हृदय लेकालीका केही हाइकुहरू

Hridaya, Lekali, हृदय लेकाली, pallawa , पल्लव

हृदय लेकाली

(मनका झिल्माहरू):-
१ मैले भेटिनँ
तिमीले भेटिहाल्यौ
मेरा कम्जोरी ।

२ सात घुम्ती भो
एकाएक अचेल
हाम्रो सम्बन्ध ।

३ न टिप फूल
फूलको डालीबाट
फूल दुख्छ कि ?

 

४) सुन्दर बस्त्र
फिका नालायक छन्
कात्रो अगाडि ।

५) तीर नहान
नौनी जस्तो यो मन
ढुङ्गा भै देला ।

६) अर्काकी छोरी
आफ्नै छोरी झै ठान
सासू हुनेले ।

७) मान नखोज
ससुराली घरमा
घर ज्वाइँले ।

८) कानूनी आँखा
सधै सबुत खोज्छ
दशी प्रमाण ।

९) चेपारे बोली
छुरा धसेकै त छौ
व्यबहारमा ।

१०) बाँधी नराख
यो चञ्चले मन्लाई
मन अडिन्न ।

११) हराएछ मन्
तिम्रै समुन्नेबाट
खोजीदिन्छौ कि ?

१२) औकात खोज्छ
असक्त मान्छेसित
उकालो बाटो ।

१३) तिमी आएछौ
म नभएको बेला
दु:ख्ख नमान्नु ।

१४) बिदेशी छोरो
आँगनमा उत्रियो
लास बनेर ।

१५) कति व्यस्त हुन्
अचेल मान्छेहरू
फेसबुकमा ।

१६) नीलो पोखरी
तैरुँ तैरुँ पो लाग्छ
तिम्रो आँखामा ।

१७) कति सकस
नधानी नहुने भो
तिम्रो विश्वास ।

१८) घरमा गाली
बाहिर बज्छ ताली
कवि प्रशंसा ।

१९) प्रिय प्रेमिका
म हाँस्न नसकेनि
तिमी हाँस्देऊ ।

२०) सधै अठार
सत्र पर्दै परेन
जुवाडेलाई ।

२१) नयाँ बुहारी
घरको कामै छुन्ने
आधुनिकता ।

२२) कामै नगरी
हाजिर बजाउँछन्
राष्ट सेवक ।

२३) हाकिमै छैन
पङ्खा एसी चल्याछन्
सर्कारी बील ।

२४) बिहेकै भोलि
छोरालाई रुचेन
आमाको खाना ।

२५) दक्ष डाक्टर
पत्थरी अप्रेशन
पित्त निकाल्छ ।

२६) मर्नु त छ नै
सम्झनाको खातिर
बनाऊ कृति ।

२७) सुर न ताल
हल्लिए मात्र पुग्ने
रिमिक्स डान्स ।

२८) हल्लै हल्ला भो
गरिबी घट्ने कुरो
सर्कारी मन्त्र ।

२९) बिदेशी मुद्रा
सेखी पो देखाउँछ
गरिबीसित ।

३०) कुन्नि किन हो
कति छिटो बिर्सन्छ
दु:खका दिन ।

३१) मान्छे न हो
कुण्ठा पिर भए नि
बाँच्नै पर्दछ ।

३२) मान्छेको मन
शीशाको दरबार
के हुन्छ थाछैन् ।

३३) सिङ्गो विज्ञान
सधै हारेको यहाँ
मन मुटुकाँ ।

३४) ढुङ्गा नहान
यो पवित्र मुटुक
तिमीतिरै छ ।

३५) यो कोशी पनि
भण्डारै भण्डार भो
आँसु आँसुको ।

३६) छेक्न सकिनँ
एकाएक प्रहार
तिम्रो सम्झना ।

३७) तिमी रिसायौ
घरधुरीले भन्छ
सिन्की पाक्दैछ ।

३८) मान्छेको मन
आकाश हुन्छ खुसीमा
दु:खाँ तिल झै ।

३९) सत्ताका ब्वाँसा
सधै लडिरहछन्
कुर्सीकै लागि ।

४०) पाउनै गाह्रो
पाएसि चिन्न गाह्रो
आमा र देश ।

४१) अजिङ्गर् नेता
खाँदा खाँदा पुगेन
देश खान्छौ कि ?

४२) तन्नेरी स्याल
किन निहुँ खोज्छ खै
बाघ सामुन्ने ।

४३) हिजोको घर
आज सत्यानास भो
भाइ लडेर ।

४४) जून झार्नेले
खै त पुराको घराँ
एक चिम्टी नून् ।

४५) कुदिन पनि
सुदिन भइहाल्छ
दिन आएसि ।

४६) ढोके भिखारी
भीख माग्छ दिनहु
मञ्जुससित ।

४७) भोका बस्तीमा
राहत बाढ्छ मन्त्री
कुरैकुराको ।

४८) मन्द विष भो
एकाएक अचेल
तिम्रो मुस्कान ।

४९) स्यूर्यो केशैमा
तारेभीरले पनि
लालीगुराँस ।

५०) बलिया देश
हैकम लादेकै छन्
निर्धाउपर ।

५१) नीलो आकाश
हरियो धर्ती सम्झ्यो
टाढा पुगेर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.