मिरा तिमिल्सिना ‘धरा’का केही मुक्तकीय टुक्राहरूः

Mira, Meera, Timilsina,,मिरा तिमिल्सिना ‘धरा‘, pallawa, पल्लव

मिरा तिमिल्सिना ‘धरा‘

तिम्रो साथ टुटे पनि भुल्न सक्छु संसारमा
बालुवाको टापु बीच फुल्न सक्छु संसारमा
मायालाई छोड्न सक्ने निष्ठुरी म कति रुनु
मग्मगाउँदो फूल बनी डुल्न सक्छु संसारमा ।।

हर ठाउँमा श्रम शोषण किन हुन्छ यहाँ
न्यून तलब पसिनाको खोली मन् रुन्छ यहाँ
मात्र निमुखो चुसी उँभो लाग्ने हो र दुनिया?
कात्रोमा बगली भरी लाने भन कुन्छ यहाँ?

 

जस्तो थियो हिजो यो माया उस्तै छ आज पनि
चौतारीमा वरको छायाँ उस्तै छ आज पनि
प्रकृतिको प्रशंसा प्रेम सहित गर्दै छु म
टुटेको मुटु जोडेँ कायाँ उस्तै छ आज पनि।।

धड्कन बनी तिमी बस्यौ रुके मर्छु थाहा नै छ
यता छोडी अन्त मन झुके मर्छु थाहा नै छ
आफैलाई था छैन किन यति कमजोर भएँ
जोडिएको मन मुटु चुके मर्छु थाहा नै छ।।

हाँसेर नै वितोस जीवन जति चोट दिए पनि
हिक्मत कहिलै नहार्नु है जति खोट दिए पनि
काम गर्नेले नै बिगार्छ,घोडा चढ्ने लड्छ साथी
जलन् उत्पीडन उस्तै छ जस्लाई भोट दिए पनि।।

नदीमात्रै बगेनन् अरु सबै उल्टो बगे
देख्दा पनि अचम्म सन्तानैले आमा ठगे
त्यो प्रसव पीडा,ममता र मातृत्व बुझ्छौ?
कठै!चाहेनन् ऋण तिर्न ज्यूदै घाट तिर लगे।।

आमालाई रुवाएर पत्थरमा देवता खोज्छौ हामी
वात्सल्यलाई कुल्चिएर वासनालाई रोज्छौँ हामी
मात्र धुप दीप नैवेध्यले सुगन्धित पार्छ मन्दिर
अहमताको बली नदिई निर्दोष्मा वाण घोच्छौ हामी।।

छियाछिया किन पार्छौ ?कठै!आफ्नै आमालाई
गिद्धे नजर कति गाड्छौ चिचिला ती जामालाई
हातपाउ टुक्राटुक्रा पार्दै बेच्न तौलिएका छौ
सक्छौ भने थाप गोली जोगाउ साँधका खामालाई।।

आकारमा सानो ठुलो जे होस् समान अस्तित्व हुन्छ
घर माइतीको नाता हैन छिमेकी हौँ मन रुन्छ
राजनीति मुटू चिर्छ कलमकार मित्र बुझिदिनोस्
पेटमा हाम्रो लातमारी हाम्रै जलले पाप धुन्छ।।

साथमा यौटा
गजल
शिक्षाको उज्यालो घाम बोकेर आउनु तिमी
भोकै छन् बचेरा माम बोकेर आउनु तिमी

वन/जङ्गल ,जमिन सबै खेर गइराछन्
खाली भो पहाड गाम बोकेर आउनु तिमी

पराइको उन्नतिमा झुलिराछौ किन त नि ?
सीप सिकी नयाँ काम बोकेर आउनु तिमी

वर्षौ भयो प्रतिक्षारत जीवन विताएको
दु:ख खप्नु कति दाम बोकेर आउनु तिमी

मीठो खान विदेशीको किन गर्छौ गुलामी लौ!
गुमाएको आफ्नो नाम बोकेर आउनु तिमी।।

“धरा”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.