छोडें बुहारी घर

Dharmanand, Bhatt, धर्मानन्द भट्ट, pallawa, पल्लव

धर्मानन्द भट्ट

आँखा आँसु दिई तिमी किन गयौ भन्छन् मुमाबाहरू
यस्तो शब्द सुनेर सोच्छ मनले बस्नेछु एक्लै बरु ।
आमाको मनभित्र बस्न म सकूँ ठूलो त्यही हैन र
शिक्षा लिन्छु भनी बसें शहरमा छोडें बुहारी घर ।।

मेलापात कसो गरी अब गरूँ एक्लै यता लौ भन
तिम्रो साथबिना यता त घर औ औसी भयो यो मन ।
एक्लो बाँच्छु म नै खुशी मन सधैं आमा बुहारी गर
पाऊँ मार्ग यही भनी कहरले छोडें बुहारी घर

 


कस्तो हुन्छ भनेर गाउँघरको सास्ती बुझेको म छु
नाङ्गो काय म कामको मुसलझैं वर्षा रुझेको त छु ।
सम्झी पुत्र तिमी लिए खुशहरू पर्दै बुहारी भर
पाऊन् साथ मुमा भनी दिनदिनै छोडें बुहारी घर ।।

गाईवस्तु घराँ दुधालु पनि छन् हो बाध्यता औ मल
आफ्नै साथ लिएर सीप म छिटो फर्किन्छु आफ्नै थल ।
बाह्रै मास किसान पुत्र हुँ बुझी राखी किसानै थर
सीमा मिच्छ लुकेर दुश्मन भनी छोडें बुहारी घर ।।

प्यारी ए सरु लौ पढाइ म सकी फर्किन्छु छिट्टै भनी
पारौंला नि बसी तिमी र म दुबै आमा खुशी है अनि ।
धेरै वर्ष यता बसिन्न अब ता छोडेर आमा पर
रक्षा होस् घरको भनी दिन दुई छोडें बुहारी घर ।।

छोराको ममता दिए सरु तिमी हाँसीखुशी भैकन
आमा ईश्वर हुन् बुझी दिनदिनै आमा खुशी होस् मन ।
एक्लो ज्यान गरेर दु:ख नि सहें मैले हजारौं तर
ब्वारीसाथ खुशी रहोस् मन भनी छोडें बुहारी घर ।।

आमाको मन बागमा मखमली लाखौं फुलाऊन् भनी
सङ्गै साथ दिऊन् भनेर जननी खानी दयाको बनी ।
माया साथ बसी बुनेछु सपना जोडेर धागो हर
बाँझो खेत नहोस् फुलोस् खुश भनी छोडें बुहारी घर ।।

छन्द: शार्दूलविक्रीडित
धर्मानन्द भट्ट
ढाकारा, लेकम गाउँपालिका- ०२, दार्चुला ।
रचना मिति: वि.सं. २०७४/०८/२१ गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.