१) सम्झना आइदिन्छ
हाँस्दै खेल्थ्यौ रमझम सधैं गाँउमा प्रेम बोकी
मीठो माया हृदयतलमा भावना माझ छोपी।
मेरै भाका कुहुकुहु गरी कोइली गाइदिन्छ
बिर्सूं भन्दा पनि किन उही सम्झना आइदिन्छ।।१
हाम्रो जस्तो मधुर रसिलो साथ कस्को रहन्छ
चोखो प्यारो मृदुल मननै चाहनामा बहन्छ।
नौलानौला रहर मनले भावना छाइदिन्छ
बिर्सूं भन्दा पनि किन उही सम्झना आइदिन्छ।।२
खोला–नाला बगर तटका प्रेमका गीत धारा
चोखो मीठो सरल ममता यादको हो सहारा।
मेरो माटो मुदित दिलको भावमा छाइदिन्छ
बिर्सूं भन्दा पनि किन उही सम्झना आइदिन्छ।।३
टाढा आएँ मुलुक पर भो पाइला टेक्नलाई
दौड्यो मेरो मन हर घडी चित्तमा भेट्नलाई।
एक्लै बस्दा मिलन रसिलो याद सम्झाइदिन्छ
बिर्सूं भन्दा पनि किन उही सम्झना आइदिन्छ।।४
मेरा प्यारा कुसुम वनमा न्याउली रुन्छ ऎले
सङ्गै नाच्ने रहर मनको पूर्णता हुन्छ कैले।
यस्तै यस्तै हरकत मिठा स्वप्नमा छाइदिन्छ
बिर्सूं भन्दा पनि किन उहीसम्झना आइदिन्छ।।५
समस्या :-निकुञ्ज अभ्यास
छन्द :-मन्दाक्रान्ता
२) रारा सधैं सुन्दर
यौटा दृश्य हिमालको नजिकमा हाँस्दै छ रारासित
सेता चन्द्रअमूर्त रूप छ सुधा वात्सल्य भो मूर्छित।
आफ्नै लोचन माझ तस्बिर बनी नेपथ्यमा रङ्गिदै
नाच्दै छिन् सरिता निकुञ्ज वनमा संसारमा चम्किदै।।
-१-
फेवा ताल अहा! मनोरम छ यो रारा छ झन् सुन्दर
साँच्चै स्वर्ग समान हो विकटको छाँया परेको तर।
हेर्दै छक्क अनेक दृश्यहरूले पार्ने छ लालायित
आफ्नै भाव सुरम्य बन्छ रमिता लालित्यले सज्जित।।
-२-
पाखा पर्वतमा हिमाल चुचुरा हाँस्दैछ आनन्दले
आफैं पुग्न सकूँ प्रफूल्ल मनले नाचिन्छ उन्मादले।
डुल्छौ भारत बर्षका हर कुना देखिन्न रारा किन?
हाम्रै कारणले सदृश्य जहिल्यै जाँदैछ वा छोपिन ??।।
-३-
डाँफे नाच्दछ लेकमा छमछमी मैना चरी गाउने
क्वैलीले मनमोह प्यार पिरती सामीप्य दर्साउने।
अर्को दृश्य छ श्वेत सुन्दर सफा लालित्य टल्काउने
त्यस्तो ठाउँ छ स्वर्गमा भन कतै नेपाल झल्काउने ??।।
-४-
चौडा दिव्य विशाल ताल छ सखे स्वर्गीय सौभाग्य हो
हाम्रो सान बनोस् जगत् भरि सधैँ आश्चर्य नेपालको।
पारौं किन्नर झैँ सदा भुवनमा सौभाग्यशाली घर
तालै ताल हिमाल स्वर्णिम कथा रारा सधैं सुन्दर ।।
-५-
छन्दः शार्दूलविक्रीडित
३) यो देशको दुर्दशा
छायाँ बन्दछ साथले किरणको बाटो भए खासमा
आफै लाज पचाउँदै छ जहिल्यै बस्छौ तिमी आसमा
माटाको ममता गयो पर कतै सन्देह त्यो क्लेष भो
आफ्नै कारणले भयो तल अझै चुर्लुम्म भो देश यो ।।१
स्वार्थी मानव भैं चिरे चरचरी बेकारको ताण्डव
के नौलो दिन आउला र युगमा हिंसा सयौं काण्ड छ।
सिङ्गो देश चिरेर कुण्ठित हुँदै आतङ्कको त्रास भो
छाती माझ दरार बन्दछ कुनै दुर्गन्ध आभासको ।।२
कर्णाली पर भो मधेस जहिल्यै अन्यायको मारमा
नातावाद बढेर झुन्ड हुन गो जातीय सङ्घारमा।
डोल्पाको मन जल्छ कुण्ठित हुँदै सामीप्य खोज्दै कता
रोल्पाली मन हुन्छ चिन्तित सधैँ देखेर सङ्कीर्णता ।।३
मेचीको ममता र शैल चुचुरा भन्दै उठाऊ सदा
काली आँसु बहाउँदै छ अहिले यो देशको दुर्दशा
कैलेसम्म खपूँ सबै पिर व्यथा छन् माकुरी जालमा
बन्दा सात टुना यहाँ मुलुक नै खोक्रो भयो सालमा।।४
पूर्वी भेग चलाख धूर्त चतुरो नेपाल हल्लाउने
मेची व्यर्थ अबोध बालक सुधा आफ्नै कथा गाउने।
खुम्चेको लिपुलेक भन्दछ सखा पीडा भयो ज्यादती
सुस्ता रेटिन जान्छ आज सहजै कोशी रह्यो बन्धकी ।।५
भेरीले पनि पीर बोल्छ दिनकै सुन्दैन राज्यै तर
फोस्रा प्रश्न बनेछ निन्दित सबै बन्दैन खै उत्तर ।
कोशीका तटले पिरोल्दछ सधैं नेपालकै प्राणमा
डुल्दै छन् कसरी अजिङ्गरहरू सोझाहरू मारमा ।।६
पुर्खाले अनमोल देह जसरी साँचेर राखे कति
दैलामै किन लम्पसार यसरी लाचार यी सन्तति ?
आफ्नै सामु अनेक झुन्ड किन छन् भिन्नै भएका खडा
टाढा भो दुगुना पुगे पर कतै टिस्टा गुम्यो काँगडा ।।७
छन्दः शार्दूलविक्रीडित
बोनसमा यौटा मुक्तकः
आउछन् बर्सै साल जान्छन् कैयौं हाम्रा चाडहरू
वाहानामा सेकाउछ यो राज्य हाम्रा ढाडहरू ।
महँङ्गिको मारमा छन् गरिव दुखी परिश्रमी
घुमिफेरि घोटिने श्रमजीवी हाम्रा हाडहरू ।।
रचना: पारसनाथ आचार्य
इन्द्रावती– ५, सिन्धुपाल्चोक