बिर्खे अन्जान का केही मुक्ताहरूः

Birkhe, Anjaan,बिर्खे अञ्जान, pallawa , पल्लव

बिर्खे अञ्जान

मौन बस मनको बह फोएपछि केके हुन्छ
ममताको स्पर्शले धोएपछि केके हुन्छ ।
सल्बलाउँछन् हातहरू धैर्यताको बाँध फुट्छ
नबोलाउँनू नजिक कैले छोएपछि केके हुन्छ ।।

नानाभाँती कुरा अनि शङ्का मात्रै गरिरन्छे
भेटेपछि माया होइन आँखा मात्रै तरिरन्छे ।
सङ्घर्ष हो जिन्दगानी कैले उस्ले बुझ्ने होला
घुक्कघुक्क कोक्कीएर आँसु मात्रै भरिरन्छे ।।

 

टाढैबाट देख्दा पनि काउकुती कस्तो लाग्छ
सँगै बस्दा भाडाकुटी खेलौना झैं सस्तो लाग्छ।
आफ्नो प्रिय मान्छे कतै नदेखेको बेला हजुर
छैन मुटु जिन्दगीको प्राण गए जस्तो लाग्छ ।।

मान्छे हुन्छ धनले अन्धो बनाउँछ खोटी
संघर्ष र बलिदानले दिन्छ ज्ञानको ज्योति ।
छैन भने लोभ ईर्ष्या कमाउँने दाउपेच
यही धर्ती स्वर्ग हो ढुङ्गा लाग्छ हिरामोती ।।

कोही साथी त कोही सँधियार बनाउँन चाहान्छन्
प्रिय मान्छेहरूनै दुश्मनको मतियार बनाउँन चाहान्छन् ।
मित्रताको नाममा पनि चुपचाप सहनु मात्रै पर्छ अचेल
उद्याएर मलाई बिश्पोटक हतियार बनाउँन चाहान्छन् ।।

निमुखा हो ! मौन बस बोल्यौ भने पर्ला फेरि
न्याय माग्दा बन्दुक ताक्दै पुलिस पनि झर्ला फेरि ।
हत्या हिंसा ,बलात्कार यो राष्ट्रको गहना हो
हुन्न न्याय अदालतमा निर्णायक मर्ला फेरि ।।

दुनियाँलाई आँसु मात्रै खुसी कैले पार्ने हैन
उखान टुक्का धेरै भन्यौं माखो केही मार्ने हैन
खुबै सुने देश प्रेम राष्ट्रवादी कुरा मैले
नक्शामात्र पल्टाउने सिमा कैले बार्ने हैन ।।

नहुनेको यो दुनियाँ मात्रै खेदो खन्दो रैछ
भयो भने खल्ती भरी ज्यू हजुर भन्दो रैछ ।
इमानको बिक्री साच्चै बजारमा भए पछि
चोरै पनि न्यायाधीश पायो भने बन्दो रैछ ।।

गन्तव्यमा पुग्नलाई त बैसाखीले टेके भा’छ
भए पनि आँखा हजुर देखिदैन के- के भा’छ ।
भेटी राखी ज्योतिषलाई हेर्नू छैन चिना टिप्पन
आफ्नो भाग्य पौरखीले आफैले नै लेखे भा’छ ।।

शिखरकोट, पालुङ, मकवानपुर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.