बिर्खे अञ्जानका केही मुक्तकहरूः

Birkhe, Anjaan,बिर्खे अञ्जान, pallawa , पल्लव

बिर्खे अञ्जान,

दुनियाँलाई नानाभाँती मै मात्र गुनी भन्छ
भएजति कालो मैलो छाति भित्र धुनी भन्छ ।
रगतमा पौडी खेल्दै काम गर्छ बधशालामा
आफूलाई गौतम बुद्ध अरूलाई खुनी भन्छ ।

पर्दा सबै उघारेर नकाव तिम्रो खोल्छ एकदिन
कालो कर्तुत केके छ समाजले बोल्छ एकदिन
पापको घडा भरिएर छताछुल्ल हुन्छ जव
बिद्रोहमा जनताले तिम्रो पुत्ला पोल्छ एकदिन ।

 

मनको बह फुन पाँउ भन्छे सधैं सधैं
दिलको ढोका छुन पाँउ भन्छे सधैं सधैं
चाहिदैन हिरा मोती धन दौलत केही
केवल तिम्रो हुन पाँउ भन्छे सधैं सधैं ।

ढुङ्गा पनि काम लाग्छ भगवान मान्ने भए
कायरहरू पछि लाग्नू झुक्याएर हान्ने भए ।
सङ्घर्षको यात्रा मेरो अभिराम बढ्छ अघि
आउ अब दुश्मनहरू मेरो खुट्टा तान्ने भए ।

पिरतीमै खोला तार्छिन कस्तो कस्तो लाग्छ
भेट्नासाथ आँखा मार्छिन कस्तो कस्तो लाग्छ
तर्किएर आफू स्वयम अन्तै जान खोजे पनि
अँगालोमा आफैँ पार्छिन कस्तो कस्तो लाग्छ ।।

हेराहेर मात्रै भा थ्यो मुटुभित्र बस्न पुगिन्
शरिरको अङ्गहरू चुम्दै भित्र पस्न पुगिन
त्यसपछि प्रेमको यस्तो चल्यो ज्वारभाटा
नजिक नजिक सरेर अङ्गालोमा कस्न पुगिन ।

मेरै खाली चियोचर्चा सधैं खेदो खन्छ उस्ले
मन परेको मान्छेको लात्ती पनि सन्छ उस्ले
विवेक शून्य भएपछि आँखा आफै बन्द हुन्छ
हातमा राख्दै विष्ठापनि अपुङ्गो पो भन्छ उस्ले ।

सकिदैन काम गर्न,हिड्न पनि गाह्रो हुन्छ
बचनवाण हान्छ छोरो आँखा पनि धारो हुन्छ
सबैजना बूढो हुन्छ रोगलेपनि छुन्छ होला
तर पनि प्रियजनको मन किन साह्रो हुन्छ ।

कर्कलाको पानी पनि झरेपछि सक्की हाल्छ
खुशी पनि बिधाताले हरेपछि सक्की हाल्छ ।
ब्यर्थ हुन्छ धन दौलत अभिमान गर्नु पनि
जिन्दगानी केही हैन मरेपछि सक्की हाल्छ ।

अमृत घडा गर्भभित्रै पिलाएर ल्याको जस्तो
ध्रुवसत्य कुरा समेत मिलाएर ल्याको जस्तो
आफ्नो अर्को नभनेर मरिमेट्छन् धनकै लागि
कात्रोभित्र बगली नै सिलाएर ल्याको जस्तो ।

सोह्र दुने आठ पढ्छन् ठुलाबडा जान्नेहरू
आफूलाई शक्तिशाली बाहुबली ठान्नेहरू ।
निर्दोषको घाटीमाथि पर्छ तिनको हात सधैं
स्वयंलाई शान्ति दुत न्यायाधीश मान्नेहरू ।।

बिर्खे अञ्जान,
पालुङ, मकवानपुर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.