नाचौंला गिरि कन्दरा विपिनमा….

Kanakdhara, Swami, Swadeshanand,कनकधरा स्वामी स्वदेशानन्द, pallawa, पल्लव

,कनकधरा स्वामी स्वदेशानन्द

तिम्रो त्यो रसमाधुरी मिलनमा डाके मलाई पनि,
तिम्रो वाम किनारमा हृदयको राखे मलाई पनि।
तिम्रा निम्ति हुनेभएँ म दुलही लाली दली सुन्दर,
पोते विन्दु चुरा र गाजल टिका तिम्रै भरी सिन्दुर।

तिम्रा आनन-पद्मले वदनमा मायाँ लगाईकन,
देऊ चुम्बन अङ्कमाल दिलले आफ्नी बनाईकन।
वामाङ्गी हृदयेश्वरी शयनकी साथी बनाऊ तिमी,
तिम्रा त्यो थर गोत्रकी हुनसकूँ बाटो फुकाऊ तिमी।

 

टाढा कानन कुञ्जभित्र कसरी छोड़ेर लुक्छौ तिमी,
मेरो यो दिलबागबाट कसरी फुत्केर भाग्छौ तिमी।
तिम्रै नाम जपी जपी भुवनमा राधा भएकी छु म,
प्यारा रास रचाउने समय भो आधा भएकी छु म।

राधा मानिस गाउँमा सहरमा भन्छन् मलाई पनि,
भेट्यौ कृष्ण भनी महापुरुषले सोध्छन् मलाई पनि।
तिम्रा निम्ति सिँगार गर्छु मुखमा यो देह तिम्रै भयो,
वंशी वादनबाट डाक वनमा नाचौं कि नाचौं भयो।

प्यारा हात समाउँदै हिँड़ तिमी तिम्रै म हूँ राधिका,
तिम्रो पक्ष लिने समस्त जगमा तिम्रै म हूँ साधिका।
पूर्णे चन्द्र उदाउँछन् क्षितिजमा पारी उज्यालो वन,
प्यारा त्यो मुरली बजेर तिरिरी हर्ला कि मेरो मन।

आऊ कुञ्ज निकुञ्जबाट घरमा एक्ली छु ऐले पनि,
ढोका सुस्त उघार्छु यो म घरको तिम्रै छु जैले पनि।
तिम्रा ती करपद्म राख शिरमा आशीष मायाँ भरी,
तिम्रै हो कनकेश्वरी नयनकी मायाँ बसेकी परी।

तिम्रो रास अखण्डको मिलन हो यो हैन भूलोकको,
हो वृन्दावन कुञ्जदेखि परको यो हैन गोलोकको।
यो आवागम चक्रदेखि परको अर्कै महारासमा,
नाचौंला गिरि कन्दरा विपिनमा श्रीकृष्णका साथमा।

यस्तो चाह लिएर यो कनकले राधा सखी भावमा,
तिम्री प्राणप्रिया हुने रहरले गर्नेभयो साधना।
वंशी प्रेम भरी बजाउनगई डाके मलाई तिमी,
प्यारा रास रचाउँदा सँगसँगै राखे मलाई तिमी ।

छन्द: शार्दूलविक्रीडित
– विनीत: कनकधारा स्वामी स्वदेशानन्द
रास पूर्णिमा । कामख्या परिसर, गुहाटी भारत ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.