कस्तो रचूँ काव्य म

Sirjana, Sharma , सिर्जना शर्मा, pallawa, पल्लव

सिर्जना शर्मा

छैनन् राम यहाँ न लक्ष्मण कुनै या कृष्ण नै जन्मिए
खाली रावणको भयो बिगबिगी मान्छे खुवै मारिए ।
रुन्छिन् मातृ बगाइ आँसु गहमा सम्झेर नै मर्म ती
आमाको ममता भुलेर अहिले विग्रे कठै ! सन्तति ।

बाँच्ने औषधको अभाव अति भो हुम्ला र जुम्ला तिर
खाने अन्न भएन आज घरमा रोल्पा र डोल्पा तिर
भत्केको घर बन्छ लाग्छ सपना जस्तै छ हाम्रो गति
चिप्ला भाषण के सुनन् जनहरू देखिन्न क्यै उन्नति ।

 

सारा चीज लुटे रुवाइ जनता उल्लू बनाई रहे
राजा सिद्धिन गो, अझै अझ नयाँ राजाहरू जन्मिए
आगो मुक्तकको बनेर सपना बल्दै छ चुल्हो कति
फोस्रो भाषनमा फटाइँ बढि भै बढ्दै छ यो दुर्मति ।

बाँझो खेत यता, उता झिलिमिली देखी रमाए पर
रित्तो आँगनमा बसेर जनता ढल्नै सदा तत्पर ।
भो बृद्दाश्रम देश शीप पसिना बग्दैन खै क्यै पनि ?
कस्तो शब्द छ यो निरास जनता रोएर चर्को ध्वनी ?

काखी च्याप्दछ जो अगाडि उभिई दोषी तिनै हुन् भन
हे देवी अब नेत्र खोल किनकी अन्यायमा छन् जन
माग्दा न्याय नपाइने भइसक्यो लौ के गरूँ खास म ?
यस्तो त्राश छ पूर्ण यो जगतमा कस्तो रचूँ काव्य म ??

सिर्जना शर्मा
मुसिकोट नगरपालिका २ रुकुम पश्चिम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.