जिन्दगी

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

मर्दा लाख करोड अर्ब धनले ढाकिन्न नाङ्गो शव
‘पैसामै अमरत्व मिल्छ’ जसरी’ के जुध्दछौ मानव ?
जानै पर्छ अवश्य दूर-पथमा ! खोला बगे झैं बगी
अस्थायी उपभोग-निम्ति लिइने डेरा न हो जिन्दगी ।१।

ऐना, काँच-समान देह पलमै टुक्रिन्छ माटो बनी
बाँचे-ताप, तनाव अग्नि मनमा सल्कन्छ दैनन्दिनी
मानौं दैनिक मक्खिएर चुँडिने धागो न हो जिन्दगी
‘सानो एक मुठो परालतिरको आगो” न हो जिन्दगी ।२।

 

जाया, नाति, पनाति, पुत्र-दुहिता ती मोहका जाल हुन्
इच्छा, भोगविलासका धन सबै दोस्रा महाकाल हुन्
थोत्रा मोटर दौडिने सडकको रोडा न हो जिन्दगी
आफैंमा परतन्त्र झैं समयको घोडा न हो जिन्दगी ।३।

बाधा एक निखार्न उद्यत बन्यो जन्मन्छ अर्को पुन:
सन्तोषीपनबाट जीवन जिए थालिन्छ भोको हुन
आफैंमा व्यवहारबाट थिचिने यात्रा न हो जिन्दगी
आफैं मञ्चक, पात्र, दर्शक हुने जात्रा न हो जिन्दगी ।४।

खाली हात बसे सदा उदरमा उफ्रेर कुद्छन् मुसा
यात्राको गति थालिए कदममै बल्झिन्छ टोकी दशा
स्रष्टानिर्मित दिल्लगी नियतिको खेला न हो जिन्दगी
टुङ्गो-सारविहीन चार दिनको भेला न हो जिन्दगी ।५।

धेरै बित्छ उमेर नीद-वहमा, बेकारका सोचमा
बाँकीमा पनि बित्छ धेर ! जिउने अस्तित्वको खोजमा
फुल्ने चाह छँदाछँदै मृत हुने थुङ्गो न हो जिन्दगी
मानौं वार न पार मध्य दहको ढुङ्गो न हो जिन्दगी ।६।

उठ्छन् रङ्गविरङ्ग लाख सपना पूरा हुने आसमा
मर्छन् चाह तथापि ताडन सही सन्त्रास सन्त्रासमा
बल्झी चस्स दुखाउने जखमको खाटो न हो जिन्दगी
जस्तै रङ्ग दलौं ‘भविष्यतिरको माटो’ न हो जिन्दगी ।७।।

छन्दः शार्दूलविक्रीडित ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.