सिर्जना शर्मा का केही मुक्तकहरूः

Sirjana, Sharma , सिर्जना शर्मा, pallawa, पल्लव

सिर्जना शर्मा

चुनौती छिचोल्दै हिँडून् पाइला यी
र अन्यायलाई किचून् पाइला यी
सदा कामना गर्दछे सिर्जना यै
कुना कन्दरामा पुगून् पाइला यी !!

उडेर आज चन्द्रमा छुने छ लक्ष्य साथमा
म कर्मशील भैरहूँ दिवा प्रभात रातमा
न हेप मूर्ख झैँ गरी, म यत्तिमात्र भन्दछु-
टिपेर सूर्य ल्याउने कला छ हेर हातमा !

 

विरोध गर्छु, मौन भै सकिन्न बस्न क्यै गरी !
अबोध “निर्मला” झनै उठाउँछिन् घरीघरी !
न पर्छ नीद रातमा न जाग्छ भोक आँतमा !
म न्याय माग्छु देशमा अगाडि नै सरीसरी !!

“झुमेर भन्दछन् यहाँ शरावमा छ जिन्दगी !
नदी बनेर उर्लिने बहावमा छ जिन्दगी
ढुकेर बस्दछन् सधैँ कुपात्र चोक चोकमा
छ हिँड्नु तीक्ष्ण धारमा धरापमा छ जिन्दगी !”

म भाग्य हेर्न हुन्न है भनेर कर्म गर्दछु
र हार्न हैन राष्ट्रमा जितेर मर्न खोज्दछु
अनेकपल्ट पाइला सरे पछाडि फर्किए
लडेँ भनें अवश्य नै म फेरि उठ्न जान्दछु !

निचोरेर यो देश आफू रमाए
मिली माफियासङ्ग सक्दो कमाए
बनाएर कङ्गाल नेपाललाई
यिनै भ्रष्ट नेताहरू छम्छमाए !

यहाँ थापिएको अनेकौं छ पासो
बढेको छ धेरै यसै भित्र चासो
कठै ! मारिइन् निर्मला खै निसाफ ?
कहाँ मिल्छ त्यो न्याय गर्छौं गुनासो !!

बग्यो आँसुको भेल को रोक्न सक्छ !
अनेकौं व्यथा- नेल को बोक्न सक्छ !
“धनी” जोसुकै जत्ति नै गर्व पालोस्
यहाँ प्रेमको मोल को तोक्न सक्छ !!

तिमी साथमा छौ र बाँचें खुसीले
बज्यो गीत भित्रै र नाचेँ खुसीले
गरौँ स्वप्न-यात्रा दुबै सङ्गसङ्गै
मिठो प्रेम नै प्रेम साँचें खुसीले !!

फूल्नै नपाई कोपिलामै सुटुक्क झरें भने
जिन्दगीको महायात्रा बग्दै खोला तरें भने
सम्झी आँसु नबगाउँनु फूल नचढाउँनु
तिम्रै कारण यदि म अल्पायु मै मरें भनें ।।

जस्तो थियो हिजो यो काया उस्तै छ आजपनि
वर र पिपलको छाया उस्तै छ आजपनि
फेरियौ सिर्जना तिमी फेरियौ कसरी भन्यौ ?
तिमीप्रतिको मेरो माया उस्तै छ आजपनि !!

आँखाअघि तिमी भए पुग्छ भन्ने थाहा थियो
उता चोट पुगे यता दुख्छ भन्ने थाहा थियो
के अस्तित्व छ र मेरो दुनियाँमा तिमी बिना
सिर्जनाको धड्कन यो रुक्छ भन्ने थाहा थियो !!

अचेल हजारौं सपना बुन्दै घरमा पाइला टेक्छु
सन्तान भेट्ने आशमा बा को आखामा खुसी भेट्छु
मलाई मेरा दाजुहररूको सम्झना बेहद हुन्छ साथी
जब म घरको आगनको डिलमा सयपत्री देख्छु !!

लागेको थिएन यस्तो जात्रा गर्न सक्छौ
पठाइदिन्छु को संग वार्ता गर्न सक्छौ ?
कति सजिलै मलाई बिर्सी दिनु भन्यौ
के मेरो सिङ्गो मुटु फिर्ता गर्न सक्छौ ?

आफू बलियो अरू कमजोर ठानेको छ सरकारले
जनता झुक्याउन अनेक छल जानेको छ सरकारले
यो देशमा निर्मलाहररू चिच्याउदैछन् न्यायका निम्ति
चुपचाप बसेर आँखामा पट्टी बाधेको छ सरकारले !।

सिर्जना शर्मा
रुकुम

One thought on “सिर्जना शर्मा का केही मुक्तकहरूः


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.