जयदेव गोविन्द का चार गजल

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

गजल– १,
भकुण्डो उचाली शशी भन्न गाह्रो
उनासी नपुग्दै असी भन्न गाह्रो

कुनै ज्ञान बाँड्दा बढी बोल्न सक्छ
त्यसै बुर्जुवा तामसी भन्न गाह्रो

बिगार्दै र मास्दै धुरी चढ्छ कोही
प्रमाणै नपुग्दै दसी भन्न गाह्रो

 

यहाँ दैत्य को हो र को देवता हो
कुनै दायरामा पसी भन्न गाह्रो

दशैं उग्र बन्दै पस्यो झोपडीमा
कुभिन्डो बसाली खसी भन्न गाह्रो

सयौं रूप सज्जा सयौं छन् जवानी
सबै अम्विका उर्वशी भन्न गाह्रो
छन्दः भुजङ्गप्रयात

गजल– २,
रुँदै बाबु सोध्छन् ‘उज्यालो कहाँ छ ?
मुमा सोध्दछिन् ‘रक्त टालो कहाँ छ ?

विदेसिन्छ छोरो लिई दागबत्ती
पुकार्छिन् बुहारी ‘अँगालो कहाँ छ ?

भने मूर्तिले भक्तका पाउ छोई
विरानो बन्यो घण्ट रालो कहाँ छ ?

धुरीमा पुग्यो जो उही बन्छ साँढे
यहाँ जिन्दगी धान्न पालो कहाँ छ ?

यता मर्छ रोगी विना औषधीले
उता खोज्दछन् ‘पोष्य सालो कहाँ छ ?

युवा जाग आगो बनी शत्रुसामु
मिली खोज पापी कठालो कहाँ छ ?
छन्दः भुजङ्गप्रयात

गजल– ३,
छुरा माग्छ दाह्री जुँगा ताउ खोज्छ
महाधूर्त मान्छे सदा दाउ खोज्छ

लिँदा भव्य थुप्रो मुरी रास धार्नी
दिँदा सूक्ष्म दानो मुठी पाउ खोज्छ

जुँगा-केश झर्दै बनोस् वृद्ध काया
सदा चित्त उस्तै ‘मिठा स्याउ’ खोज्छ

भरे टन्न गोजी मिले बैँसजोडी
बटारिन्छ छोरो कहाँ बाउ खोज्छ ?

हिजो भोट माग्दा थियो जो भिखारी
उही आज भेट्ता बडो भाउ खोज्छ

कुनै काव्यसेवी वियोगी भएमा
खुसी हर्ष छाडी कडा घाउ खोज्छ
छन्दः भुजङ्गप्रयात

गजल– ४,
निकाल्यो बुढौली स्वयं जीवनीले
झिँजो मान्न थाले पिँढी आँगनीले

यहाँ सूर्य नै द्वन्दमा फस्न थाल्यो
निशा के निखार्ला कठै चाँदनीले ?

तिमी ज्ञानको ज्योतिमा क्लेश छर्छौ
कहाँ दीप्ति मिल्ला टुकी रोशनीले ?

उनी मेचमा नाच्तछन् वस्त्र झारी
कहाँ लाज छोप्ला झिनो कन्धनीले ?

टिके शोकचिन्ता मरे भस्ममाटो
लछार्दैन ‘आना बिघा रोपनी’ले

उषा हुन्छ या हुन्न नै लाग्छ शङ्का
अझै टार्न थाले टुना मोहनीले ।।

छन्दः भुजङ्गप्रयात
नुवाकोट,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.