सृजना कोइराला का एकदर्जन मुक्तकहरूः

Srijana, Koirala, Pokhara, सृजना कोइराला, pallawa, पल्लव

सृजना कोइराला

१.
माइलौँको यात्राको सुरुवात पाइलाबाटै गर्नुपर्छ
कुराले हुँदैन कायापलट काममै अघि सर्नुपर्छ
अमूल्य जीवनलाई सार्थक बनाउनका लागी
धर्तिरुपी यो सुन्दर बागमा सत्कर्महरू छर्नुपर्छ ।
२.
सुन्दर फूल फुलाउनु छ यही स्वदेशी माटोमा
अविनासी सिमारेखा कोर्नुछ दुस्मनको बाटोमा
दैवको अज्ञात खेलसँग रत्ती डर मान्ने छैन
स्वाभिमान डग्ने छैन जीवनको कुनै पाटोमा ।

 


३.
कवी तिमी एक शक्तिशाली कलम बन्नुपर्छ
अन्यायले चर्किएका घाउका मलम बन्नुपर्छ
चट्याङ्ग होइन सुमधुर कोइली जस्तै बनी
अन्तर्आत्मा देखि नै दिइने सलाम बन्नुपर्छ ।

गुनासो छैन केही तर्केर जानेसँग
अनायासै फेरि झर्केर जानेसँग
अभाव नखड्कियोस भन्ने कामना
नजर मोडी फरक्क फर्केर जानेसँग ।
५.
हल्का नशा नचढेमा पिउनुको के मज्जा
यात्रामा ठेस नलागे जिउनुको के मज्जा
गर्नुपर्छ है मर्मत बेलाबखत हर चिजको;
छियाछिया भए पछि सिउनुको के मज्जा ।
६.
के सुनाउँ खै खबर केही खास भएन
हिजो र आजमा फरक आभाष भएन
सुनौला सपना क्षणभरमै टुटी गए सबै
मृदु भाषीका व्यवहारमा मिठास भएन ।
७.
आवश्यक भन्दा बढी कतै नबोलेकै राम्रो
तितो हुन्छ गुण पनि अधिक नघोलेकै राम्रो
जहर हुन्छन हितकारी वृक्षहरू माझ पनि
आत्मियता नबुझी दिल नखोलेकै राम्रो !
८.
कहीँ छन् गरिवीको कारण अधिकार हनन भएका
देखिन्छ कतै बुज्रुकबाटै शोषण अनि दमन भएका
कति सुन्दर, सभ्य, सुसंस्कृत बन्थ्यो होला समाज
देख्न पाए ऐन नियम सर्वत्र वास्तवमै मनन भएका !
९.
मनाउँ चाड दिदीबहिनी वास्तविकता बुझेर
प्राप्त हुने छैन पुण्य कदापि मात्र मूर्ति पुजेर
समाज साथै राष्ट्र परिवर्तनको संवाहक बन्नुपर्छ
जिउनु नपरोस कोही अन्यायमा आँसुले रुझेर !
१०.
फितला सजाय सदाका लागि मासी दे सरकार !
पीडितलाई न्याय दिलाउनमा नै हाँसी दे सरकार !
दिनानु दिन बढ्दैछन् जघन्य अपराधिहरू किन ?
मृत आत्माले नि शान्ति पाउला बरु फाँसी दे सरकार !
११.
हरेक पाइला अनि गाँसमा बढेको छ कर !
उज्जल भविष्यको यहाँ लाग्या छैन भर !
गाउँ गाउँमै सिंहदरबार बनाएर हे सरकार;
ऐन कानून नहोस सर्वसाधारण मर्ने जहर !
१२.
जिन्दगीको वास्तविकता फूलले सिकायो
गन्तव्यको यात्रा मोड्न भुलले सिकायो
अबिरल बगिरहने पानी जस्तै यो जिवन;
संघर्षको पाठ सरिताको मूलले सिकायो ।।

Srijana Koirala

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.