गोम बिक्रमका पाँच मुक्तक

Gom, Bicram, Bikram, गोम बिक्रम, pallawa, पल्लव

गोम बिक्रम

मुक्तक- १
सीधा- सादा जनतालाई, मुटुभित्रको काँडो भा’छ
पहुँच हुने चतुरेलाई, कमाइ खाने भाँडो भा’छ
देश डुबाइ जानाजानी, नेता-दलको खिचातानी
हाम्रो देशको लोकतन्त्र, साँच्चै अचेल घाँडो भा’छ ।

मुक्तक-२
घरको सानो किचलोले, पनि बालिए टायरहरू
विरोध, बन्द, कर्फ्यु लागे, भए हवाई फायरहरू
वेथिति यति बढ्दै भए, खराब कुरा चढ्दै गए
सबको भण्डाफोर गर्न, खटिनु पर्यो सायरहरू ।

 

मुक्तक-३
चुत्थै रहोस देश आफ्नो, हृदयभन्दा प्यारो लाग्छ
स्वाभिमानमा सानै धक्का, खेप्दा मुहार अँध्यारो लाग्छ
सीमानाहरू सर्दा पनि, अस्तित्व संकट पर्दा पनि
लाज पचाउने बेशर्मीहरू, देख्दा झनैअप्ठ्यारो लाग्छ ।

मुक्तक-४
आगो बाले विखण्डनको, आफैलाई मास्छ कि नाई
धागोले उने एकताको, उही मालामा गाँस्छ कि नाई
पाठ पढाऊँ समताको, भाव जगाऊँ ममताको
दुखियालाई हँसाइ हेर, देश आफै हाँस्छ कि नाई ?

मुक्तक-५
यस्तो उद्देश्य राखूँ अब, देशले फड्को मार्नुपर्छ
दिवा सपना देखाएर, माथी पुग्नेलाई झार्नुपर्छ
बदमासले पाखा परुन्, भ्रष्टहरूले बसाइ सरुन्
सबै खाले तुवाँलोहरू, सधैका लागि फार्नुपर्छ !

– गोम बिक्रम
कल्लाबारी, पाल्पा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.