“लोग्ने मानिस आजको”
लोग्ने मानिस मा कलङ्क गहिरो, बढ्दैछ बढ्दैछ झन् ।
लोग्ने मानिस आज दानव बनी, सड्दैछ सड्दैछ झन् ।।
पीडा हुन्छ कताकता हृदय मा, लोग्ने हुँ भन्दा पनि ।
लाजै हुन्छ यदाकदा नयन मा, लोग्ने म बन्दा पनि ।।
लोग्ने मानिस अङ्ग को कडकले, साह्रै घमण्डी भयो ।
ऊ आगो सरि काम को भडकले, साह्रै वितण्डी भयो ।।
बिर्सेको छ विवेकहीन मति ले, कर्तव्य ऊ सुस्तरी ।
भट्केको छ पशुत्व को प्रगतिले, गन्तव्य ऊ सुस्तरी ।।
वृद्धा का सँग गर्छ जोड बल ऊ, गर्दै बलात्कार झन् ।
बाला का सँग बन्छ घोर खल ऊ, गर्दै बलात्कार झन् ।।
हत्या गर्दछ नीच राक्षस बनी, संवेदनाहीन भै ।
हिंसा गर्दछ नर्क रौरव झरी, सञ्चेतनाहीन भै ।।
ऊ उद्दण्ड र नीति ले अगतिलो, बन्दा लड्यो देश नै ।
ऊ उन्मत्त र बुद्धिहीन मतिको, बन्दा सड्यो देश नै ।।
जे जस्ता करतूत आज उसले, गर्दैछ लाजै भयो ।
जो हो चोर कडा छ शोर उसकै, ऊ धक्कुबाजै भयो ।।
लोग्ने मानिस मा सयौं दनुजका, नङ्ग्रा हुने हात छन् ।
गिद्धेदृष्टि अहं तथा अधमता, झन्झन् खुराफात छन् ।।
ऊ आफ्नै मुटु भित्र घोल्दछ असत्, आतङ्ककारी बनी ।
ऊ विस्फोट गरेर पोल्दछ जगत्, विध्वंसकारी बनी ।।
छन्द: शार्दूलविक्रीडित
२) “बिलौना”
ए मान्छे ! तँ विकास मा अघि बढिस्, तेरो बढ्यो चेतना !
तैंले जून चुमिस् तथापि किन हो, घट्दोछ संवेदना !!
जिब्रा को वश मा परिस् र घटिया, व्याख्या गरिस् धर्म को ।
मारिस् मूक निरीह जीव बिचरा, बिर्सिस् कुरा मर्म को।।
हामी छौं असहाय यो भुवन मा, बाँचौं कसोरी यहाँ ?
मान्छे क्रूर र नीच छस् कुजन छस्, नाचौं कसोरी यहाँ ?
तेरा लागि सधैं – सधैं बलि हुने, हाम्रो भयो जीवन ।
धर्ती निम्ति तँ बोझिलो हुन पुगिस्, स्वार्थी छ तेरो मन ।।
तेरो अन्तर का महान् पशुहरू, तैंले कुनै मारिनस्!
आफ्ना दोष विकार-पुञ्ज जति छन्, तैंले कुनै खारिनस्!!
सक्छ्स् रेट्न भने तँ रेट्न मनुवा! ती काम, क्रोधादि नै!
सक्छस् मेट्न भने तँ मेट्न मनुवा! ती लोभ मोहादि नै!!
तेरो चेतन मात्र चेतन हुने, बाँकी सबै सोत्तर !
तेरो जीवन मात्र जीवन हुने, बाँकी सबै पत्थर !!
गर्दैछस् अधिकार का जब कुरा, कर्तव्य आफ्नो भुलिस्!
तातो आँसु र मासु ले रगत ले, उन्मत्त बन्दै झुलिस्!!
काम – क्रोध र लोभ का पशुहरू, तैंभित्र उन्मत्त छन् !
तेरो आत्मिक शक्ति शोषण गरी, निर्धक्क भै बस्तछन्!!
तेरो पौरख देखिनेछ जहिले, होलास् तँ सत्साधक!
तोड्लास् जीर्ण विचारका तँ पहरा, जे बन्दछन् बाधक !!
छन्द: शार्दूलविक्रीडित