वशिष्ट का केही टुक्राहरूः

Drb, Bashishtha, डा. भरत वशिष्ठ, pallawa, पल्लव

डा. भरत वशिष्ठ

भावनाले हेरे
आँखाले नदेखे पनि आकाशमा दिनरात तारा हराउन्न
तिमीले नदेखे पनि हृदयमा प्रतिपल स्मृतिधारा हराउन्न
छोपिएला जस्तो लाग्छ कहिलेकाहीँ मनको तलाउ
भावनाले हेरेपछि मानसमै रम्नेबाहेक अरू केही रहन्न ।

यसै छ गर्नु
आगोसँग खेल्नु छ र जिन्दगीको भट्टी चलाउनु छ
हुरहुरी भई बल्नु छ र भोकप्यासको पट्टी लाउनु छ
अघाउने लालसाले नछाड्ने यस खाली दुनियाँमा
आँधीहुरी झेल्नु छ र अन्तिम सुखको छुट्टी पाउनु छ ।

 

यस्तो होस्
एउटा आकार होस् जिन्दगी बिकाउ प्रकार नहोस्
मीठो सञ्चार होस् जिन्दगी झुसिलो डकार नहोस्
टाढा टाढा हेर्ने आँखा होस् बोली होस् हृदय छुने
बिन्दास संसार होस् जिन्दगी गुनिलो संस्कार होस् ।

बाबा
बाबा हुन् आँखाका ज्योति अन्धकारमा सधैँसधैँ
आँट र साहसका मोती जति दोधार होस् दिन्दिनै
स्नेहका सुन्दरता भर्छन् स्वप्न देखाई उच्च नभका
बाबा हुन् इस्पातका छाती हरव्यवहारमा सधैँसधैँ ।

आँसु नि रोयो

मेरो आँसु नि रोयो तिम्रो त्यो पीडा सुनेर धरधरी
यो तन जल्यो यो मन गल्यो तिमी सम्झेर हरघडी
कसरी खप्यौ त्यो सारा जलन विश्वास जोगाउन
मेरो मुटु नि रोयो शरीर ढल्यो तिमी सम्झेर हरघडी ।

वेदना
आफन्तकै बर्बरताले कामिरह्यो हे तिम्रो शरीर
नगरेकै कुकर्मको बात लगाइदिँदा भयौ थकित
शरीरभरि लाठीमुङ्ग्री बर्साइरहे निर्ममतासाथ र
दिनभरि जलिरह्यो रातभरि गलिरह्यो वेदना-झिर ।

बाँच्नै आपत् भो
आफ्नै भुलले सतायो विघ्नै नराम्ररी तिमीलाई
थुप्रै अचेतनले सुतायो विघ्नै नराम्ररी तिमीलाई
नीचताले घेरेको रहेछ हरे वरिपरिको वातावरण
बाँच्नै आपत् बनायो आफ्नै भनाउँदाले तिमीलाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.