जयदेव गोविन्द का जोर कविता:

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

१) चिन्तन र दृष्टान्त
हेर्ने शक्ति घट्यो भने नजरमा लाइन्छ चस्मा तर
औंला कान र नाकको भरविना केमा अड्याइन्छ र ?
चस्माको उपयोग माग रहने आँखा रहेसम्म हो
त्यस्तै पात्र र नाम चर्चित हुने चर्चा भएसम्म हो

रोगी नै नभए जगत्-भर कतै बिक्तैनथे औषधी
पानी नै नभए सलल्ल कसरी उर्लेर बग्थे नदी ?
मर्छन् सीप र दक्षता समयमा खाँचो परेनन् भने
शोभा दिन्छ वसन्त के शिशिरमा पत्ता झरेनन् भने ?

 

 

हाम्रो जीवनका शुभाशुभ कुरा छन् नित्य सम्बन्धित
बच्चाको तन सालनाल जसरी जोडिन्छ आमासित
होला को कहिले सतर्क मनमा लाग्दै नलागे भय ?
मान्छे जन्मनुपूर्व शिक्षित भए चाहिन्न शिक्षालय

साँचो प्रेम सदाबहार रहने सम्बन्धको यन्त्र हो
तिर्खालोभविहीन मेल समता लम्ब्याउने मन्त्र हो
हामीभित्र घनिष्टता यदि भए चाहिन्न विज्ञापन
हाहाकारविना मिली दश दिशा हेर्छन् दुई लोचन

कारागार कहाँ रहन्छ थुनिने कैदी नपाएपछि ?
देलान् निर्णय के अदालतहरू मुद्दा नआएपछि ?
हुन्छन् निष्कृय झैं अयोग्य लगमा थन्क्याइए जाँगर
चम्चाले जल छर्किएर कसरी घट्ला महासागर ?

मैला धूमिल तुच्छ वस्तु नभए दाँजिन्न सङ्लोपन
पापी दुष्ट नजन्मिए ‘असल’मा पर्छन् कहाँ सज्जन ?
दाँज्ने विम्बविना कुनै मनुजको छुट्टिन्न दर्जा क्रम
राजा रङ्क महन्त चिन्नु कसरी उस्तै भए आश्रम ?

ताल्चा नै नभए किनेर घरमा को राख्छ साँचाहरू ?
नानीबाबु नजन्मिए पसलमा को किन्छ चाचाहरू ?
विद्या हुन्छ अकार्थ शिष्यजनले बुझ्दै बुझेनन् भने
को बन्लान् भगवान् उपासक गई पुज्दै पुजेनन् भने ?
छन्दः शार्दूलविक्रीडित
(भाग: चार)

२) विचार र दृष्टान्त
मान्छेमा हुनुपर्छ धैर्य जति नै आपत्ति आए पनि
उम्ली मात्तिनु हुन्न लाभ सहसा सर्वस्व पाए पनि
भड्केको रटना कुतर्कबलले हुन्नन् समस्या हल
ढुङ्गाकै खिचडी बनाउन मिले चाहिन्नथ्यो चामल !!

स्रष्टा लेखक बन्नु हुन्न घटिया व्यापारका साधन
भर्नै हुन्न कदापि धक्कु कटुता बेढङ्ग विज्ञापन
गाह्रो हुन्छ कला र चिन्तनविना साहित्य रच्ने कुरा
चोयाले पनि केश काट्तछ भने के काम कैँचीछुरा ?

सत्ता शासन चल्नु पर्छ विधिमा अस्तित्व धान्नेगरी
सस्तै बेचिनुहुन्न शासकहरू कालो नशामा परी
खोक्रो पार्दछ राष्ट्र उच्च पदमा दुष्पात्र कर्ता बने
के होला पगरी झिकेर शिरमा लायो लँगौटी भने ?

जस्तै ज्ञान अथाह आर्जन गरोस् संसार जानोस् तर
सोद्धा प्रश्न छिटै रिसाउँछ भने त्यो व्यक्ति हो बाँदर
जो सम्बन्धित छैन जे विषयमा बस्तैन ऊ यादमा
जस्तै सुन्दर होस् तथापि भुजले को भेट्तछन् चन्द्रमा ?

बाधा ठक्कर ठेस उच्च गुरु हुन् हो धैर्य निर्देशक
बैरी निन्दक हुन् सचेतकहरू ती उच्च हुन् शिक्षक
माया वा सुखदु:ख मिश्रणविना जानिन्छ के जीवन ?
पानीबाट विमान मोटर चले बिक्तैनथे इन्धन !!

टुङ्गोसारविहीन हुज्जत गरी पाइन्छ आधार के ?
थुप्री होटलमा चियागफ गरी देखिन्छ संसार के ?
हावामै ठडिने भए धरहरा बिक्थ्यो घडेरी कुन ?
झर्थे बादलबाट बालक भने चाहिन्नथ्यो मैथुन !!

बोली उग्र गरेर मात्र जगमा उम्दा बनिन्थ्यो भने
चाहिन्थ्यो किन औषधी गरलले आरोग्य दिन्थ्यो भने ?
खोकीले पृथिवी प्रकम्पित भई भूकम्प जाने भए
को मर्थ्यो ‘यम’ ओर्लिएर जिउँदै बोकेर लाने भए ?

छन्दः शार्दूलविक्रीडित
जयदेव गोविन्द

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.