जयदेव गोविन्द का जोर कविताः

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

१) बोली, गोली र देश
बोलीमा ‘जय राष्ट्र’को मधुरिमा उफ्रेर गाए पनि
जस्तै गानबजानले जुलुसमा झण्डा समाए पनि
छातीको तहभित्र देश नरहे के काम बोक्रे प्रण ?
को पढ्ला रघुनाथका प्रियकथा कुल्चेर रामायण ?

हाम्रा मौलिक सम्पदा जतिसुकै चौतर्फ लम्के पनि
हाम्रा उच्च हिमालका शिरहरू अग्लेर चम्के पनि
खस्कन्छन् सब थोक चाह ममता गर्ने हराए भने
डुङ्गा अर्थविहीन बन्दछ नदी तर्ने हराए भने ।।

 

माटो ईश्वर देश मन्दिर मिठो भाषा महामन्त्र हो
कर्ता हो सरकार, भक्त जनता गाथा प्रजातन्त्र हो
यी सारा चिज छिन्नभिन्न गरिए सिद्धिन्छ सिङ्गोपन
टुक्र्याई मुटु खण्डखण्ड गरिए टिक्ला कहाँ स्पन्दन ?

हाम्रा धर्मपुराण मानसिकता चोख्याउने सूत्र हुन्
त्यागी वीर सपूत मातृममता देखाउने पात्र हुन्
हामी जाति र धर्ममै फुटिरहे उठ्छन् कहाँ ईश्वर ?
के बढ्लान् फलफूल नित्य तरुमा नाच्ने गरे बाँदर ?

जस्तै उन्नत राखिऊन् प्रणहरू यो देशका नाममा
जस्तै कर्म गरून् किसान हलिया वर्षा झरी घाममा
माटो उन्नत हुन्न नीति तहको माया र चासोविना
गुन्द्री बन्छ परालबाट कसरी डोरी हतासोविना ?

सीमा व्यापक होस् अथाह धनले होस् देश जस्तै धनी
जस्तै उच्च रहून् विकास सुविधा आहार मस्ती पनि
सङ्लो राष्ट्र कदापि हुन्न जनता अन्याय भोग्छन् भने
हीरामाथि निदाइँदैन उपियाँ आएर टोक्छन् भने

बोलीभित्र छ देश सीमित भने सिद्धिन्छ बोलीसँगै
सत्तामै यदि देश निर्भर भए टुक्रिन्छ गोलीसँगै
हल्लाकै भरबाट बन्दछ धरा सम्पन्नशाली भने
हत्केला नभए भयो नङ दली पड्कन्छ ताली भने

सत्ताको जप मात्र गर्छ नित जो त्यो व्यक्ति नामर्द हो
जो निन्दातिर मात्र लाग्दछ सदा ऊ राष्ट्रकै दर्द हो
झण्डा धूमिल बन्छ तुच्छ धनमै बेचिन्छ सत्ता भने
के खुल्ला ‘ऋतुराज’ धूल मलमै छन् लुप्त पत्ता भने ?
छन्दः शार्दूलविक्रीडित

२) कविलाई पत्र
अत्याचार सहेर बस्नु छ भने आँखा निकाले भयो
किंकर्तव्यविमूढ बन्नु छ भने मस्तिष्क फाले भयो
छैनन् पापविरुद्धमा कवि भने त्यो ज्ञानको अर्थ के ?
ढोका बन्द गरिन्छ दैनिक भने दोकानको अर्थ के ?

खोपामा जति देवता पुजिरहौं ती मौन बस्छन् सदा
लाखौं द्रव्य थुनी दराज नखुले पाइन्न खाँचो हुँदा
पानी नित्य मुहानमै थुनिरहे के अर्थ धारा बनी
लाग्छन् सालिकतुल्य मौन रहने स्रष्टा र विद्वान् पनि

आओस् विम्ब समाजको कलममा छर्लङ्ग पार्नेगरी
हानून् व्यङ्ग्य कुपात्रमा कविहरू आन्द्राभुँडी कोपरी
लोली मात्र मिलाउँछन् कवि भने के काम ती लेखनी ?
घोकेका जप मन्त्रले तप गरी झर्दैन ‘सञ्जीवनी’

तक्मा पाउन लेख्छ जो कृतिहरू ऊ हो भिखारीसरि
गाली मात्र रचे स्वयं कवि छिटै सिद्धिन्छ दाह्रीसरि
उम्दा लेखन नापिँदैन सतही ताली पुरस्कारमा
लाखौंको गणना गरिन्छ कसरी अल्झी ‘दुईचार’मा ?

झण्डाको पनि शान राख कवि हो लेखाइमा दैनिक
धर्तीको वह आँसु थाम्न दरिलो विद्रोह लप्का झिक
के आदर्श भरेर मात्र रचना वर्षौँयुगौँ टिक्तछ ?
‘चाँदी नै सुन हो’ भनी पसलमा राखी कहाँ बिक्तछ ?

लम्कन्छन् कवि चाकरीतिर भने ‘ढोग्ने कला’ सिक्तछन्
पैसाका पछि दौडिए कविहरू पैसासितै बिक्तछन्
जो आफैंसित बिक्छ ऊ सृजनको उत्थान के गर्दछ ?
फाट्यो अम्बरमै भने घनघटा पानी कहाँ पर्दछ ?

स्रष्टा हौ अगुवा सदा कलमले माया र आशा भर
आफ्नो राष्ट्रसमाज उन्नत हुने भावार्थ भर्ने गर
रुन्चे लेख रचेर मात्र दरिलो बन्दैन कोही कवि
औँलाले जल छर्किएर कहिल्यै निभ्दैन तातो रवि

दर्जा साधन मात्र हो कविहरू त्यो व्यर्थको भार हो
सच्चा पाठकले सदा दिनुहुने माया पुरस्कार हो
तिम्रै छन् अनमोल सिर्जन अरू सम्मान के चाहियो ?
सिङ्गो सूर्यअगाडि मध्य दिनमा के काम सानो दियो ?

छन्दः शार्दूलविक्रीडित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.