सिर्जना शर्मा का केही मुक्तकहरूः

Sirjana, Sharma, सिर्जना शर्मा, pallawa, पल्लव

सिर्जना शर्मा

पाइला टेक्नुपर्ने रहेछ साथी भिरमा पनि
बाधेर हिडेकी छु कफन आज शिरमा पनि
जिन्दगी जिउँदै गर्दा मैले मुस्कुराउन सिकें
जसरी आमा मुस्कुराउनु हुन्थ्यो पीरमा पनि !!

अचेल हजारौं सपना बुन्दै घरमा पाइला टेक्छु
सन्तान भेट्ने आशमा बा’को आँखामा खुसी भेट्छु
मलाई मेरा दाजुहरूको सम्झना बेहद हुन्छ साथी
जब म घरमा आगनको डिलमा सयपत्री देख्छु !!

 

हुँदा पीर लाखौं गलेकी छु सारै
नउठ्ने गरेरै ढलेकी छु सारै
मलाई निराशी तुल्याएर ज्यूँदै
चढायौं चितामा जलेकी छु सारै !”

आफू बलियो अरू कमजोर ठानेको छ सरकारले
जनता झुक्याउन अनेक छल जानेको छ सरकारले
यो देशमा निर्मलाहरु चिच्याउदैछन् न्यायका निम्ति
चुपचाप बसेर आँखामा पट्टी बाधेको छ सरकारले !

भयो भेट हाम्रो, अनौठो छ मेल
र यो जिन्दगीले अझै खेल्छ खेल
छ स्वार्थी खुबै आज मान्छे हरेक
बुझूँ के गरी खै म यो जालझेल !

भएको छ छाती जलेरै खरानी
चपाएर आगो, बनेकी छु पानी
थिए व्याप्त चौतर्फ नै चण्ड-मुण्ड
कसोरी बचाएँ हुँला जिन्दगानी !!

परेलीमा आँसु लुकाई हाँसेकै त थिएँ
मीठो माया सङ्गालेर राखेकै त थिएँ
छाडी जान्छु अब कान्छी भनी केको फुर्ती
हिजो तिमी नहुदा म बाँचेकै त थिएँ !!

झरेको छ पानी र आँखा चिसा छन्
दिवा हुन्न कैल्यै सधैँ नै निशा छन्
सबै व्यस्त छन् मख्ख भै हान्न ढुङ्गा
कुनै बुझ्न चाहन्न फुट्ने सिसा छन् !!

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.