हिरा भट्ट का जोर कविता

Hira, Bhatta,हिरा भट्ट ', pallawa, पल्लव

हिरा भट्ट

१) प्रसवमा कर्णाली
ल्यायो डोली क्रम समयले बैंसको पन्ध्र टेकी
घुम्टो खोल्दा शिर उपरमा हाँस्छ सिन्दूर रेखी
पीडा खेप्दै रजरगतले छाउगोठे शिलाको
हेर्दाहेर्दै उदर चुलियो बैंसकी कोपिलाको
।१।
मुङ्ग्रो हान्दा दिनदिन रुढी खाद्यमा तारबार
गर्भावस्था शिशु र जननी मर्दछन् बारबार
डोको नाम्लो प्रतिपल सँगै बेरियो जिन्दगीमा
रारा खोज्दै कतिकती बग्यो आँसुको छैन सीमा
।२।

 


छाम्दै जाँदा भ्रुण चुलबुले पेटमा दिन्छ धक्का
जन्म्यो क्यारे कुतकुत गरि एक मातृत्व पक्का
गन्दा गन्दै दिन पल घडी थाल्छ मातृत्व पाक्न
खोज्थ्यो होला उदर शिशुले भूमिमा पाउ राख्न
।३।
उच्चा उच्चा गिरिअघि सरे छेकिए अस्पताल
झर्ना बन्दो नयन बिचमा भावना लाल लाल
धामी झाक्री कति बटुलिए दानको छैन लेखा
देवी हार्दा किन नजिकमा देवता हुन्न देखा?
।४।
आगो दन्क्यो तन विपिनमा आँसुमा आँसु झोसी
हेर्दै लाग्थ्यो अनल रिपुले लान्छ मातृत्व खोसी
फुस्रा आँखा नभतिर सरे टिल्पिलायो परेली
ऐय्याय्याया धुनभरि बग्यो भावनाको तरेली
।५।
निर्धा आन्द्रा कटकट दुखे च्यातियो सालनाल
हेर्दाहेर्दै तन तरल भै छल्कियो रक्तताल
फुल्दो खुल्दो नव वय उषाकालमा पर्छ रात
कर्णालीमा शव विलय भो आँसुका भेलसाथ
।६।
आँखा बग्छन् तरल कविका दृश्य छामेर लेख्दा
अग्ला डाँडा तलतल धसे जीर्ण मातृत्व देख्दा
यो हो सच्चा टिलपिल कथा आँसुले लेखिएको
कर्णालीको कलरव चुमी व्योममा देखिएको
।७।
छन्द: मन्दाक्रान्ता

२) झुप्रोको असामयिक निधन
कुर्सीसामु कथा व्यथा कहरका पोख्ने इरादा थियो
पालेमार्फत भेट्न आग्रह गरेँ ऊ व्यस्त भो भन्दियो
भोको पेट मिची रहेँ म बलले ऊ भोजमा मस्त छ
रोएँ फुर्सदमा थिएँ महलमा ऊ व्यस्तको व्यस्त छ
।१।
नाङ्गो आङ चुमेर बग्छ घरको छानो भने रुष्ट छ
आज्ञा नै नलिई चुहिन्छ गहमा आँखा झनै दुष्ट छ
कालो मेघ मडारियो नजिकमै यो जिन्दगी ध्वस्त छ
रोएँ फुर्सदमा थिएँ महलमा ऊ व्यस्तको व्यस्त छ
।२।
हावा निष्ठुरले न दिन्छ रुपियाँ छानो उधारो लियो
सित्तैमा रुपियाँ लिएन जलले गारो बगाई दियो
मेरो जीवन झुन्डियो तुइनमा ऊ हाँस्न अभ्यस्त छ
रोएँ फुर्सदमा थिएँ महलमा ऊ व्यस्तको व्यस्त छ
।३।
मानो छैन मुसा कुदे उदरमा नाघेर सीमा हद
छानो छैन न रोजगार घरमा भो फुर्सदै फुर्सद
च्याहाँ च्याँ ध्वनि साथ जन्मिन गयो यो भोक नै ज्येष्ठ छ
रोएँ फुर्सदमा थिएँ महलमा ऊ व्यस्तको व्यस्त छ
।४।
मेरो आगतका अनेक सपना हाँसेर सुम्पी दिएँ
खल्लो दृश्य थिए तितो विगतका सम्पूर्ण बिर्सी दिएँ
रोगी भै म थला परेँ गलिरहेँ वाचाल ऊ स्वस्थ छ
रोएँ फुर्सदमा थिएँ महलमा ऊ व्यस्तको व्यस्त छ
।५।
खै मान्दैन चुहिन्छ मर्म नबुझी जिब्रो पराई भयो
फोक्सोले दिनरात ढुक्ढुक गरी बाजा बजाई रह्यो
मेरो प्राणचरी उडेसरि भयो उस्कै त मध्यस्थ छ
रोएँ फुर्सदमा थिएँ महलमा ऊ व्यस्तको व्यस्त छ
।६।
डिक्की बोनट झ्यालमा र सिटमा चोक्टा थिए ढाडका
आलो इन्धन जो थियो रगतको पाङ्ग्रा थिए हाडका
मेरो देह ढल्यो खुला सडक भै निस्क्यो पजेरो तब
मेरो लास थियो मसानघरमा उस्को थियो उत्सव
।७।
छन्द-शार्दूलविक्रीडित
रचनाकार- हिरा भट्ट
जन्मस्थल: पञ्चेश्वर-६,बिजुल,बैतडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.