रामराजा तिमिल्सिना का केही टुक्राहरूः

Ramraja, Timilsina, Belkot, रामराजा तिमिल्सिना‎ , pallawa, पल्लव

रामराजा तिमिल्सिना‎

१) गजल
म पुर्खा सदा सम्झिने गर्छु आमा
म त्यै वीर भै लम्किने गर्छु आमा

म सेना सिपाही म मा राष्ट्र बाँच्छ
म वैरी सिधै झम्टिने गर्छु आमा

म यौटा धरा पुत्र नेपालकै हूँ
म जो शत्रु छन् छप्किने गर्छु आमा

 

म आमा वुवाको बनौ पुत्र प्यारो
म यै जिन्दगी तप्किने गर्छु आमा

म त्यो फूल हूँ सम्झ नेपाल को नै
म त्यै वासले हर्षिने छु आमा

म मेरै गरामा सिमा मिच्न आए
म गोली बनी बर्षिने छु आमा
बहरे मुतकारिव

२)
आँखाले नै प्यार गाँसेर आऊ
छातीमा नेपाल टाँसेर आऊ
वैरीले बाटो नपाएर भागून्
होस् आफ्नै संसार बाँचेर आऊ

पूर्खाको त्यो साहसी वीर गाथा
आत्मा साक्षी बस्छ हाँसेर आऊ
आफ्नैले आफ्नो नमारौँ न मायाँ
मायाँकै बाटो समातेर आऊ

आऊ राजा राजधानी बनाऊ
मान्छेका वैराग नासेर आऊ
द्यौताकै द्यौ भूमि नेपाल नै हो
द्यौतामा सद्भाव राखेर आऊ

ढुङ्गा माटाको शिला जिन्दगीको
त्यो बन्देऊ प्राण ढाकेर आऊ
बाधा यी लाखौं हजारौं छ भन्छन्
मूला जस्तै चट्ट काटेर आऊ ।।

३)
हर वानरका छलका कविता
घट कारक बादलका कविता
कविका कविता अब शून्य भए
गणतन्त्र मुखी दलका कविता

कवितै कविता जति छन् रमिता
प्रत्युपादक छन् सरकार सित
अपराध सयौँ त जघन्य भए
खल दानव पागलका कविता

दलका कविता बलका कविता
कवि भाव विना पलका कविता
सत सत्य घटाघटका कविता
छ अनित्य सफाचटका कविता

अनिवारणका छुटका कविता
सब माथि पुगे लुटका कविता
छ त बन्धु कुटाकुटका कविता
परिवार फुटाफुटका कविता

पर धर्म घुस्यो भुसका कविता
छ विवेक लुछालुछका कविता
किन संस्कृत बेखुशको कविता
अति भेद मुछामुछको कविता

४)
ती आमाको , मन वचनले, काख छोडेर टाढा
बन्छौ दोषी , हृदय पथमा, त्यो लगाएर काँडा
आत्मा रोगी,तन वदनमा, सास मात्रै रहेछौ
ए मान्छे हो , मनुज पन खै, लास जस्तै भएछौ

जो वैरी हो, उ निकट गयौ , धर्म सोच्यौ पुरानो
लाग्यौ नाङ्गै , हुन किन गयौ, ताज झारेर छानो
ती आमाले , कति दुख गरी , कोखमा राखिएको
बिर्सेका छौ, कुन विपदले , जन्म तिम्रो दिएको

ए नेपाली, जनक जननी, भुल्न सक्दैन कोही
हाँगा बिङ्गा , विहिन रुखमा, फुल्न सक्दैन कोही
यौटा त्यस्तो , कुसुम बन है, वासनाले सजाऊ
यो पुर्खाको, अमर धरती, धर्म सम्झेर आऊ

टाढा टाढा , न सर मनले , राष्ट्र नेपाल तिम्रै
बाटो रोजे, त त्रिभुवनकै , हुन्छ संसार तिम्रै
त्यो मान्छे भै, मन मगजमा , धर्म वैरी हटाऊ
साँचो आत्मा, हुन हृदयमा , वेदका मन्त्र गाऊ

५) केही छन्दका टुक्राहरूः
लाली गुराँस मुटुमा किन फुल्न खोज्छन्
उत्साह अन्त्य छ कठै! निमिट्यान्न पार्छन्
बेछन्दको छ कविता रस राग छैन
वैली झरे कुसुम यी र सुवास छैन

छर्छन् विराग शठ मानिस झैँ पढेका
सच्चा दिमाग किन आँगनमा लडेका
यो छन्द शास्त्र जिउँदो छ अभाव छैन
यो छन्द साधन हो चेतन ह्रास छैन

प्रित बनेर आऊ तिमी गीत बनेर आऊ
तिमी मेरो जिन्दगीको रीत बनेर आऊ !
दु:ख सुख त सधैं चलिरहन्छ जिन्दगीमा
बाधा अड्चन पन्छाउँदै जीत बनेर आऊ !!
वसन्त तिलका

२)
बाटो हो कविता नितान्त कविको , हो साधना लेखनी ।
छन्दो गुञ्जन हो बहाव लय हो, ती गेयका हुन् ध्वनि ।।
भारी स्वादन पोख्छ भावहरुले, झुण्डिन्छ जिब्रो भर ।
हाम्रो शास्त्र विशाल छन्द पुर हो ,के छन्द निर्धो छ र ।।

भाषा शुद्ध गरेर गाउन दिने , यै छन्दमा छन् खुबी ।
भाका लाख सयौं सजाउन दिने,यै छन्द हो माधुरी ।।
बोलीमा छ मिठास ताल यति छन् , सङ्गीतकै हो भर।
नेपाली हरूहो उठाउँ लय यो , के छन्द निर्धो छ र।।

शार्दुलविक्रीडित ।

६) केही मुक्तकहरूः
मर्न बरू सजिलो छ उनको मायाँ मार्न गाह्रो
आफू वारि बगरमा छु उनलाई पारी तार्न गाह्रो
यो जिन्दगी यस्तै यस्तै पीरै पीरमा ढल्ने भो
जरा जति काटे पछि , ज्यान को बिरुवा सार्न गाह्रो

खै कस्तो जिन्दगानी बल जफत मिले चोटका छाल मात्रै
पीडा टाँसी दिएको अविरल रिपुका खोटका भाल मात्रै
खेताला खेतमा छन् धुम अधुम खलो त्यो खलैले उठायो
पाकेका अन्न छैनन् सब श्रम पसिना त्यो बलैले चुँडायो

पाथी मानो मुठी सम्म पनि नरहने खेत वारी छ कस्तो
सामन्ती साहुको जोत प्रचलन हली आज जारी छ जस्तो
हूरी आयो डग्यो जीवन पर पर टाढा कहाँ हो पुर्‍यायो
खेताला खेतमा छन् धुम अधुम खलो त्यो खलैले उठायो ।।

बन्यो रुग्ण बाटो मजाको मजाको
जहाँ वासना फूलमा छैन आ को
छ सङ्कीर्ण यो काठमाण्डौ सखी हो
बन्यो हार मेरो कथाको ब्यथाको

भयो आज रित्तो छ खल्ती गरौं के
बसी भोक भोकै म गल्ती गरौँ के
रह्यो भिन्न यो काठमाण्डौ सखी हो
सयौं हार खेपी म पल्टी मरौँ के ।।

रामराजा तिमिल्सिना
बेलकोट गढी– ८, नुवाकोट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.