प्रिय काजी प्रवासी!

Bhim, Khatiwada, Dharan,डा. भीम खतिवडा, pallawa, पल्लव

,डा. भीम खतिवडा

केशले मात्र हुँदैन सम्पूर्णता,
उमेरले मात्र पाक्दैन मान्छे,
कर्मले, अनुभवले हो नि!
हातका रेखा पर्खेर,
भाग्य बन्दैन बाबू!
नङ नफुलेसम्म नयाँ लुगा,
कहाँ पाइन्थ्यो र!
तिमी धीर छौ, बुझ्छौ,
लाखौँ अनुहारका तिम्रा लागि,
कसैको सपना हराउँदैछ अझै,
मान्छेहरूले धारे हात लाउन लागेको,
देखिरहेछौ,
यो मेलामा इमानदारहरू पनि छन्
पर्ख है त केही समय !

 

तिम्रा आँखामा बस्न,
तिम्रा ढुक्ढुकीमा बस्न,
काकाहरू अनुशासनमा बसून्
बाहरू बाटो नबिराऊन्
धर्मको भय त स्वस्तिशान्तिले टर्ला,
वैतरणीमा तिमीलाई विश्वास छैन,
सुकर्मका योजना आऊन्,
असल मनले, असल कामले,
असल मानिसहरू चिनियून्,
अझै पर्ख न है,
भर्खरै छरेको तोरी फुलोस्,
भर्खरै रोपेको लसुन जागोस्,
यो हिउँदभरि पर्ख है त!

तिम्रै गाउँनजिककी छोरी निर्मलालाई,
न्याय दिनु छ,
आँसुमा डुबेका बाबाआमाहरूलाई,
अब “छोरी निर्मलाहरूको नियति,
हुँदैन”भरोसा दिनु छ,
समाजका आततायीहरूलाई,
राक्षसी प्रवृत्तिलाई समाजबाटै,
बिदा गर्नु छ,
सुनका पहाडले थिचेर
काकाहरूको कुर्सी ससानु नबनोस्,
विश्वासको पर्खाल ढलेर,
हाम्रो “भोलि”माथि अवरोध नगरोस्,
हजुरआमाहरूका गालामा,
थोते मुस्कान सुहाअोस्,
अहम् सेलाअोस् सबैमा,
तिमी बुझ्झकी छौ नि भतिज!

अब तिम्रो बिहान आउनुपर्छ,
तिम्रो घाम उदाउनुपर्छ,
ढाँटहरूको निम्तो
खाएर पत्याउनू है तर,
तिमीमा आस्थाको बुद्ध छ सत्य,
तिमीमा स्वाभिमानको सगरमाथा छ उँचो,
बस्,अझै प्रतीक्षा गर,
काकाहरू सपनाका स्वस्थानी सकेर,
मेचीकालीतिर फर्कियून् चाँडै,
जहाँ तिम्रा हाम्रा सपनाहरू,
नदी बगिरहेछन्,

ए, साँच्चै ता काजी बाबू!
तिमी कागती खोजिरहेछौ हो?
फल्ने छ पक्का, पर्ख,
तर,
सम्झ त एकबार…
तिमीले रिट्ठो रोपेर
कागती खोजेका त हैनौ नि हगि !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.