युवा आह्वान

Paras, Nath, Acharya, पारसनाथ अचार्य, pallawa, पल्लव

पारसनाथ अचार्य

आमा रुन्छिन् धुरुधुरु सधैं चोटले छट्पटाई
हे तन्नेरी किन पर अझै बस्दछौ लर्बराई।
हाम्रो माटो परपर सरे लान्छ सीमा बटारी
छिट्टै आओ मुलुक परको शत्रुलाई पछारी ।।१

खोलौँ आँखा शुभसमयमा एक भै जग्मगाऔ
नेपाली हौँ भुवनभरमा सूर्यझैँ झल्मलाऔ ।
जाली झेली छलकपटका चाललाई पछार्न
जागौँ लागौँ नवयुवक हो देश हाम्रो सपार्न।।२

 

बाबा भन्छन् युवकयुवती पाखुरा सुर्किदेऊ
दागा धर्ने पर मुलुकको आँकुरा खुर्किदेऊ
बैरी आए हलचल भयो शक्ति सारा जुटाऊ
नेपालीको बिगत बटुली देशलाई उठाऊ।।३

हामी सोझा नियत नबुझी लोभमा लोभिएका
आशा राख्दै दलबल सबै शानले हौसिएका।
बाँड्दै आए फगत सपना स्वार्थको खोल ओढी
काखी च्याप्दै मलजल गर्‍यो हुर्कियो देशद्रोही।।४

हाम्रा आफ्ना लुरुलुरु उतै पाउ मल्नै सिपालु
वैरी आयो मृदु वचनमा भाव घोल्दै विषालु।
रातो तातो रगतपसिना राष्ट्रले माग्न थाल्यो
आओआओ सजग रहदै दुस्मनी जाग्न थाल्यो।।५

– पारसनाथ आचार्य
इन्द्रावती ५ सिन्धुपाल्चोक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.