“प्रणय – प्रसङ्ग”

Krishna, Sharan, Paudel, Opadhyaya,, कृष्ण शरण उपाध्याय, pallawa, पल्लव

कृष्ण शरण उपाध्याय

यो मेरो मुटु भित्र एक मधुरो, पीडा दिने को भन ?
पीडा मा अझ व्यङ्ग्य मिश्रित कडा, क्रीडा दिने को भन ?
को हो ऊ दिनरात यी नयन मा, झल्झल् गरी झल्कने ?
को हो ऊ झरना बनी हृदय मा, छल्छल् गरी छल्कने ?

यौटै मात्र छ आश ती नयन को, सौन्दर्य हेरी बसूँ !
यौटै मात्र छ प्यास ती अधर को, माधुर्य हेरी बसूँ !!
गर्जी खस्छ सदैव बादल – झरी, यो चित्त मा को भन ?
ठट्टा गर्छ सदैव ऊ छल गरी, यो चित्त मा को भन ?

 

निद्रा खल्बल गर्छ नित्य उसले, को हो त ऊ आखिर ?
साँच्चै झल्मल पार्छ चित्त उसले, को हो त ऊ आखिर ?
सोच्दै मा पनि आँत शीतल हुने, केको नशा हो भन ?
देख्दै मा दिल फेरि चञ्चल हुने, के लालसा हो भन ।।

मेरा सासहरू निरन्तर उही, सम्झेर चल्छन् यहाँ ।
मेरा आशहरू पराल सरि नै, दन्केर जल्छन् यहाँ ।।
पानी झैँ छिरलिन्छ चित्त कसरी, रोकूँ तिमी नै भन !
आफ्नै भाग्य र पुर्पुरो म कसरी, ठोकूँ तिमी नै भन !!

तिम्रा ती पद – चिह्न चुम्न दिल ले, खोज्दैछ वर्षैभरि ।
तिम्रै प्रेम पिएर झुम्न दिल ले, खोज्दैछ वर्षैभरि ।।
साह्रै निष्ठुर भैगयौ किन तिमी, हे प्रेम की कामिनी ?
मेरो प्रेम छियाछिया नगर है, हे प्राण की स्वामिनी !!

छन्द: शार्दूलविक्रीडित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.