शान्ति अधिकारीका केही मुक्तकहरूः

Shanti, Adhikari,शान्ति अधिकारी, pallawa, पल्लव

शान्ति अधिकारी

स्वर्णिम ती पलहरुको नासो बनाएर
छाडी दियौं दुनियाँको हाँसो बनाएर
बिश्वास टुटे जिन्दगीमा के रहन्छ बाँकी
मर्नै पार्‍यौ त्यहीँ मायाको पासो बनाएर ।।

आपत पर्दा भर बनेर कोहि आए देखि
केही त राम्रो गर भनेर कोहि आए देखि
जिन्दगीले साँच्चै कोल्टे फेर्ने थियो कि त
मन भित्रको डर खनेर कोहि आए देखि ।।

 

थियौ प्यारी बैनी मेरी टाढा भइ गयौ
बसेको छु फोटो हेरि टाढा भइ गयौ
निष्ठुरी त्यो दैव लाग्यो खोसी दियो खुशी
मानवको चोला फेरि टाढा भइ गयौ ।।

हिजो सँङ्गै हुन्थ्यौँ भने के के हुन्थ्यो होला
साँचो कुरा सुन्थ्यौँ भने के के हुन्थ्यो होला
आज जस्तो भोलि हुन्न भनी एक अर्कालाई
जीवन साथी चुन्थ्यौँ भने के के हुन्थ्यो होला ।।

खै कहाँ के पुग्दैन र टाढिन्छ्न् आफ्नाहरू
अंश बण्डा लाए जस्तै बाँडिन्छ्न् आफ्नाहरू
भाग्य या त समयले साथ दिन छोडे पछि
चोट माथी चोट दिन नारिन्छन् आफ्नाहरू ।।

लेख्न त लेखौँ साथी बिचार गरेर लेखौँ
भावना भित्र ईन्द्रेणी रंग भरेर लेखौँ
शब्द रुपि फूल टिपि गाँस्दै प्रेमको माला
खुसी जीवन जिउन अघि सरेर लेखौँ ।।

आउ मिलौँ सुन्दर घर संसार बनाऊ
सु ख दु ख जे भए पनी खुशी मनाऊ
धेरै गर्‍यौ केही नसोची बिरोधका कुरा
जिन्दगी बुझ्न केहि त सहमति जनाऊ ।।

कसरी पो भनौँ आधार हुन्छ भनेर
देखेका सपना साकार हुन्छ भनेर
यहाँ ऋतु बदलिन्छ उ त अझै मान्छे
भन्दिन म सदाबहार हुन्छ भनेर ।।

आँखाले देखिदैन माया हेर्ने मनले हो
काँडे तारको बार हैन घेर्ने मनले हो
लगाएको माया देखावटी हैन भने
आत्मीय अङ्गालोमा बेर्ने मनले हो ।।

आशा नहुँदा मन आँखाहरू छ्न् शून्य
प्रेमविना यी डाँडा पाखाहरू छन् शून्य
बुद्धको हो यो भूमि गराई हत्या हिंसा
न्याय मारेर केन्द्र शाखाहरू छन् शून्य ।।

छाती भित्र देश नभई स्वार्थ पाली राख्नेहरू
खुशी भाछन् कुकुरलाई हड्डी फाली राख्नेहरु
कति गर्छौ जननीलाई खुलेआम बलात्कार
पाप लुकाउन स्वम घरमा आगो बाली राख्नेहरू।।

कहिले लाग्छ तिम्ले गर्ने माया कंचन हिमाल जस्तो
त्यही माया कहिले लाग्छ धान झारेको पराल जस्तो
मैले गर्ने प्रेममा तिमीले शङ्का गर्दा यस्तो लाग्छ
गरिब जीवन तड्पाई तड्पाई मार्ने अनिकाल जस्तो ।।

राम्रो कुरा पचाउने नि आँट गरौं न
निराशालाई हटाई मनमा आसा भरौं न
बिरोध मात्र हैन राम्रो कामको समर्थनमा
कुरा हैन काम गर्नलाई अघि सरौं न ।।

अभियान छ शहरमा हिंसा हुन्छ गाउँमा
हर कुराले पछि पर्यो मन रुन्छ गाउँमा
नारा जुलुस जति सुकै भाषण ठोक तिमी
हेर पीडितको आवाज कस्ले सुन्छ गाउँमा ।।

तिरस्कारले झन झन घृणा भरेर त होला
आउनै छाड्यो सम्झना मन मरेर त होला
माया भए सबै पुग्छ भन्ने जस्तो लाग्थ्यो हिजो
लाग्दैन अचेल खुशी अन्तै सरेर त होला ।।

बग्दै गए त हो नि सुके किनार हुन्न
फरक भएसी धार उस्तै बिचार हुन्न
कस्ले उठायो आँधी अस्तित्व खोज्न भन्दै
आँधी सँगै उडेसी साँचो पुकार हुन्न ।।

समाऊ मलाई लडाई नजाऊ
भताभुङ्ग यस्तो बनाई नजाऊ
उदासीनतामा कहाँ शक्ति हुन्छ
सदाचार आफ्नो जलाई नजाऊ ।।

बास्ना छर्ने योवन अनि जाली मनको भर हुदैन
छ समर्पण माया भित्र ~~~~भने कुनै डर हुदैन
खोज्दै हिड्छ फक्रेको फूल रस पानगर्ने भँवराले
बेहोसीमै लाउँदा आगो ~नजल्ने त्यो खर हुदैन ।

जसोरी घुमायौ घुमे त्यो बाटोमा
र फूलै फुलाँए हिलाम्मे माटोमा
छदै छैन केही भनेनी त्यो दर्द
कहाँ लुक्न सक्यो पुरानो टाटोमा ।

शहर बस्न थाले मान्छे डेरा जमाएर
खुशी खोज्दा पाउने दु ख भित्र रमाएर
ईमानको पर्दा झारी खेती बैमानीको
गर्न पाए को हिड्छ सोझो बाटो समाएर ।

भए फूल यस्तो नफुल्दै झरेको
थियो सास चल्दै बनायौ मरेको
न आयो सुनामी न थ्यो भेल बाढी
कसोरी म ठानौ बसाई सरेको ।।

दिएनौ नमाग्दै सिरानी दिएनौ
बने रात कालो बिहानी दिएनौ
रमायो शहरमा म एक्लै रुँदानी
दियौ कष्ट धेरै जवानी दिएनौ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.