान्छे न हो एकदिन परिवर्तन हुन्छ आफै
ढुङ्गा हान्छु भन्छ ऊ ,पूजा गरू जस्तो लाग्छ ।

कायरहरू अक्सर कमजोरहरूलाई खोज्दै चड्काउँछन्
सकेसम्म आफ्नो पक्षमा नभए अरूलाई भड्काउँछन्
उनीहरूले भर्खरै बहादुरीको तक्मा पाए सरकारबाट
देखिएन मैदानमा कैले प्रायः लुकेरै बन्दुक पड्काउँछन्।

बिर्खे अञ्जान
पालुङ, मकवानपुर .

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.