बाकसको घाउ

Bhim, Khatiwada, Dharan,डा. भीम खतिवडा, pallawa, पल्लव

,डा. भीम खतिवडा

को भन्दिन्छ हुँदैन टिप्न सजिलो पैसा मरूभूमिमा
भोग्नेका गहमा अनन्त बहका गाथा कठै दारुण
आमा-बासँग भन्दिऊँ कि नभनौँ कालो भयो यो दिन
आयो बाकसमा अनन्त सपना छोपेर छोरो किन?

बाआमा! म दिनेछु सौख अब ता गर्नेछु सेवा सधैँ
भन्नेछन् सब- “पुत्र भैकन अहा! बन्नू ठुलोबाबुझैँ”
मौनी छौ किन दौँतरी खबरले पाइन्न कल्पी रुन
आयो बाकसमा विदीर्ण सपना रोपेर साथी किन ?

 

खेतीको पसिना झरेर असिना निद्रा गुमेका कथा
कामै मात्र सधैँ न पेट भरिने, पेवा बन्यो दुर्दशा
सम्झी गर्छु म काम झन् लगनले तिर्नैछ सप्पै रिन
भन्थ्यो, बाकसमा भरेर विपना आएछ जेठो किन?

सानी! सिन्दुर आै चुरा सकसले पुछ्दै र फोर्दै गर
आयो भेल बढेर यो समय नै दुर्लङ्घ्य भै सागर
बिर्से हुन्छ पुराकथा, अब रुँदै काट्नैछ यो जीवन
आयो बाकसमा थुनेर यसरी सौभाग्य साने किन?

ठेला जत्ति उठून् फुटून् र पसिना होस् तर्तरी घाममा
आफ्नै गाउँ बनाउने रहरले खट्नन् सबै काममा
उड्छन् स्वप्न विदेशतर्फ तर यी लाखौँ युवा दिन्दिन
बाक्सा! बोल, दुखेन घाउ कहिल्यै सर्कारलाई किन?

*
हाम्रानिम्ति सही मिलोस् सफलता, गोकर्णको मान होस्,
झुक्नै हुन्न हिमाल विश्वभरि झन् यो राष्ट्रकै सान होस्,
नेपाली-घर उद्यमी-भर बढे फिर्नेछ हाम्रो दिन
भावी सन्तति सम्झिऊन् कि यसरी बाक्सा दुखेथ्यो किन!

(विशेष आभार टिप्पणीकार मित्र मणि पौडेलप्रति)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.